close

बैंक खाताबाट ब्वाइफ्रेन्डको पैसा ट्रान्सफर गर्दा युवतीका बाउआमा समेतलाई तनाव !

टेकपाना टेकपाना

असोज ३०, २०८० १९:३५

बैंक खाताबाट ब्वाइफ्रेन्डको पैसा ट्रान्सफर गर्दा युवतीका बाउआमा समेतलाई तनाव !

काठमाडौं । प्रेमीलाई विश्वास गरी आफ्नो बैंक खाता दिँदा एक युवती कानूनी झमेलामा फसेकी छिन् । माया गरेकाे मान्छे अपराध (स्क्याम)मा संलग्न भएकाे थाहा नपाउँदा बुटवलकी ती युवतीमाथि अनलाइन ठगीकाे आरोप लागेको छ ।​

फेसबुकबाट चिनजान भई प्रेममा परेकी उनलाई एक दिन प्रेमी (युवक)ले बैंक खाता विवरण पठाउन भने । युवतीले पनि सजिलै सबै विवरण दिइन् । तर सुझबुझ नगरी बैंक खाता नम्बर दिँदा ती युवती उल्टै ठगीकाे आरोपी बन्न पुगेकी छन् ।

हालै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा एक महिला आफू अनलाइनबाट ठगिएको भन्दै उजुरी दिन आइन् । उनले उजुरी दिने क्रममा आफू कसरी ठगिएँ भनेर खुलाइन् ।

प्रहरीका अनुसार फेसबुकमा साथी बनेका नयाँ व्यक्तिका कारण उनी ठगीमा परेकी हुन् । आफूलाई राम्रो कम्पनीमा राम्रो पदमा रहेर काम गर्ने बताउने ती व्यक्तिले पार्सल पठाइदिन्छु भनेपछि ती महिलाले विश्वास गरिन् ।

पार्सलमा विभिन्न गरगहना, तीन हजार डलर लगायत अन्य महँगा सामग्री पठाएको भनिएको थियो । उनीसँग फेसबुकमा जोडिएर पार्सल पठाइदिने भन्ने व्यक्तिले भन्सार शुल्कका नाममा दुई लाख ४८ हजार रुपैयाँ उठाए । पछि पार्सल नआएपछि ती महिला ठगिएकाे महसुस गरी प्रहरी कार्यालयमा उजुरी हाल्न गइन् ।

कार्यालयमा आफूले रकम पठाएको बैंक खाता उल्लेख गरिन् । प्रहरीले अनुसन्धान गर्दै जाँदा उक्त खाता बुटवलकी एक युवतीको नाममा सञ्चालन भएको देखियो । प्रहरीले उनलाई सम्पर्क गरेर घटनाबारे बुझ्न खाेज्याे । त्यसपछि युवती छाँगोबाट खसेझैं भइन् ।

युवतीका आफन्तका अनुसार उनी करिब एक वर्षअघि फेसबुकमा एक युवकसँग जोडिएकी थिइन् । त्यसपछि कुरा हुँदै जाँदा उनीहरू नजिकका साथी भए । पछि उनीहरूको मित्रता प्रेममा परिणत भयो । युवतीले युवकलाई धेरै विश्वास गर्ने अवस्था आएपछि युवकले युवतीको बैंक खाता मागे । युवतीको बैंक खातामा कहीं अन्तैबाट रकम आउँथ्यो । अनि उनी उक्त रकम युवकलाई पठाइदिन्थिन् ।

तर, पछि प्रहरीले सम्पर्क गरेर उक्त रकम स्क्याम गरेर पठाउने गरेको भन्ने बताएपछि उनी झसङ्ग भइन् । उनले ढिलो नगरी आफूले भोगेका सबै कुरा बुबालाई सुनाइन् । त्यतिका समयसम्म छोरीका बारेमा केही नराम्रो सुनेका बुबा छोरीको खाता ठगीका लागि प्रयोग भइरहेको थाहा पाएपछि चिन्तित भए । प्रहरीले बोलाएपछि उनी काठमाडौंमै आए । र, सबै बेलिविस्तार सुनाए । 

