close

गिभअवेमा थ्रेड्स फलोअरलाई टेस्ला कार दिंदै ट्वीटरमा मस्कको मनपरीसँग असन्तुष्ट मिस्टर बिस्ट

टेकपाना टेकपाना

असार २४, २०८० १८:१७

गिभअवेमा थ्रेड्स फलोअरलाई टेस्ला कार दिंदै ट्वीटरमा मस्कको मनपरीसँग असन्तुष्ट मिस्टर बिस्ट

 

काठमाडौं । युट्युबमा सर्वाधिक बढी सब्स्क्राइबर भएका व्यक्ति जिम्मी डोनाल्डसन (मिस्टर बिस्ट) ले शुक्रबार एक पोस्ट राख्दै थ्रेड्स सार्वजनिक भएको उपलक्ष्यमा एक जना फलोअरलाई टेस्ला गाडी दिने बताएका थिए ।

थ्रेड्समा समेत सर्वाधिक फलोअर भएका बिस्टले आइतबार सोही प्लेटफर्ममा एक पोस्ट राख्दै ‘एमके लर्ड’ युजरनेम भएका प्रयोगकर्ताले टेस्ला गाडी जितेको घोषणा गरेका छन् । त्यसो त मिस्टर बिस्ट गिभअवे तथा उपहार दिने व्यक्तिकै रूपमा परिचित छन् । 

उनले थ्रेड्स सार्वजनिक भएको उपलक्ष्यमा टेस्ला गाडी गिभअवे गर्नु सामान्य कुरा हो । तर, यो सन्दर्भमा उनले ट्वीटरका मालिक एलन मस्कलाई समेत व्यङ्ग्य गरेका छन् । 

मस्क, मिस्टर बिस्टले गिभअवेमा दिने भनिएको टेस्ला गाडी निर्माता कम्पनीका सह-संस्थापक तथा सीईओ हुन् । उनकै अर्को कम्पनी ट्वीटरको प्रतिद्वन्द्वी थ्रेड्स सार्वजनिक भएको उपलक्ष्यमा उनले टेस्लाको गाडी उपहार दिनुलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले व्यङ्ग्यका रूपमा हेरेका छन् ।

त्यस्तै उनले गिभअवेमा दिने भनिएको टेस्लाको हुडमा थ्रेड्सको ठूलो स्टिकर टाँसिएको छ । यसबाट पनि उनले मस्कलाई व्यङ्ग्य गरेको अनुमान लगाउन सकिन्छ । 

ट्वीटरले हालै एक नयाँ नीति सार्वजनिक गरेको थियो । जसमा कम्पनीले डेटा स्क्र्यापिङको घटना बढेको भन्दै ट्वीटमा सीमितता ल्याएको थियो ।

यसअन्तर्गत भेरिफाइड प्रयोगकर्ताले दैनिक छ हजार, अनभेरिफाइडले ६००  र नयाँ अनभेरिफाइड प्रयोगकर्ताले दैनिक ३०० ट्वीट मात्र हेर्न पाउने ट्वीटरको व्यवस्था छ ।

एलन मस्कले ट्वीटरका लागि ल्याएको यो नीतिप्रति मिस्टर बिस्ट असन्तुष्ट थिए । ट्वीटरले सो नीति लागू गरेपछि उनले ट्वीट गर्दै जुलाई २ मा लेखेका थिए, “एक दिनमा जति ट्वीट हेर्ने सीमा थियो, म त्यहाँसम्म पुगिसकें । म अब मेरो जीवनमा के गर्न सक्छु ?”

ट्वीटरले जस्तो सीमितता ल्याए पनि आफूलाई कुनै फरक नपर्ने उनको व्यङ्ग्य थियो । थ्रेड्स सार्वजनिक भए लगत्तै बिस्टले आफ्नो थ्रेड्स अकाउन्ट बनाएका थिए । “यो एप प्रयोग गरेर मैले ट्वीटरमाथि चिटिङ गरेको अनुभव गरेको छु,” उनले तेस्रो थ्रेड्स राख्दै लेखेका थिए । 

तर उनले  आफ्ना कामबारे थ्रेड्समा कुनै सामग्री राखेका भने छैनन् । थ्रेड्स सार्वजनिक भएपछि ट्वीट गर्दै मिस्टर बिस्टले आफूले घरभित्र एक लाख पटका पड्काएको भिडिओ राखेको भन्दै भिडिओ हेर्न अनुरोध गरेका थिए ।

उनले आफूलाई ट्वीटरको सुपर अफिसियल सीईओ र थ्रेड्सको भावी सीईओ बताउने बताउने गरेका छन् । 

पछिल्लो अध्यावधिक: असार २४, २०८० १८:१७