close

टिकटकपछि स्न्यापच्याट, टिन्डर, टेलिग्राम र लाइकीमाथि समेत प्रतिबन्ध लगाइँदै !

टेकपाना टेकपाना

मंसिर १३, २०८० ९:३९

टिकटकपछि स्न्यापच्याट, टिन्डर, टेलिग्राम र लाइकीमाथि समेत प्रतिबन्ध लगाइँदै !

काठमाडौं । लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकमाथि प्रतिबन्ध लगाएको सरकारले बिगो लाइभ, लाइकी, टिन्डर, स्न्यापच्याट, टेलिग्राम लगायतका एपमाथि समेत प्रतिबन्ध लगाउने तयारी गरको छ । टिकटकमा जस्तै प्रयोगकर्ता लाइभ बस्न मिल्ने अन्य सामाजिक सञ्जालमाथि समेत प्रतिबन्ध लगाउने आशयका साथ निगरानी बढाइएको समाचार बीबीसी नेपाली सेवाले लेखेको छ ।

बीबीसी नेपाली सेवासँगको कुराकानीमा प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीले त्यस्ता एपलाई सोसल मिडिया नभई एन्टी सोसल मिडिया भएको बताएका छन् ।

"तिनीहरूले नकारात्मक सामग्री प्रवाह गर्ने र बेथिति फैलाउने बाहेक केही पनि गरेका छैनन्," उनले भनेका छन्, "हामी यसको प्राविधिक पक्षक र समाजमा पारेका सकारात्मक र नकारात्मक प्रभावहरू बारे अध्ययन गरिरहेका छौं ।"

रायमाझीका अनुसार प्रधानमन्त्री कार्यालयले विज्ञहरू सहितको एउटा टोली बनाएर त्यस्ता एपहरूको निगरानी गरिरहेको छ । गत २७ कात्तिकको मन्त्रिपरिषद्‌ बैठकले सामाजिक सद्‌भाव र सामाजिक वातावरणमा नकारात्मक असर पारिरहेको भन्दै टिकटकमाथि तत्काल रोक लगाउने निर्णय गरेको थियो ।

सरकारको उक्त निर्णय विरुद्ध दायर १४ ओटा रिटमाथिको सुनुवाइ विचाराधीन अवस्थामा रहेको छ । बिगो लाइभ र लाइकी सिङ्गापुर स्थित बिगो टेक्नोलोजिजका एपहरू हुन्, जसलाई चिनियाँ कम्पनीहरूले नै सञ्चालन गर्दै आएका छन् ।

टेलिग्राम भने रुसी मेसेजिङ एप हो । यसैगरी डेटिङ एप टिन्डर र मेसेजिङ एप स्न्यापच्याट भने अमेरिकी कम्पनीका उत्पादन हुन् ।

प्रधानमन्त्री कार्यालयको प्रारम्भिक अध्ययनबाट यस्ता अधिकांश एपहरू यौन सम्बन्धी भिडिओ अपलोड गर्न र आदानप्रदान गर्नका लागि प्रयोग हुने गरेको र धेरै नेपाली नागरिकमाथि नकारात्मक असर पारिरहेको पाइएको उल्लेख छ ।

सबै पक्षको अध्ययन गरी टोलीले प्रतिवेदन बुझाउने र सोही आधारमा प्रतिबन्ध लगाउने गरी सिफारिस गरिने बताइएको छ । यसका साथै पब्जी र फ्रि फायरलाई समेत सरकारले निगरानीमा राखेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १३, २०८० ९:३९