close

युट्युबबाट मोबाइल तथा कम्प्युटरमा म्युजिक तथा भिडिओ डाउनलोड गर्न मिल्ने एप

टेकपाना टेकपाना

भदौ १२, २०८० १६:१०

युट्युबबाट मोबाइल तथा कम्प्युटरमा म्युजिक तथा भिडिओ डाउनलोड गर्न मिल्ने एप

काठमाडौं । अहिलेको समयमा इन्टरनेटमा गीत सङ्गीतका लागि युट्युब सबैभन्दा उत्कृष्ट स्रोत हो । यसमा ठूलो सङ्ख्यामा गीत संकलन मात्रै गरिएका छैनन्, तपाईंले अन्यत्र कतै नपाउने दुर्लभ ट्रयाक पनि पाउन सक्नुहुन्छ ।

यदि तपाईं युट्युबबाट कुनै गीत डाउनलोड गरेर इन्टरनेट नभएको अवस्थामा समेत सुन्न चाहनुहुन्छ भने आज हामी तपाईंलाई त्यसका लागि केही एपको विषयमा बताउँदै छौं ।

युट्युब प्रिमियम खरिद गरी युट्युबबाट गीत डाउनलोड गर्नुहोस्

युट्युबबाट गीत डाउनलोड गर्ने सबैभन्दा विश्वसनीय तरिका त्यसका लागि शुल्क तिर्नु नै हो । तपाईंले यसका लागि एक महिनाको निःशुल्क ट्रायलसँगै मासिक ३.४९ अमेरिकी डलरमा युट्युब प्रिमियम पाउन अथवा मासिक २.९९ अमेरिकी डलरमा युट्युब म्युजिक प्रिमियम खरिद गर्न सक्नुहुन्छ । दुवै सेवामा तपाईंले विज्ञापन हटाउने लगायत युट्युबमा रहेका म्युजिक डाउनलोड गर्ने सुविधा पाउन सक्नु हुनेछ ।

युट्युब प्रिमियम अन्तर्गत प्लेटफर्ममा भिडिओ वरपर विभिन्न फिचर होस्ट गरिएका हुन्छन् । यदि तपाईं म्युजिक चाहनुहुन्छ भने केही रकम जोगिने युट्युब म्युजिक प्रिमियम लिन पनि सक्नु हुन्छ ।

युट्युबबाट म्युजिक डाउनलोड गर्ने अन्य तौरतरिका अनधिकृत हुन् र तिनले युट्युबको सेवा तथा सर्त समेत अलङ्घन गर्न सक्छन् । तर युट्युबले त्यसका लागि तपाईंलाई त्यति साह्रो रोक्न भने सक्दैन । केवल तपाईंले कपी राइट भएका सामग्री डाउनलोड गरी अपलोड नगरिदिए पुग्छ ।

यस बाहेक अनधिकृत युट्युब डाउनलोडर प्रयोग गर्दा त्यस्ता एप खराम मानसिकता भएका डेभलपरले तयार पारेका हुन् भने तपाईंको साइबर सुरक्षा खतरामा पर्न सक्छ । त्यसैले सधैं इन्टरनेटबाट अनधिकृत एपहरू डाउनलोड गर्नुअघि परिष्कृत अनुसन्धान भने गर्ने बानी बसाल्नुहोस् । यति भन्दै यहाँ केही हदसम्म विश्वास गर्न सकिने विकल्प प्रस्तुत गर्दै छौं । 

एन्ड्रोइडमा युट्युबबाट यसरी डाउनलोड गर्नुहोस् युट्युब

यदि तपाईंसँग एन्ड्रोइड फोन छ भने युट्युबबाट गीत डाउनलोड गर्न न्युपाइप नामक एप प्रयास गर्न सक्नुहुन्छ । यो एप इन्स्टल गर्न तपाईंले आफ्नो एन्ड्रोइड फोनमा साइडलोडिङ अर्थात् थर्डपार्टी एप डाउनलोड गर्ने अनुमति दिनुपर्ने हुन्छ ।

जब तपाईं यो एप इन्स्टल गरिसक्नु हुन्छ, तपाईंले त्यसमा देखिने प्रत्येक युट्युब भिडिओसँगै डाउनलोड बटन देख्न सक्नु हुनेछ । उक्त बटनमा ट्याप गरेसँगै म्युजिक मात्रै डाउनलोड गर्न अडिओ र भिडिओ सहित डाउनलोड गर्न भिडिओ लगायतका विकल्प पाउनु हुनेछ ।

कम्प्युटरमा युट्युब म्युजिक डाउनलोड गर्न

तपाईं आफ्नो ल्यापटप अथवा डेस्कटपममा युट्युबबाट म्युजिक डाउनलोड गर्न फोरकेयुट्युब टु एमपी थ्री (4K YouTube to MP3) एप डाउनलोड गर्न सक्नु हुन्छ । यो एकदमै सजिलो छ, तपाईंले युट्युब भिडिओका यूआरएल कपी गरी उक्त एपमा पेस्ट गरे पुग्छ ।

यो एपले डिफल्ट रूपमा म्युजिकलाई एमपी थ्री फर्म्याटमा डाउनलोड गर्छ । यदि तपाईंले चाहनु भयो भने एमफोरए अथवा ओजीजी फर्म्याटमा परिवर्तन पनि गर्न सक्नु हुन्छ ।

यो एपको निःशुल्क भर्सनले तपाईंलाई प्रति दिन १५ ओटासम्म डाउनलोड गर्ने अनुमति दिन्छ । जुन अधिकांशलाई पर्याप्त नै होला । तर एकसाथ ठूलो प्लेलिस्ट डाउनलोड गर्ने प्रयासमा हुनुहुन्छ भने यसमा समस्या हुन सक्छ । १५ अमेरिकी डलर तिरेर स्थायी लाइसेन्स लिने हो भने यो एपले डाउनलोडको सीमा हटाइदिन्छ ।

पछिल्लो अध्यावधिक: भदौ १२, २०८० १८:११