close

अनलाइनमा निःशुल्क आफ्नो चिना बनाउन सकिने एप- ‘मेरो ज्योतिष’

सञ्जीवन राई सञ्जीवन राई

साउन ९, २०८० १९:३६

अनलाइनमा निःशुल्क आफ्नो चिना बनाउन सकिने एप- ‘मेरो ज्योतिष’

 

काठमाडौँ । सन् २००९ मा स्याङ्जाका विवेक पाण्डे र कपिलवस्तुका मनोज पोखरेल राजधानीमा अवस्थित एड्भान्स कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टमा भर्ना भए । त्यहाँ उनीहरूको अध्ययनको विषय इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ थियो । 

इन्जिनियरिङ अध्ययन गरे पनि यी सहपाठीहरूको रुचि ज्योतिष शास्त्रमा थियो । विवेकको पारिवारिक पृष्ठभूमि त ज्योतिष नै थियो । त्यसकारण पनि यस क्षेत्रप्रति उनको विशेष लगाव थियो । सँगैका सहपाठी मनोजमा पनि त्यसको रुचि भएकाले उनीहरू निकै नजिकिएका थिए । पढाइ बाहेक उनीहरूको कुराकानीको विषय ज्योतिष शास्त्र नै हुन्थ्यो । तर उनीहरू यसमा पूर्ण दक्ष भने थिएनन् । त्यसपछि उनीहरूले मिलेर ज्योतिष शास्त्रको स्वअध्ययन गर्न थाले ।

विवेक र मनोजले सन् २०१५ मा स्नातक उत्तीर्ण गरे । त्यसपछि मनोज उच्च शिक्षाका लागि अष्ट्रेलिया उडे । विवेकले पनि अर्कै काम गर्न थालिसकेका थिए । तर ज्योतिष शास्त्रको रुचि भने मरेको थिएन । यसकारण आफूजस्तै यस क्षेत्रमा रुचि राख्नेसँग जोडिन उनीहरूले ‘एस्ट्रोलोजर्स नेपाल’ (Astrologers Nepal) नामक फेसबुक ग्रुप बनाए । त्यहाँ उनीहरू जस्तै अन्य व्यक्तिहरू थपिँदै गए । त्यसै ग्रुपमार्फत लक्ष्य राई र विशाल ज्ञवाली उनीहरूसँग जोडिन आए । तर लक्ष्य र विशाल पनि फरक फरक ठाउँमा थिए । अनलाइन च्याट ग्रुपबाट भने उनीहरूको कुराकानी हुन्थ्यो । ग्रुपलाई भने अगाडि बढाइरहेका नै थिए ।

त्यो समयमा उनीहरूले ज्योतिष शास्त्रको नेपाली मोबाइल एप खोजेका थिए । तर आफूले सोचेको जस्तो फेला पारेनन् । तब उनीहरूले आफ्नो व्यक्तिगत प्रयोजनको लागि छुट्टै एप बनाउने सोचे । त्यही सोचले जन्म्यो, ‘मेरो ज्योतिष’ (Mero Jyotish) एप ।

आफ्नै आवश्यकताले जन्माएको एप 

दायाँबाट क्रमश: मनोज पोखरेल, विवेक पाण्डे, लक्ष्य राई र विशाल ज्ञवाली, ‘मेरो ज्योतिष’ टिम

कलेजताका तुलनात्मक रूपमा विवेक ज्योतिष शास्त्रमा अलि पोख्त थिए । पोखरेल भने प्रोग्रामिङमा । हुन त उनीहरूले विभिन्न कलेज परियोजनामा कोडिङ गर्नु पर्थ्यो । यता ज्योतिष शास्त्रको अध्ययन गर्ने काम त छँदै थियो । पछि फेसबुक ग्रुपमार्फत जोडिएका लक्ष्य र विशालले पनि यस क्षेत्रमा निकै रुचि देखाए । उनीहरू सामाजिक सञ्जालमा जोडिए । त्यहीँ नै उनीहरूको कुराकानी हुन्थ्यो ।

