close

आईफोन १२ मा रेडियसन समस्या, फ्रान्समा प्रतिबन्ध लागेपछि सफ्टवेयर अपडेट गर्दै एप्पल

टेकपाना टेकपाना

असोज २, २०८० १७:०

आईफोन १२ मा रेडियसन समस्या, फ्रान्समा प्रतिबन्ध लागेपछि सफ्टवेयर अपडेट गर्दै एप्पल

काठमाडौं । रेडियसनको समस्या देखिएको भन्दै फ्रान्सले आईफोन १२ को बिक्रीमा रोक लगाएपछि एप्पलले त्यसप्रति प्रतिक्रिया देखाएको छ । कम्पनीले त्यसको प्रतिक्रिया स्वरूप सन् २०२० मा उत्पादित आईफोनमा रहेको उक्त समस्या आउँदो सफ्टवेयर अपडेटमार्फत समाधान गर्ने प्रतिबद्धता जनाएको हो ।

उक्त फोनले निर्धारित सार (स्पेसिफिक एब्जर्ब्सन रेट) को अधिकतम सीमा पार गरेको दाबी गर्दै गत हप्ता मात्रै फ्रान्सले आफ्नो देशमा आईफोन १२ बिक्री रोक्न निर्देशन जारी गरेको थियो । रेडियो फ्रिक्वेन्सी नियमन गर्ने फ्रान्सेली निकायले बजारबाट उक्त मोडेलका आईफोन फिर्ता लैजान औपचारिक सूचना नै जारी गरेको छ ।

आईफोन निर्माताले फ्रान्सको खोजीको विषयको प्रतिवाद गर्दै आईफोन १२ ले सारको विश्वव्यापी मापदण्ड प्रणामीकरण प्राप्त गरेको बताएको थियो । यद्यपि, कम्पनीले उक्त डिभाइसमा समस्या समाधान गर्न सफ्टवेयर अपडेट पठाउने प्रतिबद्धता समेत जनाएको छ ।

"फ्रान्सेली नियामकले प्रयोग गरेको प्रोटोकल मिलाउन फ्रान्समा रहेका प्रयोगकर्ताको समस्या समाधानका लागि हामी सफ्टवेयर अपडेट जारी गर्दै छौं । फ्रान्समा आईफोन १२ नियमित रूपमा उपलब्ध हुने कुरामा आशावादी छौं," एप्पलले एक वक्तव्यमा भनेको छ (रोयटर्समार्फत) ।

"यो विषय फ्रान्सेली नियामकले प्रयोग गरेको परीक्षणको विशेष प्रोटोकलसँग सम्बन्धित छ र यो कुनै सुरक्षा सरोकारको विषय होइन ।" त्यसको जवाफमा फ्रान्सेली सरकारले सफ्टवेयर अपडेट पश्चात् पुनः आईफोन १२ परीक्षण गर्ने र आफ्नो देशको विकिरण उत्सर्जन मापदण्डभित्र परे बिक्री निरन्तरताका लागि अनुमति दिने बताएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०८० १७:०