काठमाडौं । गएको एक वर्षको अवधिमा मात्रै ३२ लाख २३ हजार ६८७ थान विद्युतीय चुरोट नेपाल भित्रिएको पाइएको छ । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को तथ्याङ्कले यस्तो देखाएको हो ।
इलेक्ट्रोनिक्स सिगरेट तथा समान किसिमका व्यक्तिगत भास्पोराइजिङ डिभाइस नाम दिइएका यस्ता सामग्री भित्रिने दर पछिल्लो समय ह्वात्तै बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा छ लाख १४ हजार ३५६ थान रहेको विद्युतीय चुरोटको आयात यस वर्ष पाँच गुणाभन्दा बढीले वृद्धि भएको छ ।
त्यसो त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलहुँदै भित्र्याइएको विद्युतीय चुरोटमा १९ किलो सुन ल्याइएको विषय यसअघि नै सार्वजनिक भइसकेको छ । गत आर्थिक वर्षमा यसका लागि २१ करोड ३९ लाख १४ हजार रुपैयाँ विदेशिएको छ भने राज्यले त्यसबाट १३ करोड ४६ लाख ८५ हजार रुपैयाँ राजस्व प्राप्त गरेको थियो ।