सबैजना फरक फरक ठाउँमा बस्ने भएकाले भौतिक कार्यालय खडा गरेर काम गर्न सक्ने अवस्था थिएन । त्यहीँ कुरा गर्दै जाँदा उनीहरू आफूले सोचेको जस्तो एप बनाउने निर्णयमा पुगेका थिए ।

त्यसपछि आन्तरिक तयारी सुरु गरे । विवेक, लक्ष्य र विशालले ज्योतिषीय हिसाब सम्हाले भने पोखरेलले त्यसलाई कोडिङ गरे । सबै तयारी सकेपछि औपचारिक रूपमा उनीहरूले मार्च २०१९ मा पहिलो पटक एन्ड्रोइडमा एप लञ्च गरे । आईओएसमा भने फ्रेबुअरी २०२० लञ्च गरे । तर उनीहरूले एपको अनौपचारिक तयारी भने २०१७ बाट गरेका थिए ।

कस्तो छ एप ?

यस एपमा ज्योतिषसँग सम्बन्धित विभिन्न कुराहरू राखिएको छ । विशेष गरेर ज्योतिष कार्यमा संलग्न र यसमा रुचि राख्ने वा अध्ययन गर्नेहरूलाई ध्यानमा राखेर एप बनाइएको कम्पनीका जनरल म्यानेजर विवेक पाण्डे बताउँछन् । एपको मुख्य उद्देश्य वैदिक ज्योतिष शास्त्रलाई सरल, पहुँच योग्य र विश्वसनीय बनाउनु रहेको पाण्डे सुनाउँछन् । साथै वैदिक ज्योतिषीय नियममा रहेर वैज्ञानिक आधारमा एक असल मार्ग दर्शनको भूमिका निर्वाह गर्नु आफूहरूको उद्देश्य रहेको पाण्डेको भनाइ छ ।

एपलाई उत्कृष्ट बनाउन आफूहरूले निकै स्वअध्ययन र ज्योतिषहरूलाई भेटेर सरसल्लाह लिएको पाण्डे जनाउँछन् । “एप बनाउँदा हामी कोही पनि सँगै थिएनौं । तर पनि आ-आफ्नो तरिकाले धेरै मेहनत गरेका थियौं,” उनी अगाडि भन्छन्, “सुरुमा लञ्च गर्दा धेरै त्रुटि थिए । अहिले ती सबैको समाधान गरिसकेका छौं । एपमा एउटा ज्योतिषलाई चाहिने सबै कुराहरू राखिएको छ ।”

कस्ता छन् फिचर ?

खासमा उनीहरूले आफूले सोचे जस्तो ज्योतिष एप नभेटेर आफैं बनाएका थिए । यसकारण एपमा अन्य ज्योतिष एपको तुलनामा बढी फिचर दिइएको छ । एपमा पञ्चाङ्ग र मुहूर्त, कुण्डली, कुण्डली मिलान, राशिफल, सपनाफल जस्ता फिचर छन् । साथै नेपाली पात्रो, मिति परिवर्तन, घडी पला, हनुमान, घरजग्गा प्रश्नावली, मन्त्र लगायतका अन्य फिचर पनि दिइएको छ । यी अन्तर्गत एपमा दैनिक, मासिक र वार्षिक गरी तीन प्रकारको राशिफल दिइएको छ । मन्त्र अन्तर्गत नौ ग्रहकै मन्त्र राखिएको छ ।

एप एकपटक डाउनलोड गरेपछि धेरैको कुण्डली बनाउन सकिन्छ । यसका लागि अकाउन्ट भने बनाउनु पर्दैन । यसका लागि सम्बन्धित व्यक्तिको जन्म विवरण (नाम, मिति, समय, स्थान) हालेपछि कुण्डली बन्छ । एपले दृक सिद्धान्तमा आधारित भएको कुण्डली बनाउने गर्छ । साथै त्यहाँ भित्र विभिन्न फिचर छन् । जसमा भर्ग कुण्डली, जातक विवरण, वर्षफल, घात चक्र, अष्टक वर्ग, इन्दु लग्न, पाक लग्न, गोचर आदि छन् ।

