close

२ वर्ष पुराना र प्रयोग भइसकेका थोत्रा राउटर नेपाल ल्याउँछन् इन्टरनेट सेवा प्रदायक

टेकपाना टेकपाना

भदौ ३, २०८० १४:१

२ वर्ष पुराना  र प्रयोग भइसकेका थोत्रा राउटर नेपाल ल्याउँछन् इन्टरनेट सेवा प्रदायक

काठमाडौं । केही इन्टरनेट सेवा प्रदायक कम्पनीले दुई वर्षभन्दा पुराना तथा प्रयोग भइसकेका राउटर नेपाल भित्र्याउने गरेको पाइएको छ । अन्य इन्टरनेट सेवा प्रदायकको तर्फबाट नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाइएको प्रतिवेदनमार्फत यस्तो जानकारी गराइएको हो । 

जसमा उत्पादक कम्पनीको ब्रान्ड नाम नभएका, रिफर्बिस्ड र प्रयोग भइसकेका पुराना राउटर नेपाल भित्रिरहेको भन्दै त्यसलाई नियन्त्रण गर्नुपर्ने सुझाव पेश दिइएको छ । समितिले ओईएम (वास्तविक उपकरण निर्माता) को कागजातका आधारमा टाइप एप्रुभल गर्न , टाइप एप्रुभललाई उचित किसिमले नियमन र प्रमाणीकरण गर्न, टाइप एप्रभुल बिनाका एलसीमाथि प्रतिबन्ध लगाउन समेत सुझाव दिइएको छ ।

त्यस्तै गुणस्तरहीन तथा अवास्तविक उपकरण तथा आयातकर्तालाई निषेध गर्न, भन्सारसँग उचित किसिमको समन्वय कायम गर्न, भन्सार प्रवेश विन्दुमा उपकरण प्रमाणीकरणको व्यवस्था गर्न, मोडल नम्बर तथा सिरियल नम्बरको आधारमा नेपाल दूरसञ्चार प्राधिकरणको डेटाबेस तयार पार्ने लगायतका सुझाव समेत प्रतिवेदनमा समावेश छन् ।

त्यस्तै टाइप एप्रभुल बिना नै राउटरहरू आयात हुने गरेको, वास्तविक तथा आधिकारिक आयातकर्ताको प्रमाणीकरण नै नहुने गरेको, टाइप एप्रुभल बिना एलसी जारी गर्ने गरिएको र रिफर्बिस्ड तथा प्रयोग भइसकेका उपकरण आयात भइरहेको जस्ता समस्या समेत उजागर गरिएका छन् ।

यसबाट वास्तविक वितरक तथा उपकरण निर्माता कम्पनीले उल्लेखनीय व्यावसायिक घाटा सहनु परेको उल्लेख छ । त्यस्तै यसबाट इन्टरनेट सेवा प्रदायकबिच स्वस्थ प्रतिस्पर्धाको वातावरण समेत बन्न सकेको छैन ।

त्यति मात्र होइन, रिफर्बिस्ड तथा पुराना प्रयोग भइसकेका राउटरहरू आयात हुँदा त्यसले ग्राहकको अनुभव बिग्रिने गरेको र त्यस्तो कार्य उपभोक्ताको अधिकार विपरीत समेत हुन जान्छ ।

त्यस्तै वातावरणमा गम्भीर किसिमको जोखिम निम्त्याउनुका साथै नेपाल विद्युतीय फोहोरमैलाको डम्पिङ साइट समेत हुन थालेको छ ।

साथै यस्ता उपकरणहरू वास्तविक मूल्य भन्दा आधा वा आधाभन्दा सस्तो मूल्याङ्कनमा भित्रिने भएकाले त्यसबाट राज्यले समेत ठूलो राजस्व गुमाउनु परेको छ । अध्ययन प्रतिवेदनले दुई वर्षभन्दा पुराना उपकरण नेपाल भित्रिईरहेको तथ्य समेत बाहिर ल्याएको छ ।

यद्यपि कुन कुन कम्पनीले यस्ता राउटर नेपाल भित्र्याइरहेका छन् भन्ने विषय भने प्रतिवेदनमा खुलाइएको छैन । नियामकले प्रतिवेदनले दिएका सुझाव अनुसार रिफर्बिस्ड तथा पुराना राउटर आयात गर्ने कार्य नियन्त्रण गरिने बताएको छ । 

 

*यसअघि यो समाचारमा भुलवश सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको प्रतिवेदन हुन गएकाले सच्याइएको छ । यसबाट पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौं । -स.

पछिल्लो अध्यावधिक: भदौ ३, २०८० १६:३१