close

ह्वाट्सएपमा उपहारको पासोः संखुवासभाकी नर्मदाले १८ लाख गुमाइन्, नाली सफा गर्ने मजदुर हिरासतमा

टेकपाना टेकपाना

साउन २, २०८३ ११:४३

ह्वाट्सएपमा उपहारको पासोः संखुवासभाकी नर्मदाले १८ लाख गुमाइन्, नाली सफा गर्ने मजदुर हिरासतमा

काठमाडौं । ह्वाट्सएपमा एउटा सामान्य मेसेज आयो- 'हेलो' ! त्यसपछि बेलायतबाट सुनका गहना, आईफोन र बहुमूल्य उपहार पठाइदिएको भन्दै नक्कली तस्बिर । संखुवासभा मादी-६ की ३० वर्षीया नर्मदा अधिकारीलाई त्यसले यसरी भ्रममा पार्‍यो कि, उनले आफ्नो वर्षौंदेखिको मिहिनेतको झन्डै १९ लाख रुपैयाँ गुमाउनु पर्‍यो । तर, यो अनलाइन ठगी काण्डको भित्री पाटो खोतल्दै जाँदा कथा नर्मदाको आर्थिक क्षतिमा मात्र सीमित छैन ।

संखुवासभा जिल्ला अदालतमा सरकारी वकील कार्यालयले दायर गरेको अभियोग-पत्रले नेपालमा तीव्र रूपमा फैलिरहेको साइबर अपराधको एउटा यस्तो डरलाग्दो तस्बिर उजागर गरेको छ, जहाँ अन्तर्राष्ट्रिय गिरोहले नेपालका दुरदराजका विपन्न र श्रमजीवी नागरिकहरूलाई 'मनी म्युल' (बैंक खाता भाडामा दिने माध्यम) का रूपमा प्रयोग गरिरहेका छन् ।

यो घटनाको सुरुवात ११ पुस २०८१ मा भएको थियो । नर्मदा अधिकारीले प्रयोग गर्ने मोबाइल नम्बरमा अचानक बेलायतको कोड (+४४७७०२८१९०२०) भएको ह्वाट्सएप नम्बरबाट एउटा मेसेज आयो । आफूलाई बेलायती नागरिक 'जेम्स थम्पसन' बताउने सो व्यक्तिले नर्मदाको नाममा लन्डनबाट एउटा बहुमूल्य पार्सल पठाइदिएको दाबी गर्‍यो । विश्वास दिलाउनका लागि उसले आईफोन, सुनका गहना, ब्राण्डेड कपडा, जुत्ता र घडीहरू प्याक गरिएका तस्बिरहरू पठायो ।

नर्मदा तुरुन्तै प्रलोभनमा परिहालिन् । तर, केही दिनमै 'जेम्स थम्पसन'ले अर्को जाल बुन्यो । उसले भन्यो- “तपाईंको पार्सल नेपालको एयरपोर्ट भन्सारमा आइपुगेको छ, तर भन्सार छुटाउन र डेलिभरी चार्जका लागि केही रकम बुझाउनुपर्ने भयो ।”

पार्सल पाउने आशमा नर्मदाले पहिलो पटक आफ्नो गरिमा विकास बैंकको खाताबाट अजयप्रसाद यादवको नाममा रहेको सिटिजन्स बैंकको खातामा ४५,००० रुपैयाँ जम्मा गरिन् । तर, खेल यतिमा सकिएन । गिरोहले कहिले 'एयरपोर्ट प्रहरीले सामान समात्यो' भन्दै, कहिले पार्सल भित्र सुन र ‘चेक फेला परेकाले पुलिसले पक्राउ गर्ने’ डर देखाउँदै पटक-पटक गरी नर्मदाबाट कूल १८ लाख ७३ हजार ५०० रुपैयाँ विभिन्न बैंक खाताहरूमा जम्मा गर्न लगायो । अन्ततः आफू ठगिएको महसुस गरेपछि उनले २ साउन २०८२ मा इलाका प्रहरी कार्यालय चैनपुर, संखुवासभामा जाहेरी दर्ता गराइन् ।

विराटनगरका नाला सफा गर्ने मजदुर ‘मुख्य प्रतिवादी’ ?

प्रहरीले जब ठगीको पैसा जम्मा भएका बैंक खाताहरूको अनुसन्धान सुरु गर्‍यो, तब एउटा डरलाग्दो तथ्य बाहिर आयो । नर्मदालाई ठग्ने मुख्य डिजिटल मास्टरमाइन्ड अदृश्य ह्वाट्सएप नम्बरको पछाडि लुकेको थियो । तर नेपालमा सो रकम बुझ्ने खातावालहरू भने सोझा र विपन्न नागरिकहरू थिए ।

