close

भुक्तानीको ओटीपी कोड नआउँदा अस्पतालको अनलाइन टिकट बुकिङमा समस्या

टेकपाना टेकपाना

साउन २३, २०८० १०:२४

भुक्तानीको ओटीपी कोड नआउँदा अस्पतालको अनलाइन टिकट बुकिङमा समस्या

काठमाडौं । मेरो डाक्टर मोबाइल एपबाट विभिन्न अस्पतालनको अनलाइन टिकट बुकिङमा समस्या आएको छ । विभिन्न डिजिटल वालेटबाट भुक्तानीका क्रममा ओटीपी कोड नआउँदा अनलाइन टिकट लिन समस्या भएको हो ।

मेरो डाक्टरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अङ्कित भण्डारीका अनुसार यो समस्या मेरो डाक्टर एपतर्फको नभइ भुक्तानी सेवा प्रदायक कम्पनीतर्फको हो । खास गरी ईसेवा र खल्तीबाट भुक्तानी गर्न खोज्ने प्रयोगकर्ताले सबै विवरण राखी टिकट भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाउँदा सोको कोड नआउने समस्या छ ।

कोड नआएकै कारण अस्पतालहरूको अनलाइन टिकट बुकिङ सेवा प्रभावित भएको हो । "हामीले भर्खरै मात्र यो समस्याको विषयमा जानकारी पाएका हौं," भण्डारीले भने, "सम्बन्धित भुक्तानी सेवा प्रदायक कम्पनीसँग सम्पर्क गर्न खोज्दा त्यसको जवाफ आइसकेको छैन ।"

तर, आईएमई पे र कनेक्ट आईपीएसबाट भुक्तानी गर्ने कार्यमा भने समस्या नदेखिएको उनको भनाई छ । हामीले भुक्तानी सेवा प्रदायक कम्पनीसँग यस विषयमा बुझ्ने प्रयास गरेका थियौं । 

खल्तीका सीईओ विनय खड्काले यस विषयमा के भएको रहेछ, बुझेर जानकारी दिने बताए ।

मेरो डाक्टरले बीर, बीएन्डबी, त्रिवि प्रशिक्षण, सिभिल, मनमोहन कार्डियोथोरासिक, बीपी कोइराला, धुलिखेल, कान्ति, सुमेरु, ट्रमा सेन्टर, काठमाडौं मेडिकल कलेज लगायतका ठूला अस्पतालको अनलाइन टिकट बुकिङको सुविधा उपलब्ध गराउँदै आएको छ ।

अपडेटः सीईओ खड्काका अनुसार ओटीपी कोड नआउँदा अस्पतालको अनलाइन टिकट लिन नमिल्ने समस्या समाधान भएको छ । 

पछिल्लो अध्यावधिक: साउन २३, २०८० १३:४१