close

स्पेसएक्सको आईपीओले फेरियो ज्यालादारीमा वेल्डिङ गर्ने कर्मचारीको भाग्य, बने करोडपति

टेकपाना टेकपाना

असार १, २०८३ १७:४५

स्पेसएक्सको आईपीओले फेरियो ज्यालादारीमा वेल्डिङ गर्ने कर्मचारीको भाग्य, बने करोडपति

काठमाडौँ । अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्समा वेल्डरका रूपमा काम सुरु गर्नुअघि जुआन हर्नान्डेजले यस कम्पनीको नाम समेत सुनेका थिएनन् । सामान्य वेल्डिङको काम गर्ने उनी सधैं आफ्नो काममा अडिग गरे । तर, उनले त्यसबेला थाहै नपाएको स्पेसएक्सको आईपीओ आएपछि उनी एकाएक करोडपति बनेका हुन् । 

अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजसँग कुरा गर्दै हर्नान्डेजले आफ्नो भोगाइ बाँडेका छन् । “त्यसबेला मेरा लागि यो एउटा सामान्य सम्झौताको काम मात्र थियो,” उनले विगत सम्झँदै भने । तर, १० वर्षपछि उनको त्यो निर्णय फलदायी साबित भएको छ ।

७५ अर्ब डलरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सँगै स्पेसएक्स अमेरिकी शेयर बजारमा प्रवेश गरेपछि हर्नान्डेजको जीवन बदलिएको छ । हाल जेफ बेजोसको स्वामित्वमा रहेको रकेट कम्पनी ‘ब्लु ओरिजिन’मा कार्यरत हर्नान्डेजसँग स्पेसएक्सको झन्डै ६,५०० कित्ता शेयर छ ।

शुक्रबार स्पेसएक्सको शेयर प्रतिशेयर १६०.९५ डलरमा बन्द भएसँगै उनको शेयरको कुल मूल्य १० लाख ४६ हजार १७५ डलर (करिब १५ करोड ८८ लाख रुपैयाँभन्दा बढी) पुगेको छ ।

स्पेसएक्सको शेयर गत शुक्रबार ढिलो गरी नास्डाकमा ‘SPCX’ संकेत अन्तर्गत कारोबारमा आएको थियो । यो आईपीओसँगै स्पेसएक्सका संस्थापक एलन मस्क विश्वकै पहिलो ट्रिलियनेयर व्यक्ति समेत बनेका छन् ।

यसरी सुरु भएको थियो हर्नान्डेज यात्रा

सन् २०१५ मा जुआन हर्नान्डेजले पहिलो पटक स्पेसएक्सका बारेमा आफ्ना एक साथीबाट थाहा पाएका थिए । उनका साथी त्यसबखत सो कम्पनीमा वेल्डरका रूपमा नियुक्त भएका थिए । ती साथीलाई जुआनको काम गर्ने शैली र दक्षता थाहा भएकाले उनले जुआनलाई पनि त्यहाँ काम गर्न उपयुक्त हुने सुझाएका थिए ।

“मलाई स्पेसएक्स के हो थाहा छैन, तर मनमनै प्रयास गरेर हेरौँ भन्ने लाग्यो,” हर्नान्डेजले भने । सन् २०१५ मा स्पेसएक्सले उनलाई काममा राख्दा १० हजार डलर बराबरको शेयर अफर गरेको थियो । त्यतिबेला उनले यसलाई खासै महत्त्व दिएका थिएनन् । घण्टाको हिसाबले २८ डलर ज्याला पाउने उनका अघिल्ला काममा कहिल्यै शेयर दिने चलन थिएन । तर, त्यहीमध्येको बाँकी कित्ताले उनलाई अरबपति बनाएको छ ।

उनले सीबीएस न्युजसँग भने, “यो मेरा लागि त्यतिबेला कुनै ठुलो कुरा थिएन, मलाई यसबारे केही जानकारी पनि थिएन । यो कम्पनी यति ठुलो होला र म यहाँसम्म आइपुगौँला भन्ने मैले सोचेकै थिइनँ ।”

स्पेसएक्समा आफ्नो १० वर्षको कार्यकालमा हर्नान्डेजले वेल्डरको रूपमा काम गरे । उनले रकेटलाई प्रक्षेपणका लागि तयार पार्न आवश्यक पर्ने प्रक्षेपण प्याड (लन्च प्याड) र रकेट अड्याउने पूर्वाधारहरू निर्माण गर्थे । आफ्नो लगनशीलता र मेहनतका कारण उनी पदोन्नति हुँदै सुपरभाइजर बन्न सफल भए ।

कर्मचारीलाई कम्पनीको शेयर वा हिस्सेदारी दिने प्रणालीले उनीहरूमा अपनत्वको भावना विकास गर्ने उनको अनुभव छ । “यसले कर्मचारीहरूलाई उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्छ किनभने अन्ततः यो उनीहरूकै कम्पनी पनि हो,” उनले भने । 

यति ठुलो सफलता र सम्पत्ति हात पर्दा पनि हर्नान्डेज आफ्नो धरातल बिर्सन चाहँदैनन् । सीबीएस न्युजका अनुसार एक आप्रवासीका रूपमा अमेरिका आएका हर्नान्डेजलाई सानैदेखि परिश्रम गर्न सिकाइएको थियो । उनी यो नयाँ धनले आफ्नो काम गर्ने बानी र जीवनशैलीमा परिवर्तन आउन नदिने बताउँछन् ।

उनी आफ्नो कामलाई निरन्तरता दिन चाहन्छन् । र आफूले सिकेका जीवनोपयोगी पाठ आफ्ना सन्तानलाई सिकाउन चाहन्छन् ।

हर्नान्डेजकी श्रीमती र ६, १० अनि १६ वर्षका तीन सन्तान छन् । उनले स्पेसएक्सको शेयरबाट आर्जन गरेको ज्ञानका आधारमा आफ्ना बच्चालाई लगानीका बारेमा सिकाउँदै आएका छन् । 

उनकी १६ वर्षीया छोरीले त अहिले नै मेटा लगायतका केही कम्पनीमा लगानी सुरु गरिसकेकी छन् । हर्नान्डेज भन्छन्, “उनी आफैमा एउटा सानी उद्यमी हुन् ।”

यदि भविष्यमा एलन मस्कसँग कुरा गर्ने अवसर पाएमा हर्नान्डेज उनलाई हृदयदेखि धन्यवाद दिन चाहन्छन् । मस्ककै कारण आफूले कहिल्यै नचिताएको सपना पूरा गर्न सकेको उनी बताउँछन् ।

“उनले हामी जस्ता साधारण मानिसहरू, चाहे त्यो भान्से होस्, इलेक्ट्रिसियन होस् वा वेल्डर, सबैका लागि यो अवसर सम्भव बनाइदिए,” उनले अन्तर्वार्तामा भने, “उनले धेरै मानिसको जीवन र उनीहरूका परिवारको भविष्यलाई अझ सम्पन्न र अर्थपूर्ण बनाइदिएका छन् ।”

पछिल्लो अध्यावधिक: असार १, २०८३ १८:७