काठमाडौं । एटीएम मसिन फोड्न खोज्ने एक भारतीय युवक पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले मङ्गलवार मध्यरात पोखरा महानगरपालिका वडा नं ८ सभागृह चोकस्थित नबिल बैंकको एटीएम मसिन फोड्न खोज्ने २० वर्षीय बबि ठाकुरलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मध्यरात पाैने १ बजेतिर ठाकुर एटीएम मसिनमा रहेको ढोकाको लक फोडेर भित्र मसिन तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ परेका हुन् । प्रहरीका अनुसार पक्राउ परेका ठाकुरको वास्तविक घर भारत बिहार प्रदेश मोतीहारी जिल्ला फेनरा पञ्चायत ग्राम ढांका बजार हो ।
उनी नयाँ बजार पोखरामा बबि ठाकुर सैलुन पसल सञ्चालन गर्दै आएका थिए । प्रहरीले रङ्गेहात पक्राउ परेका ठाकुरबाट मसिन फोड्न प्रयोग गरेको फलामको रड, पेचकस, भाँचिएको अवस्थाको कपाल काट्ने कैँची र ढुङ्गा बरामद गरेको छ । उनलाई नियन्त्रणमा लिएर प्रहरीले चोरी उद्योग मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ ।