close

‘पुरानो इसेवा अकाउन्टलाई मोटो रकम दिने’ भन्दै अनलाइन जुवाको जालो, यसरी फस्दैछन् सर्वसाधारण

टेकपाना टेकपाना

जेठ २३, २०८३ १६:४३

‘पुरानो इसेवा अकाउन्टलाई मोटो रकम दिने’ भन्दै अनलाइन जुवाको जालो, यसरी फस्दैछन् सर्वसाधारण

काठमाडौं । डिजिटल वालेट इसेवाको नाम दुरुपयोग गर्दै सर्वसाधारणलाई अनलाइन सट्टेबाजीमा फसाउने गिरोह सक्रिय भएको पाइएको छ । तीन महिनाभन्दा पुरानो इसेवा अकाउन्ट भएका प्रयोगकर्तालाई मोटो रकम दिने प्रलोभन देखाएर जुवाको प्लेटफर्ममा पुर्‍याई रकम ठगी गर्ने गरेको खुलेको हो ।

पछिल्लो समय सामाजिक सञ्जाल, विशेषगरी फेसबुकमा इसेवाको नाम जोडेर दर्जनौं भ्रामक विज्ञापन छ्यापछ्याप्ती भेटिएका छन् । एआई टुल प्रयोग गरी बनाइएका यस्ता भिडिओ विज्ञापनमा ‘पुरानो इसेवा अकाउन्ट हुनेले एकैपटकमा तीन हजार रुपैयाँसम्म कमाउन सक्ने’ भन्दै दाबी गरिन्छ ।

भिडिओमा एक व्यक्ति मोबाइल लिएर एक पसलमा पुगेको देखाइन्छ । त्यसपछि पसलेले ‘तपाईंको इसेवा त धेरै पुरानो रहेछ’ भनेको देखाइन्छ । ग्राहकजस्ता देखिने व्यक्तिले ‘१ वर्षभन्दा पुरानो भएको’ प्रतिक्रिया दिन्छन् । त्यसपछि ‘३३एक्सएक्स चेक गर्नुस् धेरै रकम पाइन्छ’ भनेको देखाइन्छ । र, बुस्ट गरिएको सामग्रीको तल लिङ्क दखिन्छ ।

यसरी फरक-फरक अकाउन्टबाट एउटै प्रकृतिका भिडिओ राखेर नेपाली प्रयोगकर्तालाई ‘३३ एक्सएक्स डट ओआरजी’ नामक अनलाइन सट्टेबाजी तथा स्क्यामिङ प्लेटफर्ममा तान्ने गरिएको छ ।

इसेवासँग कुनै सम्बन्ध छैन, केवल बहाना हुन् पुराना अकाउन्ट 

वास्तवमा जुवा खेलाउने उक्त प्लेटफर्म र इसेवाबीच कुनै पनि प्रत्यक्ष सम्बन्ध छैन । जुवाको प्लेटफर्ममा इसेवा अकाउन्ट नयाँ वा पुरानो हुनुले कुनै अर्थ राख्दैन । तर, प्रयोगकर्ताको ध्यान तान्न र उनीहरूलाई सजिलै विश्वास दिलाउन ‘पुरानो अकाउन्ट’ को मनोवैज्ञानिक अस्त्र प्रयोग गरिएको पाइएको छ ।

गिरोहले सबैलाई यो अनलाइन जुवाको पासो हो भन्ने थाहा नहोस् भन्नका लागि सामाजिक सञ्जालमा चलाखीसमेत गर्ने गरेका छन् । पैसा तिरेर बुस्ट गरिएका ती विज्ञापनमा ठगीमा परेका पीडित नेपालीले गरेका कमेन्ट तत्कालै हटाइने गरिएको छ । पोस्टमा लाइक देखिए पनि नकारात्मक कमेन्ट नदेखिने र झुटा सकारात्मक कमेन्ट मात्र राख्ने गरिएको छ ।

१५ हजार बेटिङ साइट प्रतिबन्धित, तर रोकिएन विज्ञापन 

वर्तमान सरकारले आफ्नो गठनलगत्तै सार्वजनिक गरेको १०० दिने कार्यसूचीमा अनलाइन सट्टेबाजी र जुवाका प्लेटफर्ममाथि पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सोही अनुरुप तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले १३ चैतमा नेपाल दूरसञ्चार प्राधिकरणलाई २४ घण्टाभित्र यस्ता प्लेटफर्म ब्लक गर्न निर्देशन दिएको थियो ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार सरकारको निर्देशनपछि हालसम्म १५ हजारभन्दा बढी यस्ता बेटिङ साइट नेपालमा प्रतिबन्धित भइसकेका छन् । तर, प्राविधिक चुनौतीका कारण एउटा डोमेन बन्द हुनेबित्तिकै गिरोहले तत्कालै नयाँ डोमेन सक्रिय गराउने गरेका छन् । सामाजिक सञ्जालमार्फत विज्ञापन नै गरेर नेपालीलाई जुवामा जोड्ने क्रम रोकिएको छैन ।

पछिल्लो अध्यावधिक: जेठ २३, २०८३ १८:२८