काठमाडौं । भाटभटेनी सुपर मार्केटको नाममा फ्यान पेज खोली त्यसबाट ठगी भइरहेको पाइएको छ । हालै मात्र सञ्चालनमा आएको उक्त पेजको नाम भाटभटेनी मार्केट फ्यान्स (𝐵𝘩𝑎𝘵𝐵𝘩𝑎𝘵𝑒𝘯𝑖 𝑀𝘢𝑟𝘬𝑒𝘵 𝘍𝑎𝘯𝑠) राखिएको छ । सो पेजले भनेका सबै प्रक्रिया मान्दै जाने हो भने अन्तिममा एनसेलको सब्क्रिप्सन खरिद गर्ने लिङ्कमा पुगिन्छ ।
कसरी हुन्छ ठगी ?
भाटभटेनी सुपर मार्केट नाम भएको सो पेजमा हालसम्म चार ओटा पोस्ट मात्र अपलोड भएका छन् । जसमा दुई ओटा कभर फोटो र प्रोफाइल फोटो, बाँकी दुई ओटा पोस्टमा उपहार पाइने भन्दै फोटो सहित क्याप्सन राखिएको छ ।
“ @Bhat-Bhateni को जन्मदिन मनाउन, 13 जुलाई 2023 सम्ममा "बधाई" कमेन्ट लेख्ने जो कोहीलाई उपहारले पुरस्कृत गरिनेछ,” पोस्टमा लेखिएको छ, “1 सैमसंग सेलफोन, नगद र किनमेल भाउचर को नवीनतम मोडेल। भाग्यले साथ दिओस्! ️ ♖ नोट: हामी विजेतालाई निजी सन्देश मार्फत सम्पर्क गर्नेछौं!!”
त्यस्तै अर्को पोस्टमा पनि पोस्टमा कमेन्ट गरेको खण्डमा विजेता छानेर उसलाई व्यक्तिगत मेसेज पठाइ सम्पर्क गरिने उल्लेख छ ।
त्यस्तै पुरस्कार पाउनका लागि अर्को मापदण्ड समेत राखिएको छ । ती मापदण्ड तल उल्लेख गरिएको छ।
(जित्नको लागि कृपया तलका चरणहरू पालना गर्नुहोस्:
- पुरस्कार आफ्नो बनाउनको लागि हाम्रो पेज लाइक र फलो गर्नुहोस्
- यो पोस्ट आफ्नो समूह वा साथीहरूलाई साझा गर्नुहोस्
- कृपया पहिले सेयर गर्नुहोस् ताकि हामी तपाईंको जीत तुरुन्तै प्रशोधन गर्न सक्छौं। हाम्रो सन्देश अहिले नै जाँच गर्नुहोस्)
यसरी प्रयोगकर्ता सबैभन्दा पहिले सामाजिक सञ्जालमा उक्त पोस्ट शेयर गर्छन् । र, पोस्टमा आएर कमेन्ट गर्छन् । कमेन्ट गरिसकेपछि उनीहरूलाई इनबक्समा पुरस्कार पाउनका लागि भन्दै लिङ्क पठाइन्छ । प्रयोगकर्ताले रेस्पपोन्स नगरेको खण्डमा सोही मेसेज बारम्बार पठाइन्छ ।
“विजेतालाई बधाई छ, हामी तपाईंको पुरस्कार पठाउने प्रक्रियामा छौं, अहिले नै दर्ता गर्नुहोस्, यदि तपाईंले तुरुन्तै दर्ता गर्नुभएन भने, हामी अन्य सहभागीहरूलाई यो अवसर प्रदान गर्नेछौं।
दर्ता गर्न तलको बटनमा क्लिक गर्नुहोस्,” व्यक्तिगत रूपमा पठाइएको मेसेजमा लेखिएको छ । त्यसमा भएको लिङ्कमा क्लिक गरेको खण्डमा अर्को पेजमा रिडाइरेक्ट हुन्छ ।
भाटभेटनी २०२३ ब्लगपोस्ट डटकम यूआरएल भएको पेजको सुरुमै ‘तपाईंलाई भाटभटेनीको आधिकारिक वेबसाइटमा स्वागत छ’ लेखिएको छ । त्यसपछि पुरस्कारका लागि ‘रजिस्टर नाउ’को बटनमा क्लिक गरी आफ्नो विवरण राख्न भनिएको छ । यसैमा आधिकारिक विवरण राखेको खण्डमा प्रयोगकर्ताले भनेकै ठेगाना पुरस्कार पठाउने आश्वासन दिइएको छ ।
त्यस्तै त्यहाँ विभिन्न बटन तथा आइकनमा ब्याकलिङ्क राखिएको छ । जानी जानी वा झुक्किएर पनि कतै क्लिक भयो भने (wap.matrixadz.com) अर्को पेज खुल्छ । त्यसपछि सोही पेजमा आफ्नो अगाडि ९८ राखिएको छ भने पछाडिका बाँकी आठ अङ्क आफैले राख्नुपर्ने हुन्छ । नमस्तेको नम्बर राख्दा प्रक्रिया अघि बढ्दैन । तर, एनसेलको नम्बर राखेको खण्डमा कन्सेन्ट डट एनसेल डट आजियाटा डट कम (consent.ncell.axiata.com) को साइट खुल्छ ।
सो पेजमा गेमजिनको एक आइकन रहेको छ भने माथि गेमजिनको सब्क्रिप्सनबारे खुलाइएको छ । उक्त सब्स्क्रिप्सनका लागि सिममबाट १५६० रुपैयाँ काटिने उल्लेख गरिएको छ । त्यहाँ गएर आफ्नो नम्बर र मेसेजमा आएको ओटीपी कोड राख्ने हो भने (http://portal.matrixads.in/) को साइट खुल्छ ।
यसरी फोनमा ब्यालेन्स भएको खण्डमा सोही ब्यालेन्स कटेर १५६० रुपैयाँमा एक वर्षका लागि ‘गेमजिन विथ थ्री डेज इन्स्टलमेन्ट प्याक’ एक्टिभेट हुन्छ ।
प्रयोगकर्ताले क्लिक गर्दा कुन अप्सन छानेका छन् भन्ने हिसाबले पनि फरक फरक प्याकेज एक्टिभेट भइरहेको हुन्छ । यसअघि फेसबुकमा विभिन्न व्यक्तिहरूको पहिलोको लाइभ भिडिओ देखाइ गेम खेलाउने नाममा एनसेलको सब्सक्रिप्सन खरिद गराउने गरेको पाइएको थियो ।
उक्त कार्यमा खटिएका एफिलियट मार्केटरसँगको सम्झौता रद्द भइसकेको कम्पनीले जनाएको थियो । अहिले भने हेलोसेल नभइ गेमजिनको सब्स्क्रिप्सन प्रयोगकर्तालाई थाहै नदिई खरिद गराउने काम भइरहेको छ ।