close

आईफोनको स्याटलाइट फिचरले बचायो अनकन्टार ठाउँमा फसेकी महिलाको ज्यान

टेकपाना टेकपाना

असार १५, २०८० १४:२१

आईफोनको स्याटलाइट फिचरले बचायो अनकन्टार ठाउँमा फसेकी महिलाको ज्यान

काठमाडौं । अमेरिकाकाे एन्जलस नेसनल फरेस्टको ट्रेल क्यान्यन फल्स यस्तो विकट ठाउँ हो, जहाँ न मानव बस्ती छ, न नेटवर्क पुग्छ । न त सवारी हिँड्ने बाटो नै छ । मानिसहरू एक्लै साहसिक पदयात्रा गर्नका लागि त्यस क्षेत्रमा जाने गर्छन् । गत आइतबार क्यालिफोर्नियाकी जुवाना रेयस पनि साहसिक पदयात्राका लागि एक्लै उक्त क्षेत्रमा गएकी थिइन् ।

अमेरिकी सञ्चारमाध्यम एबीसी सेभेनका अनुसार बाटाेमा चिप्लिँदा उनको खुट्टा भाँचिएको थियो । खुट्टा भाँचिएपछि  जुआना हिँड्न सक्ने अवस्थामा भइनन् । कसैलाई सम्पर्क गर्नका लागि उनको डिभाइसमा नेटवर्क टिपिरहेको थिएन । आफूलाई त्यस्तो अवस्थामा पाएपछि उनी आत्तिइन् । उनले आईफोन १४ मा हुने इमर्जेन्सी एसओएस भाया स्याटलाइट फिचरबारे त्यसअघि कतै पढेकी थिइन् ।

आफूलाई आपत् पर्दा उनले आफूसँग भएको आईफोन १४ को त्यही फिचर प्रयोग गर्ने योजना बनाइन् । तर उनलाई उक्त फिचर कसरी प्रयोग गर्ने भन्ने कुरा थाहा थिएन । एबिसी सेभेनसँगको अन्तर्वार्तामा जुवानाले भनिन्, “मलाई एसओएस स्याटलाइट फिचरले कसरी काम गर्छ भन्ने थाहा थिएन । मलाई त त्यो स्याटलाइट हो भन्ने लागेको थियो ।”

त्यसपछि उनले सो फिचरमार्फत केही गरी सम्पर्क गरिन् । “धन्न, मेरो फोनमा एसओएस स्याटलाइट फिचर रहेछ र म उद्धारकर्तासँग जोडिन सफल भएँ,” जुवानाले भनिन् ।

उनले सम्पर्क गरेपछि नजिकैको लज एन्जलस काउन्टी फायर डिपार्टमेन्ट एयर अपरेसन सेक्सनलाई स्याटलाइट कल आयो । उनीहरू जुवानासँग सम्पर्कमा जोडिए । र, उनलाई हेलिकप्टरमार्फत उद्धार गरे ।

लस एन्जलस काउन्टी शेरिफ विभागका अनुसार आईफोनको उक्त फिचरले गर्दा यस वर्ष तीन जनालाई उद्धार गरिएको छ । गत डिसेम्बरमा सोही क्षेत्रमा गाडी दुर्घटनामा परेको थियो । ​आईफोनमा १४ मा भएको क्रयाश डिटेक्सन फिचरले दुर्घटना पहिचान गरी इमर्जेन्सी एसओएस भाया स्याटलाइट फिचर प्रयोग गरेर एसएमएस पठाएको थियो । त्यसपछि उद्धारमा खटिएका अधिकारीले घाइते व्यक्तिलाई उद्धार गरी अस्पताल पुर्‍याएका थिए । 

इमर्जेन्सी एसओएस भाया स्याटलाइट आईफोन १४ सिरिजका सबै मोडेलमा उपलब्ध भएकाे फिचर हो । जसलाई वाई-फाई वा सेलुलर कनेक्सन उपलब्ध नभएको अवस्थामा प्रयोग गरिन्छ । हाल यो फिचर अमेरिका, क्यानेडा, फ्रान्स, जर्मनी, आयरल्यान्ड र बेलायतमा मात्र उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: असार १५, २०८० १४:५२