close

रुटिन अफ नेपाल बन्दको फेसबुक पेज, थ्रेड र इन्स्टाग्राम गायब

टेकपाना टेकपाना

भदौ १८, २०८० १७:३९

रुटिन अफ नेपाल बन्दको फेसबुक पेज, थ्रेड र इन्स्टाग्राम गायब

काठमाडौं । नेपालमा चर्चित फेसबुक पेज रुटिन अफ नेपाल बन्द हटेको छ । पेजका सञ्चालक भिक्टर पौडेलले फेसबुकमा एक पोस्ट राख्दै बोल्ड डिसिजन लिन लागेको बताएका थिए । 

उनको पोस्ट आए लगत्तै रुटिन अफ नेपाल बन्द फेसबुक, इन्स्टाग्राम, थ्रेड्स जस्ता मुख्य सामाजिक सञ्जालमा प्लेटफर्ममा देखिन छोडेको छ । तर टिकटक, युट्युब, एक्स (ट्वीटर), मोबाइल एप र वेबसाइटमा भने यो समाचार तयार पार्दासम्म रुटिन अफ नेपाल बन्द कायमै थियो ।

यद्यपि उनको पोस्ट र सामाजिक सञ्जालबाट रुटिन अफ नेपाल बन्द हट्ने विषयबीचको सम्बन्ध के कति छ भन्ने कुरा स्पष्ट भने भइसकेको छैन । भिक्टर पौडेलसँग यस विषयमा कुराकानी गर्न खोज्दा सम्पर्क हुन सकिरहेको छैन ।

आइतबार काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) लाई पुत्री लाभ भएको भन्दै गरेको रुटिन अफ नेपाल बन्दको पोस्ट विवादित समेत बनेको थियो ।शनिवार राति मेयर बालेनले सिंहदरबारमा आगो लगाउने धम्की दिएपछि उक्त विषय सामाजिक सञ्जालमा चर्को बहसमा तानिएको थियो । 

रुटिन अफ नेपाल बन्दबाट गरिएको पुत्री लाभ सम्बन्धी गरेको पोस्ट बालेनलाई जोगाउनका लागि गरिएको लख कतिपयले काटेका थिए । रुटिन अफ नेपाल बन्द यसरी पहिलो पटक अचानक गायब भएको हो । 

रुटिन अफ नेपाल बन्द सधैंका लागि बन्द भएको हो वा अस्थायी रूपमा निष्कृय पारिएको हो भन्ने विषय पनि स्पष्ट हुन बाँकी छ । अर्को पोस्ट गर्दै सञ्चालक पौडेलले कुनै स्वार्थले पेज नखोलेको उल्लेख गरेका छन् । "अब अट्याक गर्नु पर्दैन," उनले असन्तुष्टि पोख्दै अगाडि भनेका छन् , "अब म स्वतन्त्र छु... मलाई एक्लै रहन देऊ ।" 

तर उनले सामाजिक सञ्जालमा भइरहेको आलोचनालाई अट्याक (आक्रमण) भनेका हुन् अथवा भौतिक रूपमा नै कुनै किसिमको धम्की आएको हो भन्ने कुरा भने स्पष्ट खुलाएका छैनन् । 

उनले राखेको पछिल्लो पोस्टमा पेज डिलिट गरेको नभई अनपब्लिस्ड अर्थात् अप्रकाशित अवस्थामा राखेको देखिन्छ । जुन त्यसका एड्मिन तथा सञ्चालकले चाहेको खण्डमा जुनसुकै बखत पब्लिस्ड अर्थात् प्रकाशित मोडमा आउन सक्ने सम्भावना कायमै छ ।

रुटिन अफ नेपाल बन्दको फेसबुक पेजमा ४१ लाखभन्दा बढी फलोअर तथा ३७ लाखभन्दा बढी लाइक थियो । यद्यपि उक्त पेज नेपालकै सबैभन्दा धेरै इङ्गेजमेन्ट हुने मध्येको एक थियो ।

अपडेटः रुटिन अफ नेपाल बन्दको एक्स (ट्वीटर) अकाउन्ट पनि हटेको छ ।

पछिल्लो अध्यावधिक: भदौ १८, २०८० १८:२०