close

नेपाल-भारतका नागरिकले अब एकअर्को देशमा क्यूआरबाटै भुक्तानी गर्न सक्ने

टेकपाना टेकपाना

भदौ २१, २०८० १७:३४

नेपाल-भारतका नागरिकले अब एकअर्को देशमा क्यूआरबाटै भुक्तानी गर्न सक्ने

काठमाडौं । नेपाल-भारतका नागरिकले अब एकअर्को देशमा क्यूआरबाटै भुक्तानी गर्न सक्ने भएका छन् । नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली सञ्चालक फोनपे र नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (NPCI)को अन्तर्राष्ट्रिय शाखा‘ एनआईपीएल’बीच चाँडै नै नेपाल र भारतबीच क्रस बोर्डर क्यूआर भुक्तानी सेवा सुरु गर्ने साझेदारी भएकाे छ ।

‘ग्लोबल फिन्टेक फेस्ट २०२३’ कार्यक्रममार्फत यी दुई संस्थाबीच साझेदारीको घाेषणा गरिएकाे हाे । फोनपे र एनआईपीएल (NIPL) बीचको यस सहकार्यले दुवै देशका नागरिकलाई यी दुई नेटवर्कमा आबद्ध मोबाइल एप प्रयोग गरी विभिन्न स्टोरहरूमा क्यूआर कोडमार्फत भुक्तानी गर्न सघाउने बताइएकाे छ ।

यो सेवाका लागि दुवै संस्थाले सञ्चालन तयारी पूरा गरिसकेको र प्राविधिक एकीकृत कार्य अन्तिम चरणमा रहेको फाेनपेले जनाएकाे छ । प्राविधिक एकीकरणको काम सकिएपछि दुई संस्थाहरूले आफ्नो नेटवर्कमा आबद्ध सदस्यहरूलाई सेवा प्रदान गर्न सक्नेछन् । 

दुई संस्थाबीचको यस रणनीतिक साझेदारीले दुवै देशमा डिजिटल भुक्तानी परिवेशमा उल्लेख्य बढावा दिने फाेनपेको विश्वास छ ।

“यो उल्लेखनीय प्रक्षेपण, दुवै देशका नागरिकहरूको हितका लागि प्रविधिको प्रयोग गरी नेपाल र भारतबीचको वित्तीय सम्पर्क अभिवृद्धि गर्ने दिशामा महत्त्वपूर्ण कदम हो,” फोनपेका सभापति तथा एफवन सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले भने, “यो पहलले दुई देशबीचको व्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने र अन्तत: समृद्धि र विकासलाई बढावा दिनेछ भन्ने कुरामा म विश्वस्त छु ।”

यो सेवा कहिलेदेखि सुरु हुन्छ भन्ने चाहिँ खुलाइएको छैन ।

पछिल्लो अध्यावधिक: भदौ २१, २०८० १७:४७