close

अब ट्वीटरमा पैसा नतिर्ने प्रयोगकर्ताले चाहे जति मेसेज पठाउन नपाउने

टेकपाना टेकपाना

साउन ७, २०८० १६:२४

अब ट्वीटरमा पैसा नतिर्ने प्रयोगकर्ताले चाहे जति मेसेज पठाउन नपाउने

काठमाडौं । शुल्क तिरेर ब्लु सब्स्क्रिप्सन नलिने ग्राहकका लागि ट्वीटर कम उपयोगी हुने भएको छ । यसको कारण हो ट्वीटरले हालै गरेको नयाँ घोषणा । 

ट्वीटरले अब शुल्क नतिर्ने प्रयोगकर्ताका लागि डीएम (डाइरेक्ट मेसेज) मा सीमितता लगाउने भएको छ । यसको अर्थ अनभेरिफाइड प्रयोगकर्ताले दैनिक सीमित ट्वीटर ह्यान्डलमा मात्र डीएम पठाउन सक्नेछन् । 

हालै एक ट्वीट गर्दै कम्पनीले डीएममा स्पाम मेसेजको सङ्ख्या घटाउन यस्तो निर्णय लिएको जानकारी दिएको छ । जुलाई १४ मा कम्पनीले ट्वीट गर्दै डीएममा एउटा त्यस्तो नयाँ मेसेज सेटिङ एड गरेको जनाएको थियो । 

उक्त मेसेज सेटिङले दुई ओटा फिचर उपलब्ध गराउने कम्पनीले उल्लेख गरेको थियो । पहिलो भनेको प्रयोगकर्ताले फलो गरेको अकाउन्टबाट आउने मेसेज उनीहरूको प्राइमरी इनबक्समा आउने फिचर ।

उदाहरणका लागि तपाईंले टेकपानालाई फलो गर्नु भएको छ । अब टेकपानाले तपाईंलाई पठाएको मेसेज सोझै तपाईंको मुख्य इनबक्समा जान्छ । जसलाई तपाईंले सजिलै देख्न सक्नुहुन्छ ।

अर्को भनेको भेरिफाइड प्रयोगकर्ताबाट आउने मेसेज तपाईंको ट्वीटर ह्यान्डलको मेसेज रिक्वेस्टमा आउने फिचर हो । उदाहरणका लागि यदि तपाईंलाई कुनै भेरिफाइड ट्वीटर ह्यान्डलबाट मेसेज आयो र तपाईंले त्यो अकाउन्टलाई फलो गर्नु भएको छैन भने उक्त मेसेज मुख्य इन्बक्समा जाँदैन । 

यसको सट्टा प्रयोगकर्ताले मेसेज रिक्वेस्ट बक्समा गएर आफूलाई कसले मेसेज गर्ने वा नगर्ने भन्ने कुरा एसेप्ट वा इग्नोर गर्न सक्छन् । 

कम्पनीका अनुसार यो फिचर ल्याइसकेपछि एक हप्तामै ट्वीटरमा स्पाम मेसेजको सङ्ख्या ७० प्रतिशतले घटेको थियो । 

ट्वीटरमा आउन लागेको नयाँ फिचरले डीएम स्पाम घटाउने कम्पनीको विश्वास छ । तर, यसले अनभेरिफाइड प्रयोगकर्तालाई मारमा पार्ने विज्ञहरु बताउँछन् । कम्पनीले आफ्ना अनभेरिफाइड प्रयोगकर्तालाई ब्लु सब्स्क्रिप्सन खरिद गराउनका लागि यस्तो गरेको उनीहरूको भनाइ छ ।

“हामी चाँडै नै डाइरेक्ट मेसेजमा स्पाम कम गर्नका लागि केही परिवर्तन ल्याउँदैछौं,” ट्वीटर सपोर्टबाट गरिएको ट्वीटमा लेखिएको छ, “अनभेरिफाइड अकाउन्टमा उनीहरूले पठाउन सक्ने डीएमको  दैनिक सीमा हुनेछ ।”

थप डीएम पठाउन चाहनेले लिङ्कमा क्लिक गरेर सब्स्क्रिप्सन लिनुपर्ने भन्दै कम्पनीले ब्लु सब्स्क्रिप्सन लिन सकिने लिङ्क शेयर गरेको थियो । 

त्यसबाहेक पनि ट्वीटरले हालै अनभेरिफाइड प्रयोगकर्ताले दैनिक छ सय ट्वीट हेर्न सकिने घोषणा गरेको थियो । ट्वीटरका मालिक एलन मस्कले हालै ट्वीटरले विज्ञापनबाट गर्ने आम्दानी ५० प्रतिशतले घटेको उल्लेख गरेका थिए ।

पछिल्लो अध्यावधिक: साउन ७, २०८० १६:२४