close

‘केपी बा’ युट्युब च्यानलमार्फत आफ्नो जीवन भोगाइ सुनाउँदै केपी ओली

टेकपाना टेकपाना

असार ३१, २०८० १८:३४

‘केपी बा’ युट्युब च्यानलमार्फत आफ्नो जीवन भोगाइ सुनाउँदै केपी ओली

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नै युट्युब च्यानल सञ्चालनमा ल्याएका छन् । आइतबार सामाजिक सञ्जालमा एक भावुक पोस्ट लेख्दै ओलीले आफ्नो जीवनका थुप्रै भोगाइहरू सुनाउने उद्देश्यले युट्युब च्यानल सञ्चालनमा ल्याएको बताएका छन् ।  

“पाँच हजार फिटमाथि उडेको हेलिकप्टरबाट झर्दा मलाई म बाँच्छु जस्तो नै लागेको थिएन,” ओलीले लेखेका छन्, “झरिसकेपछि आफूलाई जिउँदो पाउँदा हतारहतार आफ्ना हातखुट्टा छामी हेरें, आश्चर्य लाग्यो । म घाइते थिएँ, तर जिउँदो थिएँ ।" 

"मृत्युलाई हराउन सफल भएकोमा मन आनन्दित भयो । सफलताको अनुभूति गरें । बाँच्नु आफैमा एउटा सफलता हो । मृत्युका मुखमा पुगेर बाँच्नु मेरा लागि अझ ठूलो सफलताको विषय बन्न पुग्यो ।”

उनले अगाडि लेखेका छन्, “यो मेरो २०५२ सालमा हेलिकप्टर दुर्घटनामा पर्दाको अनुभव हो । मैले मेरो जीवनका थुप्रै यस्ता अनुभवहरू मेरो युट्युब च्यानलमा शेयर गर्दै आइरहेको छु ।”

आगामी दिनमा पनि आफ्ना यस्तै अनुभवहरू बाँड्दै जानेछु भन्दै उनले च्यानल सब्सक्राइब गरिदिन अनुरोध समेत गरेका छन् । ‘केपी बा’ नामक उनको युट्युब च्यानल गत फेब्रुअरी मै तयार पारिएको थियो ।

यो समाचार तयार पार्दासम्म सो युट्युब च्यानलमा ३० ओटा भिडिओ अपलोड भइसकेका छन् भने छ हजार ५३० बढी सब्सक्राइर जोडिएका छन् । 

उनले सुनाएका विभिन्न घटनाक्रम सोही च्यानलमा अपलोड हुँदै आएका छन् । ओली सामाजिक सञ्जालमा सक्रिय हुने राजनीतिज्ञ मध्येका एक हुन् । 

बजार जुन सामाजिक सञ्जालले तताएको छ, उनी त्यसैमा सक्रिय हुँदै आइरहेका छन् । फेसबुक र युट्युब बाहेक ओली ट्वीटर, इन्स्टाग्राम र थ्रेड्समा समेत सक्रिय छन् । 

 

पछिल्लो अध्यावधिक: असार ३१, २०८० १८:३४