युवतीको परिवारको बुटवलमा गहना पसल छ । परिवारले पनि उनलाई राम्रै कलेजमा पढाएका छन् । आफ्नो घर वरपर यताउताबाट कहिल्यै कसैले नराम्रो नभनेकी छोरीलाई प्रहरीले सम्पर्क गरेर उनको बैंक खाता दुरुपयोग भएको भनेपछि मन दुख्नु स्वाभाविक थियो । 

सोमवार कार्यालयमा पार्सल पाउने नाममा ठगिएकी युवती र बैंक खाता दुरुपयोग भएकी युवतीका आफन्त कार्यालयमा आएका थिए । उनीहरू दुवै विभिन्न विवाद निकालेर बाझिरहेका थिए । बैंक खाता दुरुपयोग हुने युवतीका आफन्त पार्सल पाउने आशमा ठगिएकी युवतीलाई लोभमा परेर किन त्यतिका रकम पठाएको भनेर प्रश्न गरिरहेका थिए । उता ठगिएकी युवती भने ‘तपाईंहरूको बैंक खाता दुरुपयोग भएको छ, त्यसैले सबै रकम तपाईंहरूले उठाउनुपर्छ’ भन्दै दबाब दिइरहेकी थिइन् । 

जुन रकम कहिल्यै खातामा जम्मा भएन वा जसको खातामा आएको थियो, उनले कुनै कामका लागि खर्च गरिनन्, त्यही रकम तिर्नुपर्ने भएपछि खाता दुरुपयोग भएकी युवतीका आफन्तलाई पनि समस्या परिरहेको थियो । उता आफूले जसको खातामा पठाएको हो, उ स्वयम् आइसकेपछि पार्सल पाउने आशमा रकम गुमाउने युवती पनि छोड्न सक्ने अवस्थामा थिइनन् । पछि उनीहरूबीच तत्काल ठगी भएको दुई लाख ४८ हजारमध्ये आधा रकम उपलब्ध गराउने र बाँकी केही समयपछि (युवतीको खाताबाट जसको खातामा गएको छ, त्यो फेला पारेपछि ) दिने सम्झौता भयो ।

बैंक खाता दुरुपयोग भएकी युवतीका आफन्तले बैंक स्टेटमेन्ट निकालेर जसको खातामा रकम ट्रान्सफर भएको थियो त्यही खातालाई विपक्षी बनाएर उजुरी दिए । 

यससँगै प्रहरीले अकाउन्ट उपलब्ध गराउने यवतीको बैंक स्टेटमेन्ट हेरेर अनुसन्धान अगाडि बढाउने योजना बनाएको छ । सामाजिक सञ्जालबाट जोडिएर बैंक अकाउन्ट दुरुपयोग गर्ने कार्य बढीरहेको प्रहरीको ठहर छ ।

कार्यालयका साइबर पिल्लर प्रमुख डीएसपी लिलाराज डाँगी भन्छन्, “अनलाइनमा जोडिएको व्यक्तिको विश्वास गरेर बैंक अकाउन्ट उपलब्ध गराएर आफ्नोमा आएको रकम अर्कालाई पठाउँदा ठगीको आरोप भोग्नेहरू बढ्दै गइरहेका छन् । कसैले तपाईंको अकाउन्टमा रकम आउँछ त्यो रकम तपाईंले अर्को अकाउन्टममा पठाइदिनु भन्यो भने शंका गर्नुपर्ने अवस्था आएको छ ।”

यदि कसैले रकम पठाउँदैछ भने किन कुन प्रयोजनका लागि पठाउन लागेको त्यो बुझेर मात्र कारोबार गर्न डीएसपी डाँगीले सुझाव दिएका छन् ।

पछिल्लो अध्यावधिक: असोज ३०, २०८० १९:४८