यसभित्र भएको ‘जातक विवरण’ सेक्सनले जन्म विवरणका आधारमा विभिन्न कुराको भविष्य गर्छ, जुन पूर्ण सत्य भने हुँदैन । तर यसले सिकारु ज्योतिष अथवा यसको ज्ञान भएकोलाई उपयोगी हुने पाण्डे बताउँछन् । “कुन सङ्कटा, कुन योगिनी चलिरहेको छ त्यो एपमा देखिन्छ । कोही ज्योतिषले भनेको कुरा प्रमाणित गर्न ती उपयोगी हुन्छन्,” उनी भन्छन् ।

साथै यसमा ज्योतिषहरूलाई प्रश्न सोध्न सकिने फिचर समेत दिइएको छ । यो भने सशुल्क फिचर हो । प्रयोगकर्ताले २४ घण्टाभित्रमा आफ्नो प्रश्नको उत्तर प्राप्त गर्न सक्छन् । यो फिचर प्रयोग गर्न कम्पनीले एक पटकमा २०० रुपैयाँ शुल्क लिन्छ । यो शुल्कमा एउटा व्यक्तिले ज्योतिषलाई तीन ओटा विषयसम्म प्रश्न सोध्न सक्छन् । यसका लागि कम्पनीसँग तीन जना ज्योतिष आबद्ध छन् ।

कसका लागि उपयोगी छ ?

सामान्य प्रयोगकर्तादेखि ज्योतिषको अभ्यास गरिरहेकालाई यस एप उपयोगी हुने कम्पनीको भनाइ छ । यसका लागि सबै खालका प्रयोगकर्तालाई उपयोगी हुने फिचरहरू राखिएको पाण्डे सुनाउँछन् । उनका अनुसार एपमा ज्योतिष कर्म गर्न चाहिने कुरा राखिएको छ । त्यस्तै ज्योतिषमा रुचि भएका र यसको अध्ययन गरिरहेकालाई समेत स्रोतको रूपमा काम लाग्न सक्छ ।

“पहिले ज्योतिषलाई एउटा कुण्डली बनाउन चार-पाँच घण्टा लाग्थ्यो । तर एपबाट एक क्लिकमा नै त्यो काम गर्न सकिन्छ,” उनी भन्छन्, “ज्योतिष शास्त्र विशुद्ध विज्ञान हो । यसकारण कुनै पनि व्यक्तिले आफ्नो समय कस्तो चलिरहेको छ, कुन बाटोमा जाँदा ठीक हुन्छ जस्ता कुराहरूको दिशानिर्देशका लागि एप प्रयोग गर्न सक्छ ।”

यो एपले आफ्नो चिना (कुण्डली) बोकेर हिँड्न आवश्यक नभएको र त्यसलाई जतिबेला पनि ज्योतिषलाई देखाउन सकिने उनको भनाइ छ । हाल यस एप एन्ड्रोइड र आईओएस गरी दुवैमा एक लाख बढी पटक डाउनलोड भएकाे छ । सक्रिय प्रयोगकर्ता भने एन्ड्रो‍इडमा ३५ हजार र आईओएसमा ८ हजार रहेको पाण्डे बताउँछन् ।

ख्याल ख्यालमा नै बनाएको एपले एक तहको सफलता हात पारिसकेको छ । अहिले पनि उनीहरू चार जना कोहीले पनि एपका लागि पूर्ण समय काम गर्दैनन् । सबैले आ-आफ्नो छुट्टै काम गरिरहेका छन् । रुचि, रहरले बनाएको एपमा यो सफलता मिल्छ भनेर उनीहरूले सोचेका थिएनन् । आजभोलि पनि उनीहरू यति बजे अनलाइनमा आउने भनेर अगाडि नै निश्चित गर्छन् । त्यसपछि त्यो सयममा अनलाइनमा नै काम र कुरा गर्छन् ।

अहिले एपको युजर इन्टरफेस (यूआई) भने निकै सामान्य छ । यो कुरा पाण्डे पनि स्वीकार गर्छन् । आगामी दिनमा एपमा भएका यस्तै समस्या सुधार गरेर जाने र राम्रोसँग काम गरेर एपलाई अझै उत्कृष्ट बनाउने योजना रहेको उनले सुनाए । 

मेरो ज्योतिष एप डाउनलोड गर्न एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: साउन ९, २०८० १९:३६