close

आफूलाई ट्वीटर किन्न ‘बाध्य’ पार्ने ल फर्मलाई एलन मस्कले हाले मुद्दा

टेकपाना टेकपाना

असार २५, २०८० ९:४६

आफूलाई ट्वीटर किन्न ‘बाध्य’ पार्ने ल फर्मलाई एलन मस्कले हाले मुद्दा

 

काठमाडौं । गत वर्ष आफूलाई ट्वीटर खरिद गर्न बाध्य पार्ने ल फर्मलाई एलन मस्कले मुद्दा हालेका छन् ।  'वाचेटल, लिप्टन, रोजेन एन्ड काट्ज’ नाम भएकाे उक्त ल फर्मले मुद्दा लड्नका लागि ट्वीटरबाट अनुचित रकम लिएको भन्दै शुक्रबार ट्वीटरको मातृ कम्पनी एक्स कर्पोरेसनका तर्फबाट एलन मस्कले सान फ्रान्सिस्को जिल्ला अदालतमा मुद्दा हालेका हुन् ।

एक्स कर्पोरेसनले दायर गरेको मुद्दामा लेखिएको छ, “मस्कलाई ट्वीटर हस्तान्तरण गर्न उक्त ल फर्मले कम्पनीकाे काेषबाट अनुचित रकम रकम लगेको छ ।” यसका लागि एक्स कर्पोरेसनले सो ल फर्मबाट नौ करोड डलर (करिब १२ अर्ब रुपैयाँ) क्षतिपूर्ति माग गरेको छ ।

अमेरिकाको न्यू योर्कस्थित वाल स्ट्रिट भन्ने ठाउँमा रहेको उक्त ल फर्मले गत वर्ष अक्टोबरमा ४४ अर्ब डलरमा एलन मस्कलाई ट्वीटर खरिद गर्न कानूनी डिल तयार पारेको थियो ।

ट्वीटरमा बट (नक्कली अकाउन्ट) को सङ्ख्या पारदर्शी नभएको भन्दै मस्क ट्वीटर खरिद गर्ने आफ्नै निर्णयबाट पछि हटेका थिए । एलन मस्कले बटको सङ्ख्या पारदर्शी नभएको खण्डमा ट्वीटर खरिद नगर्ने अडान समेत राखे ।

यसपछि मस्कले ट्वीटर खरिद गर्नुपर्ने भन्दै तत्कालीन ट्वीटर बोर्डले उक्त ल फर्मको सहायता लिएको थियो । त्यसबाहेक पनि मस्कको कम्पनी खरिदसँग सम्बन्धित अन्य शुल्कहरू विवादित बनेको न्यू योर्क टाइम्सले जनाएको छ ।

अहिले मस्कले मुद्दा हालेको ल फर्म वाल स्ट्रिटकै सबैभन्दा चर्चित कम्पनी हो, जसले प्रायः हाई प्रोफाइल (ठूला) मुद्दाहरू हेर्ने गर्छ । यसअघि सन् २०१८ मा मस्कले टेस्लालाई निजी कम्पनी बनाउन खोजेका थिए । तर, यही ल फर्मले उनीविरुद्धको मुद्दा लड्दा एलन मस्क हारेका थिए । हाई प्रोफाइल केसहरू हेर्ने भएकाले यो ल फर्मले बढी शुल्क लिने गर्छ ।

एक्स कर्पोरेसनले शुक्रबार अदालतमा बुझाएको मुद्दामा एलन मस्कलाई ट्वीटर खरिद गर्न बाध्य पारिसकेपछि सो ल फर्मका एक वकिल विलियम सविट बोर्डबाट अस्वाभाविक रूपमा नौ करोड डलरको भुक्तानी लिएको उल्लेख छ । ल फर्मलाई भुक्तानी दिने रकम एप्रुभ गरेर ट्वीटरका पूर्व बोर्ड सदस्यले आफ्नो कर्तव्य ताेडेकाे मुद्दामा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असार २५, २०८० ९:४६