close

टेलिकमले तीन महिनामै गुमायो ३९ करोड बढी आम्दानी

टेकपाना टेकपाना

कात्तिक २५, २०८० १३:५६

टेलिकमले तीन महिनामै गुमायो ३९ करोड बढी आम्दानी

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको आम्दानी र नाफा दुवै घटेको छ । चालू आर्थिक वर्ष २०८०-८१ को पहिलाे त्रैमासिक वित्तीय प्रतिवेदन अनुसार टेलिकमले कूल आय र खुद मुनाफा दुवै गुमाएकाे हो ।

कम्पनीले यो आर्थिक वर्षको सुरुवाती तीन महिना (साउन, भदौ र असोज) मा १० अर्ब ६४ करोड ८७ लाख ९३ हजार रुपैयाँ आय गरेको छ, जुन गत आव २०७९-८० को सोही अवधिको तुलनामा ३.५४ प्रतिशतले कम हो । अघिल्लो आवको सुरुवाती तीन महिनामा टेलिकमको कूल आय ११ अर्ब चार करोड ९० हजार रुपैयाँ रहेको थियो । यसरी तीन महिनामै कम्पनीकाे कूल आय ३९ करोड १२ लाख ९७ हजार रुपैयाँले घटेको छ । 

टेलिकमले चालू आवको प्रथम त्रैमासिक अवधिसम्मको कूल सञ्चालन आयमा पनि निराशाजनक प्रदर्शन गरेको छ । यो अवधिमा कम्पनीको सञ्चालन आय आठ अर्ब ५८ करोड ५० लाख ६३ हजार रुपैयाँ मात्रै रहेको छ । यो रकम गत आवको सोही अवधिको कूल सञ्चालन आयकाे तुलनामा ५.४३ प्रतिशतले कम हो ।  गत वर्षकाे पहिलाे त्रैमासिक अवधिसम्म कम्पनीकाे कूल आय नौ अर्ब सात करोड ७५ लाख ८४ हजार रुपैयाँ ​रहेकाे थियाे ।  

त्यस्तै चालू आवको प्रथम त्रैमासिक अवधिसम्म कम्पनीले दुई अर्ब दुई करोड ७४ लाख ३२ हजार रुपैयाँ खुद मुनाफा कमाएकाे छ । उक्त रकम गत आवको सोही अवधिको खुद मुनाफा दुई अर्ब २२ करोड ५५ लाख ६ हजारको तुलनामा रु. १९ करोड ८० लाख ७४ हजार (अर्थात् ८.९० प्रतिशत) ले कमी हाे । 

गत आवको प्रथम त्रैमासिक अवधिको तुलनामा चालू आवको सोही अवधिमा राजस्व तथा खुद मुनाफामा परिवर्तन हुनुमा टेलिकमले निम्न कारण औंल्याएको छः 

  • ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तरआबद्धता आयमा गत आवको प्रथम त्रैमासिक अवधिको तुलनामा करिब रु. ४९ करोड १४ लाख ८५ हजारले कमी भएको । 
  • आर्थिक मन्दीका कारण कम्पनीको सेवा प्रयोगमा तुलनात्मक रुपमा कमी आएको ।   
  • विदेशी विनिमय दरमा भएको परिवर्तनको कारण रु. पाँच करोड ९९ लाखमात्रै फरेन एक्सचेन्ज गेन भएको । 
  • प्रतिकूल मौसमका कारण विद्युत आपूर्ति तथा मर्मतसम्भार कार्य समयमा हुन नसकेकोले साइटहरू समयमा सञ्चालन हुन नसकेको । 
  • विभिन्न जनसरोकारका निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडा कार्यालयले गर्ने केवल व्यवस्थापन कार्यका क्रममा कम्पनीले सेवा प्रवाह गर्न निर्माण गरेका कतिपय संरचनामा क्षति पुग्ने गरेको तथा नेटवर्क विस्तारमा समेत प्रभाव परेको । 
  • राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको । 
  • सेवाको दररेट निर्धारण सम्बन्धी नीति तथा नियमहरू परिवर्तन भएका कारण सेवाको दररेटमा कटौती भई राजस्वमा प्रतिकूल असर परेको । 
  • बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब रु. १४ करोड ८१ लाखले कमी भएको ।

पछिल्लो अध्यावधिक: कात्तिक २५, २०८० १४:२२