close

विद्यार्थीले बनाए सापटी लेनदेन गर्न मिल्ने अनलाइन सिस्टम

टेकपाना टेकपाना

साउन १४, २०८० १५:३७

विद्यार्थीले बनाए सापटी लेनदेन गर्न मिल्ने अनलाइन सिस्टम

काठमाडौं । नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी (एनसीआईटी) मा अध्ययनरत विद्यार्थीहरूले ऋण तथा सापटी लेनदेन गर्न मिल्ने अनलाइन सिस्टम बनाएका छन् । कलेजले शनिबार आयोजना गरेको एक्स्पोमा विद्यार्थीले बनाएको पीटूपी लेन्डिङ एप (P2P lending app) प्रोजेक्ट सार्वजनिक गरिएको हो ।

पीटूपी (पियर टु पियर) लेन्डिङ को सामान्य अवधारणा कुनै व्यक्ति तथा संस्थालाई विभिन्न प्रयोजनका लागि आवश्यक परेको रकम अनलाइन माध्यमबाट उपयुक्त सम्पर्क कायम गरी लेनदेन गर्ने व्यवस्था हो । यही अवधारणामा आधारित रहेर एनसीआईटीमा अध्ययनरत विमलराज ज्ञवाली, दीक्षान्त शाह, नरेन्द्रबहादुर चन्द र रमेश बरालको टोलीले वेब एप विकास गरेका हुन् । 

उनीहरूले बनाएको एपमार्फत आफ्नो व्यापार तथा अन्य प्रयोजनका लागि आवश्यक कर्जाका लागि अनुरोध गर्न सकिन्छ । सोही एपमा ऋण तथा सापटी दिने व्यक्तिहरू पनि हुन्छन् । 

ती व्यक्तिहरूले विश्वासिला व्यक्तिलाई निश्चित ब्याजमा ऋण दिन्छन् । यसरी यो एपमा ऋण दिने र लिने गरी दुई खालका प्रयोगकर्ता हुन्छन् । 

यसमा कारोबार गर्न दुवै प्रकारका प्रयोगकर्ताले आफ्नो ईमेल मार्फत लगइन गर्नुपर्ने हुन्छ । कर्जा आवश्यक परेकालाई भने केवाईसी प्रमाणित गर्नुपर्ने व्यवस्था गरिएको छ । 

कर्जा लिएको रकम मासिक किस्तामा फिर्ता गर्ने व्यवस्था विद्यार्थीको उक्त सिस्टममा मिलाइएको छ । साथै समयसीमाभित्र ऋण तिर्नुपर्ने, निश्चित रकम मात्र कर्जा लिन सक्ने जस्ता फिचर समेत त्यसमा छन् । 

विद्यार्थीले तयार पारेको परियोजनाको लगइन पेज

विद्यार्थीहरूले एचटीएमएल, सीएसस, जाभा स्क्रिप्ट, रियाक्ट, जाभा, स्प्रिङ, र्‍याबिट एमक्यू र पोस्टग्रे एसक्यूएल आदि प्रयोग गरेर यो परियोजना बनाएका छन् । नेपालमा अझै पनि यस किसिमको सेवा दिन पाउने कानूनी व्यवस्था भने छैन ।

यदि सरकारले यसको कानूनी व्यवस्था गरे हाल भइरहेको मिटरब्याजी जस्ता समस्या हट्ने एप निर्माता विद्यार्थीहरूको भनाइ छ । पीटूपी लेन्डिङबारे विस्तृत रूपमा बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: साउन १४, २०८० १५:३७