close

मिम बनाएर फेसबुक प्रोफाइल लक गर्नेको खिल्ली उडाइँदै, के हो लक लगाउनुको कारण ?

टेकपाना टेकपाना

साउन २१, २०८० १०:५४

मिम बनाएर फेसबुक प्रोफाइल लक गर्नेको खिल्ली उडाइँदै, के हो लक लगाउनुको कारण ?

काठमाडौं । सन् २०२० मा भारतीय महिलाहरूको फेसबुक अकाउन्ट दुरुपयाेग गर्ने प्रवृत्ति निकै देखिन थाल्यो । त्यसैलाई सम्बोधन गर्न फेसबुकले प्रोफाइल लक फिचर ल्याएको थियो ।

क्रमशः यो फिचर विश्वका अन्य मुलुकमा पनि उपलब्ध हुन थाल्याे । नेपालमा भने यो फिचर हालै मात्र उपलब्ध भएको हो । अझै पनि सीमित प्रयोगकर्ताले मात्रै यो फिचर प्रयोग गर्न पाएका छन् ।

यो फिचर प्रयोग गर्नेको सङ्ख्या बढ्दै जाँदा सामाजिक सञ्जालमा त्यसको चर्चा समेत सुरु हुन थालेको छ । तर, सामान्यतः प्रोफाइल लक गर्नु भनेको प्रोफाइल तस्वीर नदेखाउनु मात्र हो भन्ने बुझाई रहेको देखिन्छ ।

केही मिम पेजहरूले प्रोफाइल लक फिचरलाई लिएर मिम समेत बनाइरहेका देखिन्छन् । जसमा यो फिचरलाई नकारात्मक रूपमा प्रस्तुत गरिएको देखिन्छ ।

विभिन्न मिममध्ये एउटा मिममा लेखिएको थियो, "मान्छेहरू फेसबुकको प्रोफाइल लक यसरी गर्छन् कि मानौं दरबार हत्याकाण्डको पूरै डिटेल उनीहरूको प्रोफाइलमा छ ।"

उक्त मिममा समर्थन गर्दै थुप्रै प्रयोगकर्ताले प्रोफाइल लक सान देखाउनका लागि अन गरेकाे आशय व्यक्त गरेका छन् । यस्तोमा फेसबुक प्रोफाइल लक गर्नु भनेको आफ्नो प्रोफाइल पिक्चर नदेखाउनु मात्रै हो त ? के छन् यसका फाइदा ? किन गर्ने प्रोफाइल लक ? आज हामी यही विषयमा चर्चा गर्दै छौं ।

नेपाल प्रहरी अन्तर्गतको साइबर ब्यूरोमा दिनहुँ ३० देखि ४० ओटासम्म फेसबुकसँग जोडिएका उजुरी दर्ता हुन्छन् । ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक पशुपति कुमार रायका अनुसार त्यसमध्ये २० प्रतिशत पीडितहरू आफ्नो फोटो दुरुपयोग गरेर नक्कली अकाउन्ट बनाएको, आफ्नो फेसबुक अकाउन्ट ह्याक भएको भन्दै उजुरी दिन्छन् ।

फेसबुकमा आफ्ना क्रेडेन्सियल, बैकिङ विवरण, लाइसेन्स, नागरिकता लगायतका कागजात राख्नुले यस्ता घटना बढ्दै गएको रायको बुझाई छ ।

"सर्वसाधारणहरू फेसबुकमा आवश्यक हुने, नहुने, संवेदनशील कुराहरू सबै राखिदिनुहुन्छ," उनले भने, "आफू कहाँ गयो, के गर्‍यो, आफ्नो बानी कस्तो छ, आफूले के उपलब्धि गर्‍यो सबै राख्नैपर्छ भन्ने मान्यता भइसक्यो ।"

केही कुराहरू राख्न आवश्यक भए पनि आफूले दैनिक जीवनमा जे जे गर्‍यो वा आफ्ना व्यक्तिगत कुराहरू सबै राख्न नहुने उनको सुझाव छ ।

यस्ता जानकारीहरू राख्दा ह्याकर वा भनौं गलत नियत भएका व्यक्तिलाई अकाउन्ट दुरुपयोग गर्ने अवसर मिल्ने साइबर सुरक्षा विश्लेषकहरू बताउँछन् । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो गोपनीयता सुरक्षित राख्नका लागि प्रोफाइल लक फिचर निकै महत्त्वपूर्ण  छ ।

त्यसबाहेक प्रोफाइल लक गर्दा हुने अन्य फाइदाहरू निम्न अनुसार रहेका छन्;

  • आफ्ना व्यक्तिगत जानकारी अनावश्यक व्यक्तिसम्म पुग्न नदिन । 
  • परिचय चोरी (आइडेन्टिटी थेफ्ट) बाट जोगिन । 
  • आफूलाई आउने स्पाम मेसेजको सङ्ख्या घटाउन ।
  • आफ्नो फेसबुक अकाउन्ट सुरक्षित राख्न ।
  • यो फिचर अन गर्दा तपाईंसँग नजोडिएका मान्छेलाई तपाईं फेसबुकमा सक्रिय हुनुहुन्छ भन्ने कुरा थाहा हुँदैन ।
  • आफ्ना बालबालिकाको गोपनीयता सुरक्षित राख्न​ ।
  • आफूमाथि जासुसी गर्ने व्यक्तिबाट जोगिन ।
  • आफ्नो अकाउन्टलाई ह्याकरबाट सुरक्षित राख्न​ ।
  • लक्षित गर्दै आउने विज्ञापनबाट टाढै रहन ।
  • आफ्नो व्यवसायीक प्रतिष्ठा जोगाउन ।
  • अनलाइनमा अरूले दिने दुःख र हैरानीबाट बच्न ।
  • आफ्ना भावना तथा विचारहरू निर्धक्क सामाजिक सञ्जालमा शेयर गर्न ।
  • आफ्नो अनलाइन सक्रियता घटाउन । 
  •  बौद्धिक सम्पत्ति सुरक्षित राख्न ।
  • ठगीबाट जोगिन ।
  • ​मानसिक अवस्था स्वस्थ राख्न ।​
  • फेसबुकमा बित्ने समय कम गर्न ।
  • आफ्ना अन्य महत्त्वपूर्ण कामहरूमा केन्द्रित हुन ।
  • भविष्यमा आफूमाथि हुनसक्ने विभिन्न सम्भावित साइबर अपराधका घटनाबाट जोगिन ।

 

पछिल्लो अध्यावधिक: साउन २१, २०८० ११:१२