काटमाठौं । स्मार्टफोन निर्माता रियलमीले नयाँ फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले सोमबार चीनमा एक कार्यक्रम गर्दै २४ जीबी र्याम तथा २४० वाटसम्म फास्ट चार्जिङ सपाेर्ट भएकाे रियलमी जीटी फाइभ (Realme GT5) सार्वजनिक गरेको हो ।
जीटी सिरिजअन्तर्गत अहिलेसम्मकै शक्तिशाली फोनका रूपमा कम्पनीले यस मोडेललाई अघि सारेको छ । यसमा १२ जीबी र्याम तथा २५६ जीबी स्टोरेज, १६ जीबी र्याम तथा ५१२ जीबी स्टोरेज र २४ जीबी र्याम तथा १ टीबी स्टोरेज गरी तीन भेरियन्ट रहेका छन् ।
साथै कम्पनीले फोनमा २४० वाटसम्म क्षमता भएकाे फास्ट चार्जिङ प्रविधि राखेको छ, जसले केही मिनेटमै ब्याट्री फुल चार्ज हुने बताइएको छ ।
रियलमी जीटी फाइभमा १४४ हर्ज रिफ्रेस रेट भएकाे ६.७४ इन्चकाे फुल एचडी डिस्प्ले छ भने स्न्यापड्रागन एट जेन टु प्राेसेसर छ ।
यसमा सोनी आईएमएस ८९० सेन्सर भएको ५० मेगापिक्सेलको मुख्य क्यामेरा छ भने ८ मेगापिक्सेलको वाइड एंगल क्यामेरा र २ मेगापिक्सेलको म्याक्रो क्यामेरा रहेको छ । सेल्फीका लागि सामसङ सेन्सर भएको १६ मेगापिक्सेलको क्यामेरा छ ।
यो फोन दुई ओटा ब्याट्री र चार्जिङ कन्फिगुरेसनमा उपलब्ध हुनेछ । यसअन्तर्गत ५,२४० एमएएच ब्याट्री भएको फोनले १५० वाटको फास्ट चार्जिङ र ४,६०० एमएएच ब्याट्री भएको फोनले २४० वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ ।
कति छ मूल्य ?
सेप्टेम्बर ४ देखि चिनियाँ बजारमा बिक्री सुरु हुने यो फोनको मूल्य १२+२५६ जीबी भेरियन्टको २,९९९ यूआन (करिब साढे ५४ हजार रुपैयाँ), १६+५१२ जीबी भेरियन्टको ३,२९९ यूआन (करिब साढे ६० हजार रुपैयाँ) र २४ जीबी+१ टीबी भेरियन्टको ३,७९९ यूआन (करिब साढे ६९ हजार रुपैयाँ) तोकिएको छ ।