close

भारतको इन्फोसिसले कर्मचारीलाई भन्यो- कामका लागि कार्यालयमा महिनाभर १० दिन मात्रै आउनू

टेकपाना टेकपाना

कात्तिक १६, २०८० ९:९

भारतको इन्फोसिसले कर्मचारीलाई भन्यो- कामका लागि कार्यालयमा महिनाभर १० दिन मात्रै आउनू

काठमाडौं । भारतको प्रविधि कम्पनी इन्फोसिसले आफ्ना केही कर्मचारीहरूलाई महिनाभर जम्मा १० दिन मात्रै कार्यालयबाट काम गराउने भएको छ । समाचार संस्था रोयटर्सका अनुसार आगामी नोभेम्बर २० देखि लागू हुने गरी इन्फोसिसले यस्तो तयारी गरेको हो । 

कोभिड-१९ महामारीका कारण कार्यालयमा काम गर्ने प्रवृत्ति फेरिएर रिमोट वर्क (कार्यालयबाट टाढै बसेर गरिने काम)काे अभ्यास विस्तार भएको थियो । अहिले इन्फोसिसको उक्त कदम त्यही रिमोट वर्कको परिमार्जित स्वरूप भएको बताइएको छ ।

यसले इन्फोसिसका नयाँ र मध्यस्तरका कर्मचारीहरूलाई असर गर्ने, तर सबै कर्मचारीहरूलाई असर नगर्ने जनाइएको छ । तर यस विषयमा कम्पनीले आधिकारिक रूपमा केही नबताएको रोयटर्सले लेखेको छ ।

यसअगाडि एक कार्यक्रममा इन्फोसिसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सलिल पारेखले संख्या बढ्दै गएकाले कर्मचारीहरूका लागि आफूहरू लचिलो रहन चाहने बताएका थिए । त्यस्तै कम्पनीका सहसंस्थापक एन.आर. नारायण मूर्तिले समेत केही दिन अगाडि देशको विकासका लागि भारतका युवाहरूले हप्तामा ७० घण्टा काम गर्नुपर्ने अभिव्यक्ति दिएका थिए । 

पछिल्लो समयदेखि ठूला कम्पनीहरूले हप्तामा केही दिन घरबाट र केही दिन कार्यालयबाट काम गर्ने संस्कृति अपनाउन थालेका छन् । इन्फोसिसको प्रतिद्वन्द्वीका रूपमा लिइएकाे टाटा कन्सल्टेन्सी सर्भिसेजले समेत कर्मचारीहरूलाई हप्ताको पाँच दिनमात्र कार्यालयबाट काम गराउने गरेको छ । अमेजन, गुगल जस्ता प्रविधिका हस्तिहरूले भने यस्तो अभ्यास यसअगाडि नै गरिसकेका छन् ।

पछिल्लो अध्यावधिक: कात्तिक १६, २०८० १७:५७