close

अर्काकै फोन नम्बर राखेर पनि ‘स्मार्टगफ’ एपमा अकाउन्ट बनाउन सकिने !

टेकपाना टेकपाना

मंसिर १५, २०८० १७:१३

अर्काकै फोन नम्बर राखेर पनि ‘स्मार्टगफ’ एपमा अकाउन्ट बनाउन सकिने !

काठमाडौं । टिकटकको विकल्पमा आएको नेपाली एप ‘स्मार्टगफ’ मा अन्य व्यक्तिको नम्बर राखेर पनि अकाउन्ट बनाउन सकिने समस्या देखिएको छ । यसअघि फोनमा ओटीपी कोड नआउने समस्या रहेकोमा 'स्मार्टगफ'ले सो कमजोरीलाई बाइपास गर्न खोज्दा अर्को समस्या निम्तिएको हो ।

ओटीपी कोड सिस्टमलाई बन्द गर्न खोज्दा अहिले सो एपमा प्रयोगकर्ताले अर्काकै नम्बर (वा १० डिजिटकाे जुनै नम्बर) राखेर अकाउन्ट बनाउन सक्ने अवस्था देखिएकाे छ । यसअघि उक्त एपमा नयाँ अकाउन्ट बनाउन खोज्दा सबैभन्दा पहिले मोबाइल नम्बर राख्नुपर्थ्याे ।

आफ्नो नम्बर राखिसकेपछि ओटीपी कोड पर्खिनुपर्ने हुन्छ । सो कोड नपाएसम्म भित्र प्रवेश गर्न सकिँदैनथ्यो । तर, अहिले १० डिजिटकाे नम्बर राखेर 'कन्फर्म' बटनमा ट्याप गर्दा उक्त नम्बर तपाईंकै भएको पुष्टि गर्छ ।

त्यसपछि तपाईंले आफ्नो नाम र युजरनेम राख्नुपर्ने हुन्छ । अनि 'नेक्स्ट' बटन ट्याप गर्दा नयाँ पासवर्ड राखी पुनः त्यही पासवर्ड राख्नुपर्ने हुन्छ । 

त्यसपछि 'रजिस्टर'को बटनमा ट्याप गरे अकाउन्ट तयार हुन्छ । त्यसपछि तपाईंले सो एपका प्रायः सबै फिचर प्रयोग गर्न सक्नुहुन्छ ।

यो कमजोरीले गर्दा जोसुकैले जुनसुकै नम्बर राख्दा सो नम्बरको दुरुपयोग गरी आपराधिक गतिविधि बढ्ने जोखिम भएको साइबर सुरक्षा अनुसन्धानकर्ता सुशील फुँयाल बताउँछन् ।

"जसको नम्बर राखे पनि अकाउन्ट बनाउन सकिने रहेछ," उनले भने, "यस्तोमा कसैले अर्काको मानहानी गर्ने पोस्ट राख्ने वा कमेन्ट गर्ने जोखिम भएको देखिन्छ । अपराधका काममा पनि यो कमजोरी उनीहरूका लागि महत्त्वपूर्ण हुन्छ ।" 

विशेषगरी आपराधिक गतिविधिको अनुसन्धान गर्दा प्रहरीलाई यो समस्याले वास्तविक पीडित को हो भन्ने ठम्याउन मुस्किल हुने उनको निष्कर्ष छ । यसले गर्दा निर्दोष मान्छे फस्ने र उसले अनावश्यक दुःख पाउने जोखिम भएको उनको भनाइ छ । "यसलाई शीघ्र समाधान गरेर सम्भावित सुरक्षा जोखिम कम गर्नतर्फ कम्पनी अग्रसर हुनुपर्छ," उनले भने । 

यस विषयमा स्मार्टगफ प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश शाहीसँग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन ।

पछिल्लो अध्यावधिक: मंसिर १५, २०८० १७:१५