डीगो र हिमालयन स्पोर्ट्सको उपहार योजना, विश्वकप हेर्नेलाई मेस्सी, रोनाल्डो र नेयमारको हस्ताक्षरित जर्सीदेखि भियतनाम भ्रमणसम्मका अवसर
असार १०, २०८३ २१:०
काठमाडौं । विश्व फुटबलका स्टार लियोनेल मेस्सीको जन्मदिनको अवसर पारेर डीगो एप र हिमालयन स्पोर्ट्सले फुटबल प्रेमीहरूका लागि उपहार योजना सार्वजनिक गरेका छन् । अनधिकृत तथा पाइरेटेड स्ट्रिमिङ प्लेटफर्महरूलाई निरुत्साहित गर्दै दर्शकहरूलाई आधिकारिक च्यानलमार्फत फिफा विश्वकप २०२६ को उत्कृष्ट अनुभव दिलाउने उद्देश्यले ‘अल्टिमेट सब्स्क्राइबर गिभअवे’ नामक अभियान सुरु गरिएको हो ।
यस योजना अन्तर्गत डीगो एपमार्फत ‘सिजन पास’ खरिद गर्ने ग्राहकले लियोनेल मेस्सीको हस्ताक्षर भएको अर्जेन्टिनाको आधिकारिक जर्सीसहितका विभिन्न बहुमूल्य बम्पर उपहारहरू जित्ने मौका पाउने बताइएको छ ।
विश्वकपको उत्साहलाई हरेक चरणमा थप रोमाञ्चक बनाउन आयोजकले पुरस्कारहरूलाई दुई श्रेणीमा विभाजन गरेको छ ।
‘सिजन पास’ खरिद गर्ने विजेताहरूका लागि लियोनेल मेस्सीको हस्ताक्षरित जर्सी (जुन विशेष गरी सेमिफाइनलको समयमा उपलब्ध गराइनेछ), क्रिस्टियानो रोनाल्डोको हस्ताक्षर भएको पोर्चुगलको जर्सी र नेयमारको हस्ताक्षरित ब्राजिलको आधिकारिक जर्सी मुख्य आकर्षण रहेका छन् ।
यसका साथै सिजन पास विजेताले एक जोडीका लागि भियतनाम टुर प्याकेज, ५५ इन्चको स्मार्ट टिभी र मौलाकाली रिसोर्टमा एक रातको डिलक्स बसाई (जोडीका लागि) समेत जित्न सक्नेछन् ।
त्यसैगरी, ‘मोबाइल पास’ खरिद गर्ने ग्राहकलाई लक्षित गरी आयोजकले छुट्टै पुरस्कारहरूको व्यवस्था गरेको छ । मोबाइल पास विजेताहरूले पनि एक जोडीका लागि भियतनाम टुर प्याकेज, ५५ इन्च र ४३ इन्चका स्मार्ट टिभीहरू तथा नयाँ स्मार्टफोनहरू प्राप्त गर्न सक्नेछन् ।
यो बहु-स्तरीय पुरस्कार व्यवस्थाले मोबाइल र टेलिभिजन दुवै माध्यमबाट विश्वकप हेर्ने दर्शकहरूलाई समेट्ने विश्वास लिइएको छ ।
गिभअवेमा सहभागी हुन चाहने ग्राहकले तीनवटा सरल प्रक्रिया पूरा गर्नुपर्नेछ । पहिलो चरणमा डीगो एप डाउनलोड गरी आफ्नो अकाउन्ट रजिस्टर गर्नुपर्नेछ भने दोस्रो चरणमा एपबाट सिधै फिफा विश्वकप २०२६ हेर्नका लागि सिजन पास वा मोबाइल पास खरिद गर्नुपर्नेछ ।
साथै सहभागीहरूले डीगोको आधिकारिक सामाजिक सञ्जाल अकाउन्टहरू (फेसबुक, इन्स्टाग्राम र टिकटक) अनिवार्य रूपमा फलो गरेको हुनुपर्ने सर्त राखिएको छ ।
यो अभियान आगामी १५ जुलाई २०२६ सम्म सञ्चालन हुनेछ । यस प्रतियोगितामा नेपालभित्र बसोबास गर्ने सक्रिय डीगो प्रयोगकर्ता मात्र योग्य मानिने बताइएको छ । आयोजक कम्पनीका कर्मचारी, एजेन्ट, परामर्शदाता र उनीहरूका परिवारका सदस्यहरूलाई यस खेलमा सहभागी हुन वर्जित गरिएको छ ।
विजेताहरूको छनोट र प्रमाणीकरण प्रक्रिया डीगोको आन्तरिक टोलीद्वारा पूर्ण रूपमा निष्पक्ष ढंगले गरिने स्पष्ट पारिएको छ । साथै, विजेताले प्राप्त गरेको पुरस्कारलाई नगद वा अन्य कुनै सामानसँग साट्न नपाइने नियम समेत लागु गरिएको छ ।
पछिल्लो अध्यावधिक: असार १०, २०८३ २३:५७
