close

सिनेमाघर एपमा रिलिज भयो ‘जारी’ चलचित्र, शुल्क २०० रुपैयाँ

टेकपाना टेकपाना

असोज २८, २०८० १४:५३

सिनेमाघर एपमा रिलिज भयो ‘जारी’ चलचित्र, शुल्क २०० रुपैयाँ

काठमाडौं । ओटीटी प्लेटफर्म सिनेमाघरमा ‘जारी’ चलचित्र रिलिज भएको छ । दशैंको अवसर पारी कम्पनीले घटस्थापनाका दिन उक्त नेपाली चलचित्र रिलिज गरेको हो ।

सिनेमाप्रेमीले अत्यधिक माग गरेकाले दशैंको अवसर पारी चलचित्र सार्वजनिक गरेको सिनेमाघर कम्पनीका अध्यक्ष खगेन्द्र लामिछानेले बताए । उनका अनुसार नेपालबाट २०० रुपैयाँ र नेपाल बाहिरबाट दुई डलर भुक्तानी गरेर पनि चलचित्र हेर्न सकिने छ ।

“अहिले गुगल पेबाट पनि भुक्तानी गर्न सकिन्छ,” उनले भने, “नेपालमा गाह्रो हुने भए पनि बाहिर (विदेश) अत्यधिक प्रयोग हुने रहेछ । नेपाल बाहिरबाट खरिद गरेर हेर्न चाहनेलाई सजिलो भएको छ अहिले ।”

त्यसबाहेक ईसेवा, खल्ती, सेलपे, आईएमई पे, पेपाल, फोनपे, पेटीएम आदिबाट भुक्तानी गरी नेपालमा चलचित्रकाे सब्स्क्रिप्सन खरिद गर्न सकिन्छ । सब्सक्रिप्सन खरिद गरिसकेपछि दुई ओटा डिभाइसमा एक हप्तासम्म चलचित्र हेर्न सकिन्छ ।

ओटीटी प्लेटफर्ममा फिल्म तथा सिरिज सार्वजनिक हुँदा धेरैले उक्त फिल्म स्मार्ट टिभीमा हेर्न खोजिरहेका हुन्छन् । यही मागलाई मध्यनजर गर्दै फोनबाट स्क्रिनशेयर गरेर टिभीमा हेर्न सकिने सुविधा ल्याएको लामिछानेले जानकारी दिए ।

“स्क्रिन शेयर सपोर्ट हुने टिभीमा हेर्न सकियो,” उनले भने, “ब्राउजरबाट पनि सिनेमाघर मार्फत हेर्न सकिन्छ । पहिले सीमित टिभीमा मात्र थियो । अहिले सबैजसो टिभीमा सपोर्ट हुन्छ ।”

सन् २०१६ मा सुरु भएको सिनेमाघर एपमा २०२० देखि सब्स्क्रिप्सनको आधारमा फिल्म हेर्न सकिने फिचर ल्याइएको थियो । पछि सब्स्क्रिप्सन अनुसार कन्टेन्ट उपलब्ध गराउन नसकेपछि ‘पे पर कन्टेन्ट’ फिचर ल्याइएको लामिछानेले बताए ।

अबको केही समयपछि सिनेमाघर एप पुनः सब्स्क्रिप्सन मोडेलमा जाने उनको भनाइ छ । ‘जारी’ बाहेक सो प्लेटफर्ममा महापुरुष, कबड्डी ४, प्रेमगन्ज, दोख, मिसिङ ब्राइड, जय भोले, रोमियो एन्ड मुना, गरुड पुराण, रातो टिका निधारमा लगायतका चलचित्र आइसकेका छन् ।

अब लामिछानेको निर्देशन तथा लेखनमा तयार भएको फिल्म पानीफोटो छिट्टै सो प्लेटफर्ममा रिलिज हुने तयारीमा छ । सिनेमाघर एप डाउनलोड गर्न एन्ड्ररोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गर्नुहोस् । यो प्लेटफर्म वेबसाइटबाट समेत प्रयोग गर्न सकिन्छ । 

बासुरी फिल्म्सको ब्यानर, उपेन्द्र सुब्बाद्वारा लिखित र निर्देशित जारी चलचित्रलाई रामबाबु गुरुङले निर्माण गरेका हुन् । त्यस्तै दयाहाङ राई, मिरुना मगर, प्रेम सुब्बा, विजय बराल, रोयदीप श्रेष्ठ र रेखा लिम्बु लगायतको अभिनय रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २८, २०८० १५:०