तीमध्येका एक हुन्- प्रतिवादी किरणकुमार रिषिदेव । २३ वर्षका किरण सुनसरीको पूर्वी कुशाहाका स्थायी बासिन्दा हुन् । जो विराटनगरमा दैनिक ज्यालादारीमा नाला सफा गर्ने काम गर्थे । प्रहरी हिरासतमा रहेका किरणको बयानले अनलाइन ठगहरूले कसरी विपन्न वर्गको पहिचान चोरी (Identity Theft) गर्छन् भन्ने स्पष्ट पारेको छ ।

किरणले बयानमा भनेका छन्:

“म दैनिक ज्यालादारीको काम गरी गुजारा चलाउँथें । करिब डेढ वर्षअघि काम खोज्ने क्रममा म विराटनगरको कञ्चनबारी नजिकै सडक छेउमा बसिरहेको थिएँ । त्यहाँ मोटरसाइकलमा दुई जना मधेशीमूलका अपरिचित मानिसहरू आए र काम दिने बहानामा मलाई सहिद मैदान नजिकै लगे । दिनभरि नाला सफा गर्ने काम लगाएपछि उनीहरूले ज्याला दिनुको साटो अर्को काम दिने प्रलोभन देखाएर मेरो नागरिकता मागे । भोलिपल्ट सेन्ट्रल मल अगाडि बोलाएर उनीहरूले मलाई प्रभु बैंकमा लगे र मेरो नाममा खाता खोलिदिए । तर, मलाई सो खाता सञ्चालन गर्न दिइएन र मेरो नागरिकता बोकेर उनीहरू फरार भए ।”

प्रहरी अनुसन्धानमा के देखियो भने, नाला सफा गर्ने तिनै गरिब मजदुर किरणकुमार रिषिदेवको नाममा खोलिएको प्रभु बैंकको खाता (नं. २२१०२७२७८४८०००१०) मा नर्मदाले पठाएको ठगीको रकममध्ये ५ लाख ५१ हजार रुपैयाँ जम्मा भएको थियो र सो रकम तुरुन्तै अन्य खाताहरूमा सारिएको थियो ।

हराएको नागरिकता र ६ वटा बैंकमा 'नक्कली' खाता

अर्का प्रतिवादी हुन्, पर्साका २३ वर्षीय अजयप्रसाद यादव । उनको बयान झन् रोचक र विचारणीय छ । अजयका अनुसार २०७८ साल मंसिरमा तालिमका लागि राजविराज जाँदा उनको सक्कल नागरिकता हराएको थियो, जसको प्रतिलिपि उनले १३ माघ २०७८ मा जिल्ला प्रशासन कार्यालय पर्साबाट निकालेका थिए ।

अजयको दाबी छ कि उनको हराएको सोही नागरिकताको दुरुपयोग गरेर अज्ञात व्यक्तिहरूले सिटिजन्स बैंक, गरिमा विकास बैंक, नबिल बैंक, सिद्धार्थ बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, कामना सेवा विकास बैंक र सानिमा बैंक लगायतका वित्तीय संस्थाहरूमा अनधिकृत रूपमा खाताहरू खोलेर ठगी धन्दा चलाए ।

तर, प्रहरी अनुसन्धान र बैंकहरूबाट प्राप्त ग्राहक पहिचान (केवाईसी) विवरणले अजयको दाबीलाई भने पूर्ण रूपमा समर्थन गर्दैन । बैंक खाता खोल्दा बुझाइएको फोटो, ल्याप्चे र डिजिटल विवरणहरू अजयको वास्तविक पहिचानसँग मेल खाएका छन् । उनको नाममा रहेका विभिन्न बैंक खाताहरूबाट मात्रै ६ लाख ३७ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको देखिएको छ ।

डिजिटल ठगीको वित्तीय सञ्जाल

प्रहरीले सङ्कलन गरेका बैंक स्टेटमेन्ट र अनुसन्धान प्रतिवेदन अनुसार, नर्मदा अधिकारीको गरिमा विकास बैंकको खाताबाट कूल १८ लाख ७३ हजार ५०० रुपैयाँ विभिन्न प्रतिवादीहरूको नाममा रहेका खाताहरूमा बाँडफाँड गरी जम्मा गरिएको देखिन्छ । 

क्र.सं.

खातावाल प्रतिवादीको नाम

बैंकको नाम

जम्मा भएको रकम (नेपाली रुपैयाँ)

अवस्था

किरण कुमार रिषिदेव

प्रभु बैंक

५,५१,०००/-

पक्राउ

अजय प्रसाद यादव

सांग्रिला डेभलपमेन्ट बैंक लगायत

४,८१,०००/- (सांग्रिलामा मात्र)

पक्राउ (बिरामी भई उपचारत)

श्याम कुमार साह

मुक्तिनाथ विकास बैंक

२,५५,०००/-

फरार

प्रमोद मुखिया

कुमारी बैंक

१,९७,५००/-

फरार

पवन कुमार यादव

नबिल बैंक

१,९०,०००/-

फरार

अजय प्रसाद यादव

गरिमा विकास बैंक

७१,५००/-

पक्राउ

अजय प्रसाद यादव

सिटिजन्स बैंक

४५,०००/-

पक्राउ

संजिव उराव

सिद्धार्थ बैंक

४३,०००/-

फरार

अजय प्रसाद यादव

ज्योति विकास बैंक

४०,०००/-

पक्राउ

(यस बाहेक फरार रहेका प्रतिवादीहरू रामा मुखिया र सम्मान राईको खातामा समेत रकम ट्रान्सफर भएको अनुसन्धानबाट खुलेको छ)।

