काठमाडौँ । एप्पलले हालै सम्पन्न डब्लूडब्लूडीसी २०२६ मा आफ्नो बहुप्रतिक्षित सिरि एआई (Siri AI) सार्वजनिक गरेको छ । जसले आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा नयाँ तरङ्ग ल्याएको छ ।
गुगलको जेमनाई (Gemini) ले एन्ड्रोइड इकोसिस्टममा पहिले नै आफ्नो बलियो उपस्थिति जनाइसकेको अवस्थामा एप्पलको यो नयाँ एआई कत्तिको सक्षम छ र यसले एन्ड्रोइडलाई कसरी चुनौती दिन्छ भन्ने विषय अहिले चर्चामा छ ।
एप्पलको सिरि एआईले गुगल जेमनाईसँगको दूरीलाई निकै कम गरेको छ । यदि तपाईँ गोपनीयता र आफ्नो डिभाइसका एपहरूसँगको गहिरो तालमेल चाहनुहुन्छ भने सिरि एआई उत्कृष्ट देखिन्छ ।
तर, यदि तपाईँलाई धेरै प्लेटफर्ममा चल्ने, लामो कुराकानी गर्न सक्ने र व्यापक विश्व ज्ञान भएको एआई चाहिएको छ भने गुगल जेमनाई बढी शक्तिशाली छ । एप्पलले एआईको दौडमा ढिलो प्रवेश गरे पनि प्राइभेसी (गोपनीयता) र युजर एक्सपेरियन्स (प्रयोगकर्ताको अनुभव) लाई हतियार बनाएर जेमनाईलाई कडा चुनौती दिएको छ ।
प्राविधिक आधार र साझेदारी
एप्पलको नयाँ सिरि एआई पूर्ण रूपमा नयाँ आर्किटेक्चरमा निर्माण गरिएको छ । रोचक कुरा त के छ भने, एप्पलले यसका लागि गुगलसँगै साझेदारी गर्दै जेमनाई मोडेलहरूको पावर प्रयोग गरेको छ ।
सिरि एआईले करिब १.२ ट्रिलियन प्यारामिटर भएको कस्टमाइज्ड जेमनाई मोडेल प्रयोग गरेको छ । तर, यो गुगलको जेमनाई एप जस्तो मात्र होइन; एप्पलले यसलाई आफ्नो एप्पल इन्टेलिजेन्स लेयरभित्र यसरी मिसाएको छ कि यसले प्रयोगकर्ताको व्यक्तिगत सन्दर्भ (Personal Context) बुझ्न सक्छ ।
प्राविधिक तुलना: अन-डिभाइस भर्सेस क्लाउड
गुगल जेमनाई मुख्यतया क्लाउड-नेटिभ मोडेल हो । जसले ठुला र जटिल कार्यहरूका लागि गुगलको शक्तिशाली सर्भरहरूको प्रयोग गर्दछ । यस विपरीत, एप्पलले प्राइभेसी-फर्स्ट नीति अपनाउँदै तीन-तहको संरचना तयार गरेको छ ।
साना कार्यहरू सिधै आईफोन वा म्याकको चिपसेट (A17 Pro वा M-series) मा अन-डिभाइस प्रोसेसिङ हुन्छ । अलि जटिल कार्यका लागि एप्पलको आफ्नै प्राइभेट क्लाउड कम्प्युट प्रयोग गरिन्छ र सबैभन्दा गह्रौँ कामका लागि मात्र यो गुगल क्लाउडमा पुग्छ ।
व्यक्तिगत सन्दर्भ र एप एकीकरण
एप्पलको सबैभन्दा ठुलो शक्ति यसको आफ्नो इकोसिस्टममाथिको नियन्त्रण हो । सिरि एआईले तपाईंका ईमेल, मेसेज, फोटो र क्यालेन्डरको विवरण बुझेर काम गर्न सक्छ ।
