close

मोबाइल क्लिनिकको प्रसङ्गमा रास्वपा र रवि विरुद्ध बालेनले लेखेको भन्दै फेक पोस्टको स्क्रिनशट भाइरल

टेकपाना टेकपाना

साउन २१, २०८० १६:४५

मोबाइल क्लिनिकको प्रसङ्गमा रास्वपा र रवि विरुद्ध बालेनले लेखेको भन्दै फेक पोस्टको स्क्रिनशट भाइरल

काठमाडौं । अहिले सामाजिक सञ्जाल फेसबुकमा बालेनको आधिकारिक फेसबुक पेजबाट लिइएको जस्तो देखिने स्क्रिनशट भाइरल छ । ४५ हजार रियाक्सन, दुई हजार कमेन्ट र ४६१ शेयर भएको देखिने उक्त स्क्रिनशटमा बालेनले हालै रास्वपाले फिर्ता गरेको मोबाइल क्लिनिकको बारेमा आफ्नो धारणा राखिएको देखाइएको छ । 

“एम्बुलेन्स भरतपुर मेडिकल कलेजको ! डाक्टर सहितको जनशक्ति पनि भरतपुर मेडिकल कलेज कै ! नाम चाहि रास्वपाको ! सेवा चाहिँ रवीको मोवाइल क्लिनिक रे ! !! यति सम्मको झूठ पनि वजारमा विक्दो रैछ ! विकाउन सक्ने व्यापारी अनि त्यसलाई पत्याउने उपभोक्ता रहून्जेल कसैको केही लाग्दैन !” भाइरल स्क्रिनशटमा लेखिएको छ । 

स्क्रिनशटमा बालेनको ब्लु टिक सहितको पेजको नाम समावेश छ । उक्त पोस्ट बालेनको पेजमा हेर्दा भने भेटिँदैन । आईफोनबाट लिइएको उक्त स्क्रिनशटमा भएको पोस्टको टेक्स्ट र यूआईको टेक्स्ट पनि भिन्नाभिनै छ ।

पोस्टको टेक्स्ट प्रष्ट छ भने रियाक्सन, कमेन्ट र शेयर लेखिएको टेक्स्ट तुलनात्मक रूपमा न्यून रिजोलुसन भएको तथा मधुरो देखिन्छ । यी कुराहरूबाट पनि यो पोस्ट सम्पादन गरिएको हो भन्ने अनुमान लगाउन सकिन्छ । 

त्यसबाहेक पनि ४५ हजार लाइक, दुई हजार कमेन्ट र ४६१ शयेर भएको स्क्रिनशट बालेनको अर्को पोस्टसँग मिलेको देखिन्छ । जुलाई २६ मा बालेनले ‘लार्भा नष्ट गर्ने अभियान’ सम्बन्धी राखेको पोस्टमा उत्तिकै याक्सन र कमेन्ट छन् ।

तर, शेयर भने एक अङ्कले बढेको छ । उक्त पोस्टमा भएको शेयर हेर्ने हो भने अन्तिम पटक उक्त पोस्ट प्रकाश अधिकारी नाम भएका प्रयोगकर्ताले चार घण्टाअघि (आईतबार, अगस्ट ६, २०२३, १२ः१२ मिनेट) शेयर गरेको देखिन्छ ।

यसबाट पोस्ट एडिट गर्ने व्यक्तिले यही पोस्टको स्क्रिनशट लिएर पछि आफ्नो अकाउन्टमा उक्त कुरा लेखेर फोटो एडिट गरेको देखिन्छ ।  हामीले यो पोस्टको विषयमा काठमाडौंका मेयर बालेन शाहको सचिवालयमा सम्पर्क गरेका थियौं । 

सचिवालय प्रमुख कुमार बेन (व्यञ्जनकार) ले उक्त स्क्रिनशट 'फेक' भएको बताएका छन् । 

 

पछिल्लो अध्यावधिक: साउन २१, २०८० १६:५०