close

ह्याकरहरूको प्रतिस्पर्धा ‘क्याप्चर द फ्लाग’ मा सहभागी हुन नेपाली टिम साउदी अरेबिया प्रस्थान

टेकपाना टेकपाना

कात्तिक २६, २०८० ११:३९

ह्याकरहरूको प्रतिस्पर्धा ‘क्याप्चर द फ्लाग’ मा सहभागी हुन नेपाली टिम साउदी अरेबिया प्रस्थान

काठमाडौं । विश्वभरका इथिकल ह्याकरहरूको प्रतिस्पर्धा ‘क्याप्चर द फ्लाग’मा सहभागी हुन नेपाली टिम साउदी अरेबिया प्रस्थान गरेकाे छ । १४ देखि १६ नोभेम्बरमा रियादमा हुने उक्त प्रतियाेगितामा नेपाली टिम ‘ह्याक एट सेक’ (Hack@Sec) सहभागी हुन लागेकाे हाे ।

८ अक्टोबरमा १५ सय टिमबीच अनलाइनमा भएकाे क्वालिफायर राउन्डमा ८७औं स्थानमा परेर नेपाली ह्याकर टिम फाइनल चरणका लागि छनोट भएको थियाे ।

सीटीएफ इथिकल ह्याकरहरूबीच हुने प्रतिस्पर्धा हो, जसकाे आयोजनाका लागि ब्ल्याक ह्याट एमईए (मिडल इस्ट एन्ड अफ्रिका) नामक संस्थाले साउदी फेडेरेसन फर साइबर सेक्युरिटी एन्ड प्रोग्रामिङ (एसएएफसीएसपी) सँग सहकार्य गरेकाे छ ।

अन्तिम चरणकाे प्रतिस्पर्धाका लागि विश्वभरबाट आएका कूल २०० टिमका हजारभन्दा बढी ह्याकरसँग नेपाली टिमले प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टिममा विशाल अर्याल, निरज खतिवडा र  अनिश भट्टराई रहेका छन् ।

प्रतिस्पर्धाका दौरान छनौट भएका सम्पूर्ण ह्याकरको टिमलाई विभिन्न सिस्टमहरू उपलब्ध गराइनेछ । र, उनीहरूले त्यही सिस्टमको कमजोरी पत्ता लगाएर सीटीएफ फ्ल्याग सङ्कलन गर्नुपर्ने हुन्छ । जसले सबैभन्दा बढी सीटीएफ पोइन्ट सङ्कलन गर्‍यो, उही नै विजेता बन्नेछ ।

विजेताले पुरस्कार स्वरूप एक लाख ८७ हजार डलर (करिब  दुई करोड ४८ लाख ५४ हजार रुपैयाँ) पाउने बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २६, २०८० १५:६