काठमाडौं । स्टार्टअपलाई लगानी जुटाउन मद्दत गर्ने नेपाली प्लेटफर्म ‘इन्भेस्टिया’ सार्वजनिक भएको छ । शुक्रबार ललितपुरमा एक कार्यक्रम आयोजना गर्दै इन्भेस्टिया सार्वजनिक गरिएको हो ।
सूचना प्रविधि लगायत अन्य विषय अध्ययन गरेका विद्यार्थीले आफ्नै आइडियालाई व्यवसाय बनाउन खोजिरहे पनि लगानी अभावले मूर्त रूप दिन नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै यो प्लेटफर्म सुरु गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुसन चापागाईंले बताए ।
“हामीले विद्यार्थीको स्टार्टअप आइडियालाई वास्तविक रूप दिन सहयोग पुर्याउने उद्देश्यले यो प्लेटफर्म ल्याएका छौं,” उनले भने, “यो प्लेटफर्म मात्र नभई एउटा इकोसिस्टम नै हो ।”
यस प्लेटफर्मले स्टार्टअप र लगानीकर्तालाई जोड्ने पुलको काम गर्ने सीईओ चापागाईंले सुनाए । खासगरी स्टार्टअपको आइडियालाई विभिन्न तवर तरिकाबाट विश्लेषण गरी लगानीकर्तालाई निर्धक्कका साथ लगानी गर्ने वातावरण सिर्जना गर्ने यस प्लेटफर्मको उद्देश्य भएको उनले बताए ।
“कसैले स्टार्टअप गर्न खोज्यो भने सुरुमा फन्ड रेज गर्ने प्रक्रिया झन्झटिलो छ,” चापागाईंले अगाडि भने, “परम्परागत तरिकाले फन्ड रेज गर्दा बीचमै अनावश्यक कमिसन तिर्नुपर्ने बाध्यता छ । त्यसलाई डिजिटाइज र पारदर्शी राख्न हामीले यो पहल सुरु गरेका हौं ।”
बजार अध्ययन, ग्राहकको मागको आवश्यकता विश्लेषण गरी यसलाई वास्तविकतामा ल्याउन झन्डै एक वर्ष लागेको इन्भेस्टियाका प्रोजेक्ट लिड सरोज दाहालले बताए । “हामीले आफ्नो आइडियाबाट एउटा प्रडक्टसम्म तयार पार्न एक वर्षको समय लगाएका छौं,” दाहालले भने, “यसमा फ्रन्टइन्ड र ब्याकइन्ड हेर्ने छुट्टाछुट्टै टिम हुनुहुन्छ । हामीले गोपनीयता र पारदर्शितालाई सन्तुलन राखेर एउटा इकोसिस्टम तयार पार्ने सङ्कल्प अगाडि बढाएका छौं ।”
यसले नवीनतम परियोजना, वास्तविक समस्या समाधान गर्न मद्दत गर्ने परियोजनालाई अगाडि सार्न सहयोग पुर्याउने कम्पनीको विश्वास छ । यस प्लेटफर्ममा स्टार्टअप, लगानीकर्ता र इन्क्युबेटर आवद्ध हुन सक्छन् ।
यहाँ क्लिक गरेर स्टार्टअप, लगानीकर्ता र इन्क्युबेटरले छुट्टाछुट्टै अकाउन्ट बनाउन सक्छन् ।
अकाउन्ट बनाइसकेपछि त्यसलाई डिजिटल र म्यानुअल्ली दुबै तरिकाबाट प्रमाणिकरण गर्ने काम अगाडि बढ्ने कम्पनीले जनाएको छ । यसरी अकाउन्ट बनाइसकेपछि स्टार्टअपले आफ्नो प्लेटफर्म दर्ता गर्न सक्छन् भने लगानीकर्ताले लगानी गर्न उपयुक्त स्टार्टअपलाई लगानी उपलब्ध गराउन सक्छन् । यसअघि बेटा भर्सनमा सुरु भएको यो प्लेटफर्म शुक्रवारदेखि औपचारिक रूपमा सुरु भएको कम्पनीले जनाएको छ ।