close

ट्यारिफ परिमार्जन, फोरजी विस्तारसँगै सस्तो डेटा प्याकेज दिंदा आम्दानी घटेको होः टेलिकम

टेकपाना टेकपाना

साउन ३१, २०८० १४:४३

ट्यारिफ परिमार्जन, फोरजी विस्तारसँगै सस्तो डेटा प्याकेज दिंदा आम्दानी घटेको होः टेलिकम

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले दूरसञ्चार सेवा तर्फको आफ्नो आम्दानी घटेको विषयमा स्पष्टीकरण दिएको छ । गत आर्थिक वर्ष २०७९/०८० को वित्तीय विवरण सार्वजनिक भएसँगै कम्पनीले दूरसञ्चार सेवाबापतको आम्दानी र नाफा घट्नुको कारण पेश गरेको हो ।

अघिल्लो वर्षको तुलनामा सेवा सञ्चालनसँग प्रत्यक्ष रूपमा सम्बन्धित खर्च वृद्धि भएको र देशभित्रको अन्तरआवद्धता (ट्यारिफ) शुल्कमा भएको परिमार्जन, कम्पनीले देशभर फोरजी सेवा विस्तारसँगै डेटाको पहुँच वृद्धि भएको र सस्तो दरका डेटा प्याकेज बढ्दै गएका कारण ओटीटी सेवाको प्रयोगमा थप वृद्धि भएको कारण अन्तरआवद्धता आयमा ६८ करोड ३७ लाख रुपैयाँले कमी भएको उल्लेख छ ।

त्यस्तै प्रतिकूल मौसमको असरले गर्दा विद्युत् आपूर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसकेकाले साइटहरू समयमै सञ्चालन हुन नसक्दा र आर्थिक ऐन २०७९ मार्फत परिवर्तन गरिएको दूरसञ्चार सेवा दस्तुरका कारण समेत राजस्वमा तुलनात्मक रूपले कमी आएको टेलिकमको भनाई छ ।

यसका साथै क्षमता अभिवृद्धिका कार्यक्रम र गत वर्ष कर्मचारीको तलबमा भएको वृद्धिका कारण यस वर्ष कर्मचारीसँग सम्बन्धित निवृत्तिभरण व्यवस्थामा वृद्धि भएको छ । त्यस्तै विभिन्न निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत,स्थानान्तरण तथा नगरपालिका र वडा कार्यालयले गर्ने केवल व्यवस्थापनका कार्यबाट समेत कम्पनीको सेवा प्रवाह गर्ने कार्यमा प्रभाव परेकाले पनि आम्दानी घट्न पुगेको उल्लेख छ ।

त्यस क्रममा कतिपय संरचनामा क्षति पुग्ने गरेको तथा नेटवर्क विस्तारमा समेत असर पर्ने गरेको छ । लागत बढी तथा प्रतिफल कम हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र त्यसले गर्दा लागत समेत बढिरहेको कम्पनीले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षमा कूल आम्दानी ४४ अर्ब ३७ करोड ४६ लाख ५६ हजार रहेकोमा गत आवमा कम्पनीको कूल आय ४९ करोड ३६ लाख १६ हजारले वृद्धि भई ४४ अर्ब ४६ करोड ८२ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै अघिल्लो आर्थिक वर्षमा कम्पनीको कूल सञ्चालन आय ३७ अर्ब ९१ करोड ९४ लाख ८९ हजार रहेकोमा चालू आर्थिक वर्षमा एक अर्ब ११ करोड ५८ लाख ५८ हजार रुपैयाँले कमी आएको छ । जुन २.९४ प्रतिशत हो ।

जसले गर्दा आर्थिक वर्ष २०७८/०७९ मा नेपाल टेलिकमको कूल सञ्चालन आय ३६ अर्ब ८० करोड ३९ लाख ३० हजार रुपैयाँमा खुम्चिन पुगेको छ । साथै पछिल्लो समय कम्पनीको मुनाफा समेत घटेको छ ।

अघिल्लो आर्थिक वर्षमा आठ अर्ब ४७ करोड सात लाख ३३ हजार रुपैयाँ रहेको टेलिकमको मुनाफा गत आर्थिक वर्षमा ६६ करोड ६२ लाख सात हजार रुपैयाँ अर्थात् ७.८६ प्रतिशतले घटेको छ ।

जसले गर्दा टेलिकमको मुनाफा सात अर्ब ८० करोड ४५ लाख २६ हजार रुपैयाँमा खुम्चिन पुगेको वित्तीय प्रतिवेदनले देखाएको छ ।

पछिल्लो अध्यावधिक: साउन ३१, २०८० १४:४३