close

भीपीएन र डीएनएसबाट बैंकिङ विवरण चोरीसँगै आर्थिक दुरुपयोगका घटना बढेः साइबर ब्यूरो

टेकपाना टेकपाना

मंसिर ५, २०८० १७:३५

भीपीएन र डीएनएसबाट बैंकिङ विवरण चोरीसँगै आर्थिक दुरुपयोगका घटना बढेः साइबर ब्यूरो

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले प्रविधिको दुरुपयोग नगर्न नगराउन अनुरोध गरेको छ । मङ्गलवार एक सूचना जारी गर्दै ब्यूरोले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लागेपछि भीपीएन र डीएनएसको प्रयोग बढेको र मार्फत आर्थिक दुरुपयोगका घटना बढिरहेको दाबी गर्दै यस्तो आग्रह गरेको हो ।

"टिकटक भीपीएन र डीएनएस जस्ता असुरक्षित अवैध माध्यमबाट सञ्चालनमा छ भन्ने सूचना आएको छ," ब्यूरोले दाबीका साथ भनेको छ, "भीपीएन र डीएनएस प्रयोगले प्रयोगकर्ताको डिभाइसमा रहेका महत्त्वपूर्ण डेटा, व्यक्तिगत विवरण, बैंकिङ विवरणहरू समेत पहुँच पुर्‍याई चोरी भई आर्थिक दुरुपयोगका घटना साइबर सुरक्षाको दृष्टिकोणले समेत बढिरहेको पाइएको छ ।"

ब्यूरोले विद्युतीय स्वरूपमा गैरकानूनी कुरा सम्प्रेषण गर्ने, सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्नुका साथै व्यक्तिको चरित्र हत्या गर्ने, सामाजिक नैतिकता, जातीय, भाषिक, धार्मिक सद्‍भाव खलबल्याउने र राष्ट्रिय एकता तथा राष्ट्र हितमा प्रतिकूल असर पार्ने लगायतका दुष्प्रभाव सिर्जना गर्ने गतिविधि समेत टिकटकको माध्यमबाट हुने गरेको पाइएको हुँदा प्रविधिको दुरुपयोग गरी यस प्रकारका गतिविधिहरू नगर्न समेत अनुरोध गरेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ५, २०८० १७:३५