close

सीडीएमए छाड्ने ग्राहकलाई दैनिक १५ जीबी डेटा सहित नमस्ते वाई-फाई प्याकेज

टेकपाना टेकपाना

साउन ३१, २०८० १६:५३

सीडीएमए छाड्ने ग्राहकलाई दैनिक १५ जीबी डेटा सहित नमस्ते वाई-फाई प्याकेज

काठमाडौं । नेपाल टेलिकमले सीडीएमए फिक्स्ड फोन प्रयोगकर्ताहरूलाई फोरजी/एलटीई नेटवर्कमा रुपान्तरण गर्न नयाँ प्याकेज ल्याएको छ । भदौ १ देखि लागू हुने यो प्याकेज अन्तर्गत सीडीएमए फिक्स्ड फोन प्रयोग गरिरहेका ग्राहकले टेलिकमको नमस्ते वाई-फाई प्याकेज प्रयोग गर्न सक्नेछन् ।

सीडीएमए ग्राहकका लागि कम्पनीले अनलिमिटेड बेसिक र अनलिमिटेड प्रिमियममध्ये एक प्याकेज प्रयोग गर्न सकिने सुविधा ल्याएकाे छ ।

अनलिमिटेड बेसिक अन्तर्गत दैनिक रुपमा ५ एमबीपीएस गतिसम्मको १० जीबी डेटा उपलब्ध हुनेछ । सो प्याकेजका लागि नयाँ जडान शुल्क अर्धवार्षिक अवधिका लागि रु. ५,९९९ र वार्षिक अवधिका लागि रु. १०,४९९ तोकिएको छ । ​त्यसैगरी यसको महसुल अर्धवार्षिक अवधिका लागि रु. ४,९९९ र वार्षिक अवधिका लागि रु. ९,४९९ ताेकिएकाे छ ।

त्यसैगरी अनलिमिटेड प्रिमियम अन्तर्गत दैनिक रुपमा १० एमबीपीएस गतिसम्मको १५ जीबी डेटा उपलब्ध हुनेछ । सो प्याकेजका लागि नयाँ जडान शुल्क अर्धवार्षिक अवधिका लागि रु. ८,९९९ र वार्षिक अवधिका लागि रु. १६,४९९ हुनेछ । त्यसैगरी यसको महसुल अर्धवार्षिक अवधिका लागि रु. ७९९९ र वार्षिक अवधिका लागि रु. १५, ४९९ तोकिएको छ ।

यी सबै प्याकेज लिने ग्राहकलाई थप रकम नलिई आवश्यक फोरजी एलटीई सीपीईसमेत उपलब्ध गराइने कम्पनीले जनाएकाे छ ।

नयाँ जडान अन्तर्गत यसरी अर्धवार्षिक अवधिको प्याकेज लिने ग्राहकलाई प्रतिमहिना ४०० मिनेट कम्पनीको नेटवर्कभित्र (अन-नेट) र १०० मिनेट अन्य नेटवर्कमा (अफ-नेट) तथा वार्षिक प्याकेज लिने ग्राहकलाई प्रतिमहिना कम्पनीको नेटवर्कभित्र अनलिमिटेड र अन्य नेटवर्कमा १०० मिनेट कल गर्ने सुविधा निःशुल्क उपलब्ध हुनेछ ।

यसरी उपलब्ध हुने १० जीबी वा १५ जीबी डेटा सकिएको अवस्थामा उच्च गतिको डेटा चलाउन चाहनेहरूका लागि रू. ५० मा २४ घण्टा समयावधि सम्म चलाउन मिल्ने १० जीबी डेटा अन प्याकको रुपमा उपलब्ध हुने कम्पनीले जनाएकाे छ ।

नेपाल टेलिकमले पहिलेदेखि नै सीडीएमए प्रिपेड वा पोस्टपेड प्रयोगकर्तालाई जीएसएम प्रिपेड वा पोस्टपेडमा रुपान्तर हुँदा 'सीडीएमए माइग्रेसन प्याकेज' उपलब्ध गराइरहेको छ ।

यदि सीडीएमए फिक्स्ड फोन प्रयोगकर्ताहरुले माथिको प्याकेज लिन नचाहेमा सोही अनुसारको सीडीएमए माइग्रेसन प्याकेज लिन सक्नेछन् । यस अन्तर्गत प्रिपेड ग्राहकलाई मासिक रुपमा ३०० मिनेट अन-नेट भ्वाइस कल गर्न, ४ जीबी डेटा चलाउन र ३०० अन-नेट एसएमएस पठाउने सुविधा ६ महिनासम्म उपलब्ध हुनेछ ।

त्यसैगरी पोस्टपेड ग्राहकलाई मासिक रुपमा ४०० मिनेट अन-नेट भ्वाइस कल गर्न ५० मिनेट अफ-नेट भ्वाइस कल गर्न, ६ जीबी डेटा चलाउन र २०० अन-नेट एसएमएस पठाउने सुविधा ६ महिनासम्म उपलब्ध हुनेछ ।

दूरसञ्चारको क्षेत्रमा भएका वाईम्याक्स, सीडीएमए लगायत वायरलेस सेवाका विभिन्न प्रविधिहरू सबै जीएसएम अन्तर्गतको फोरजी/एलटीई प्रविधिमा एकीकृत हुँदै आएका छन् । टेलिकमले गत २०८० असार मसान्तदेखि लागू हुने गरी सीडीएमए सेवा बन्द गरेको छ ।

प्रविधिको विकासक्रम अनुसार विश्वव्यापी रूपमा फोरजी/एलटीईको प्रयोग बढ्दै गएको र सीडीएमए प्रविधिको थप अनुसन्धान र विकास नभई उपकरण उत्पादनमा समेत कमी आइरहेको अवस्थामा टेलिकमले सीडीएमए सेवा बन्द गरी ती ग्राहकहरूलाई नयाँ सेवामा रूपान्तरण गर्ने याेजना ल्याएकाे हाे ।

पछिल्लो अध्यावधिक: साउन ३१, २०८० १७:३१