सरकारी वकीलको मागदाबी

जिल्ला सरकारी वकील कार्यालय संखुवासभाका जिल्ला न्यायाधिवक्ता भोलनाथ निरौलाद्वारा दायर गरिएको अभियोग-पत्रमा पक्राउ परेका किरणकुमार रिषिदेव, अजयप्रसाद यादव तथा फरार रहेका संजिव उराव, प्रमोद मुखिया, श्याम कुमार साह, पवन कुमार यादव, रामा मुखिया र सम्मान राई विरुद्ध कडा कारबाहीको मागदाबी गरिएको छ ।

प्रतिवादीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) र (२) बमोजिम ठगीको कसुर गरेको अभियोग लगाइएको छ। उक्त कसूर प्रमाणित भएमा: दफा २४९ को उपदफा (३) को खण्ड (ग) बमोजिम कसुरदारलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ । साथै, दफा २५४ बमोजिम पीडित नर्मदा अधिकारीलाई परेको आर्थिक हानी-नोक्सानी बापतको बिगो रकम १८ लाख ७३ हजार ५०० रुपैयाँ प्रतिवादीहरूबाटै असुलउपर गरी क्षतिपूर्ति भराउन माग गरिएको छ ।

यसका साथै, पीडितलाई थप राहतका लागि अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क जम्मा गराउन समेत अदालतसमक्ष अनुरोध गरिएको छ ।

‘मनी म्युल’ को पासो

यो घटनाले नेपालको बैंकिङ र साइबर सुरक्षामा रहेको गम्भीर कमजोरीलाई पनि पुनः सतहमा ल्याएको छ । अन्तर्राष्ट्रिय ठगहरूले सोझै आफ्नो पहिचान खुलाएर नेपाली बैंकहरूमा कारोबार गर्न नसक्ने हुँदा उनीहरूले नेपालकै स्थानीय विपन्न, बेरोजगार वा सडकमा श्रम गर्ने नागरिकहरूलाई निशाना बनाउँछन् ।

थोरै पैसाको लोभ देखाएर वा रोजगारीको बहानामा नागरिकता र औंठाछाप दुरुपयोग गरी खोलिएका यस्ता खाताहरूलाई बैंकिङ भाषामा 'मनी म्युल' भनिन्छ । जब ठगीको पैसा खातामा आउँछ, डिजिटल सञ्जालमार्फत त्यसलाई सेकेन्डभरमै अन्यत्र सारिन्छ वा ओभर-द-काउन्टर (OTC) र एटीएममार्फत निकालिन्छ । अन्ततः मुख्य अपराधी सुरक्षित रहन्छ भने बैंक खाता र नागरिकता दिने वास्तविक मजदुर वा सोझा नागरिक प्रहरीको फन्दामा पर्छन् ।

अब के हुन्छ ?

प्रहरीले घटनामा प्रयोग भएका दुई थान मोबाइल फोन बरामद गरी परीक्षणका लागि नेपाल प्रहरी प्रधान कार्यालय, डिजिटल फरेन्सिक ल्याब काठमाडौं पठाएको छ । उक्त ल्याबको फरेन्सिक रिपोर्ट आएपछि यो ठगीमा प्रयोग भएका डिजिटल प्रमाणहरू थप बलियो हुने सरकारी वकीलको दाबी छ ।

पक्राउ परेका प्रतिवादीहरूमध्ये अजयप्रसाद यादव हाल बिरामी भई भारतमा उपचार गराइरहेको भनिए पनि उनी लगायत फरार रहेका अन्य ६ जना प्रतिवादीहरूलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन म्याद जारी गर्ने प्रक्रिया अघि बढेको छ ।

यो मुद्दा संखुवासभा जिल्ला अदालतमा विचाराधीन छ । अदालतको अन्तिम फैसलाले नाला सफा गर्ने मजदुर किरणकुमार रिषिदेव साँच्चै अपराधी हुन् कि पहिचान चोरीका निर्दोष सिकार मात्र हुन् भन्ने कुराको छिनोफानो गर्नेछ । तर, यो घटनाले आम नेपाली इन्टरनेट प्रयोगकर्तालाई एउटा पाठ सिकाएको छ- ह्वाट्सएपमा अपरिचित नम्बरबाट आउने उपहारका मेसेजहरू सधैं लोभलाग्दा हुँदैनन्, तिनले तपाईंलाई आर्थिक रूपमा टाट पल्टाउन मात्र होइन, कानुनी झमेलासँगै खोरमा समेत पुर्‍याउन सक्छन् ।

पछिल्लो अध्यावधिक: साउन २, २०८३ १४:३६