close

टेलिकमको सेवा सुधार्न छ महिनादेखि छलफल र अन्तरक्रिया गरिरहेकी छुः मन्त्री शर्मा

टेकपाना टेकपाना

भदौ ३, २०८० १२:५०

टेलिकमको सेवा सुधार्न छ महिनादेखि छलफल र अन्तरक्रिया गरिरहेकी छुः मन्त्री शर्मा

प्युठान । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमको सेवा सुधारका लागि आफू लागि परेको बताएकी छन् । प्युठानको माण्डवी गाउँपालिका-३ जसपुरमा नेपाल टेलिकमको एफटीटीएच सेवा उद्घाटन गर्दै उनले आफू मन्त्री भएयता त्यसका लागि निरन्तर छलफल र अन्तरक्रिया गरिरहेको जनाएकी हुन् । 

आफूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्हालेपछि टेलिकमको सेवा सुधारलाई प्राथमिकतामा राखेको उनको भनाई थियो । “मैले मन्त्री भए पछिको पहिलो निर्णय नै टेलिफोन सेवा सुधारमा केन्द्रित हुने गरेकी थिएँ । छ महिनाको अवधिमा निरन्तर टेलिकमका अधिकारसँग छलफल गर्नेदेखि सेवाग्राहीकै बिचमा पुगेर  अन्तर्क्रिया गर्नेसम्मका काम गरिएको छ,” उनले भनेकी छन् । 

गाउँ सहर सबैतिर सेवा विस्तारमा ध्यान दिन टेलिकमका अधिकारीहरूलाई आग्रह गर्दै मन्त्री शर्माले जतिसक्दो धेरै उपभोक्तालाई प्रविधिसँग जोड्नुपर्ने बताइन् । “यो वर्षदेखि टेलिकमले उपभोक्ताको गुनासो सुनुवाइलाई प्राथमिकतामा राख्ने नीति लिएको छ,” उनले भनिन्, “सेवा प्रवाहमा समस्या आउँदा तत्काल गुनासोको सुनुवाइ गर्दा सेवाग्राहीले सेवा प्राप्त गरेको महसुस गर्नेछन् ।”

कार्यक्रममा माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारीले सञ्चार सेवा जनताको अधिकार भएको बताउँदै टेलिकमको सेवा नपुगेका स्थानहरूमा सेवा पुर्‍याउन र सेवालाई प्रभावकारी बनाउन मन्त्री शर्मा र टेलिकमका अधिकारीलाई आग्रह गरे ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्रालय सहसचिव बाबुराम भण्डारी, नेपाल टेलिकम वायरलेस सेवा निर्देशक  मिनु प्रधान, व्याकबोन प्रसारण निर्देशक बिनिता श्रेष्ठ, जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला निकायको उपस्थिति रहेको थियो । 

 प्युठानको खलङ्गा, बिजुवार र भिङ्ग्रीमा एफटीटीएच सेवा यस अघि नै विस्तार भइसकेको छ । 

 

पछिल्लो अध्यावधिक: भदौ ३, २०८० १२:५०