उदाहरणका लागि, 'मेरो साथीले पठाएको रेस्टुरेन्टको ठेगाना खोजिदेउ' भन्दा सिरिले मेसेज एपभित्र गएर त्यो जानकारी निकाल्न सक्छ । जेमनाईले पनि गुगल वर्कस्पेस (Gmail, Docs) मा यस्तै काम गर्छ । तर एप्पलको सिस्टम-व्यापी एकीकरण अझ गहिरो देखिएको छ ।
भिजुअल इन्टेलिजेन्स (Siri Mode vs Google Lens)
एप्पलले क्यामेरा एपमा नयाँ सिरि मोड थपेको छ । जसले गुगल लेन्सलाई सिधा टक्कर दिन्छ । यसले अगाडि सामुन्ने रहेको वस्तुको फोटो खिचेर त्यसको विवरण दिने, खानाको पोषण तत्त्व बताउने वा रेस्टुरेन्टको बिल बाँडफाँड गर्ने जस्ता काम गर्छ ।
गुगल लेन्स वर्षौंदेखि यस क्षेत्रमा परिपक्व छ । तर एप्पलको भिजुअल इन्टेलिजेन्स प्रयोग गर्न निकै सजिलो र डाइनामिक आइल्याण्डसँग जोडिएको छ ।
कुराकानी गर्ने क्षमता
जेमनाई अहिले पनि प्राकृतिक कुराकानी र जटिल तर्क (Reasoning) मा अगाडि देखिन्छ । गुगलले लामो समयदेखि एआईमा काम गरेकाले यसको कुराकानी गर्ने शैली अझ बढी मानवीय छ ।
यद्यपि, एप्पलले सिरिको आवाजलाई अझ बढी अर्थपूर्ण र भावपूर्ण बनाएको छ । जसमा प्रयोगकर्ताले बोल्ने गति र शैलीलाई समेत मिलाउन सक्छन् ।
लेखन टुल (Writing Tools)
दुवै एआईले टेक्स्ट सारांश गर्ने, व्याकरण सच्याउने र नयाँ ड्राफ्ट लेख्ने सुविधा दिन्छन् । एप्पलले यसलाई आफ्नो सिस्टमभर उपलब्ध गराएको छ । जसले गर्दा कुनै पनि तेस्रो पक्षका एपहरूमा पनि सिरि एआईमार्फत लेख्न सकिन्छ ।
गोपनीयता र सुरक्षा
गोपनीयताको मामिलामा एप्पलले जेमनाईलाई उछिनेको दाबी गरिएको छ । एप्पलको प्राइभेट क्लाउड कम्प्युटले प्रयोगकर्ताको डेटा सर्भरमा भण्डारण नगर्ने र एप्पल आफैँले पनि त्यो डेटा हेर्न नसक्ने सुनिश्चित गर्दछ ।
गुगलले पनि सुरक्षाका उपायहरू अपनाएको छ । तर यसको धेरैजसो प्रोसेसिङ क्लाउडमा हुने भएकाले प्रयोगकर्ताको डेटा गुगलको सर्भरसम्म पुग्ने गर्दछ । जुन कतिपयका लागि चिन्ताको विषय हुन सक्छ ।
उपलब्धता र पहुँच
यो मामिलामा गुगल जेमनाई निकै अगाडि छ । जेमनाई एन्ड्रोइडका धेरैजसो फोनहरूमा चल्छ र यो वेब तथा आईओएसमा पनि उपलब्ध छ ।
तर, एप्पलको सिरि एआई प्रयोग गर्नका लागि प्रयोगकर्तासँग पछिल्लो पुस्ताका महँगा डिभाइसहरू (iPhone 15 Pro वा iPhone 16 सिरिज र नयाँ म्याकहरू) हुनु अनिवार्य छ । साथै सिरि एआई सुरुमा अङ्ग्रेजी भाषामा मात्र उपलब्ध हुनेछ भने जेमनाईले विभिन्न भाषाहरूलाई सपोर्ट गर् थालिसकेको छ ।
पछिल्लो अध्यावधिक: जेठ २८, २०८३ ११:९
