close

एनसेल खरिद-बिक्रीको अनुसन्धान हुनुपर्ने सांसद श्रेष्ठको माग

टेकपाना टेकपाना

मंसिर १८, २०८० १५:१

एनसेल खरिद-बिक्रीको अनुसन्धान हुनुपर्ने सांसद श्रेष्ठको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले एनसेलको सेयर स्वामित्व बिक्रीमाथि संसदीय समितिले अनुसन्धान गर्नुपर्ने माग राखेकी छन् । एनसेलको खरिद बिक्री अस्वाभाविक भएको भन्दै यसमाथि अनुसन्धान गर्नुपर्ने भन्दै उनले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीलाई पत्र लेखेकी हुन् ।

मलेसियाको कम्पनी आजियटाले एनसेलमा रहेको आफ्नो शेयर गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रमलाई बिक्री गरेको छ । चलिरहेको व्यवसाय किनेको रकम भन्दा ९६ प्रतिशत कम मूल्यमा बिक्री हुनु अस्वभाविक भएको भन्दै सांसद श्रेष्ठले यसमा अनुसन्धान हुनेपर्ने माग राखेकी हुन् ।

"आगामी ६ वर्षसम्मको मुनाफामा भने आजियटाकै हक लाग्ने भनेर सम्झौता भएको सुनिन्छ । यो सम्झौता २५ प्रतिशत क्यापिटल गेन कर (पुँजीगत लाभकर) को सट्टा ५ प्रतिशत लाभांश कर तिर्न रचिएको प्रपञ्च त हैन ?," उनले लेखेको पत्रमा भनिएको छ ।

"यति कम मूल्यमा बिक्री भइरहँदा खरिदकर्ता र बिक्रीकर्ताबीच अन्य देशमा रहेको सम्पत्ति सट्टापट्टा गरी दुवै देशमा क्यापिटल गेन कर छल्ने योजना त हैन भनेर खोज गर्नपर्ने हो कि ?"

उनले नेपाल दूरसञ्चार प्राधिकरणबाट पूर्व स्वीकृति नलिई प्रमुख शेयरधनी आजियटा बाहिरिँदा परिणाम के हुन्छ ?, आजियटाले ब्यहोर्नुपर्ने कुनै जरिवाना वा सजाय हुन्छ ?, यदि हुन्छ भने सङ्कलन प्रक्रिया के हुन्छ ? भन्ने जस्ता प्रश्न समेत उठाएकी छन् । 

टेलियासोनेराले आजियटालाई एनसेल बिक्री गर्दा निर्धारण गरेको र आजियटाले कबोल गरेको पुँजीगत लाभकर पूर्ण भुक्तानी गरेको छ कि छैन, यसबाहेक ठूला करदाता कार्यालयले थप निर्धारण गरेको कर बक्यौता कति छ र आजियटा बाहिरिएको अवस्थामा तिर्ने जिम्मा कसको हुन्छ  भन्ने जिज्ञासा सहित उनले समितिलाई पत्र लेखेकी छन् ।

सांसद श्रेष्ठले एनसेल खरिद-बिक्रीको सम्बन्धी जानकारी यथाशीघ्र उपलब्ध गराउन समितिसमक्ष माग गरेकी छन् । 

पछिल्लो अध्यावधिक: मंसिर १८, २०८० १५:१४