close

छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्तन विधेयक ल्याउने मन्त्री महावीर पुनको निर्णय

टेकपाना टेकपाना

जेठ २८, २०८३ ८:२५

छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्तन विधेयक ल्याउने मन्त्री महावीर पुनको निर्णय

 

काठमाडौँ । नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले मन्त्रालयलाई कानुनी र प्रशासनिक रूपमा बलियो बनाउन नयाँ विधेयक ल्याउने निर्णय गरेका छन् । मङ्गलबार मन्त्री पदमा नियुक्त पुनले विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐन ल्याउनका लागि विधेयक तर्जुमा गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

पुनले लामो समयदेखि नेपालमा विज्ञान र प्रविधिको विकासका लागि छुट्टै र शक्तिशाली मन्त्रालय हुनुपर्ने माग राख्दै आन्दोलन र पैरवी गर्दै आएका थिए । उनको मागलाई सम्बोधन गर्दै सरकारले गत ३० वैशाखमा नेपाल सरकार (कार्य विभाजन) नियमावली २०८३ जारी गरी यो नयाँ मन्त्रालयको स्थापना गरेको थियो । यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीका रूपमा रहेका पुनले सो पदबाट राजीनामा दिएर स्वतन्त्र रूपमा निर्वाचन लडेका थिए ।

मन्त्री पुनका अनुसार यो मन्त्रालयमा अहिले सबै कुरा शून्यबाट सुरु गर्नुपर्ने अवस्था छ । अन्य स्थापित मन्त्रालयहरूमा जस्तो प्रशासनिक संरचना र तयारी नभएकाले मन्त्रालयलाई नियमित रूपमा चलाउन कति कर्मचारी आवश्यक पर्छ भन्ने यकिन गर्न सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (O&M) गर्ने निर्णय समेत उनले गरेका छन् ।

मन्त्री पुनले विभिन्न मन्त्रालयहरूमा छरिएर रहेका अनुसन्धान तथा नवप्रवर्तनका कार्यहरूलाई कसरी एकीकृत र प्रभावकारी बनाउने भन्ने विषयमा तत्कालै गहन छलफल सुरु गरिने जानकारी दिए । उनले मन्त्रालयको कामलाई छिटो र प्रभावकारी बनाउन आफू प्रतिबद्ध रहेको समेत बताएका छन् ।

पछिल्लो अध्यावधिक: जेठ २८, २०८३ ८:२५