close

गुगल लेन्समा यो वर्ष सबैभन्दा बढी के खोजियो ?

टेकपाना टेकपाना

मंसिर २७, २०८० ११:२४

गुगल लेन्समा यो वर्ष सबैभन्दा बढी के खोजियो ?

काठमाडौं । २०२३ को गुगल सर्च हिस्ट्री सार्वजनिक भएको छ । गुगलले सोमबार आफ्नो सर्च इन्जिनमा यो वर्ष सबैभन्दा बढी के कुराहरू खोजियो भन्ने जानकारी सार्वजनिक गरेको हो । यसअन्तर्गत गुगल लेन्समार्फत प्रयोगकर्ताले सबैभन्दा बढी के कुरा खोज्छन् भन्ने जानकारी पनि सार्वजनिक भएको छ ।

विशेषगरी कुनै पनि फोटोमा भएको वस्तु के हो भन्ने जान्न, फोटोमा भएका शब्द टेक्स्टका रूपमा उतार्न र फोटोको वास्तविकता बुझ्न गुगल लेन्स प्रयोग गरिन्छ ।

गुगलका अनुसार लेन्समार्फत यो वर्ष सबैभन्दा बढी ‘शर्ट’को बारेमा खोजिएको छ । त्यसमा पनि २०२३ मा रिलिज भएको फिल्म बार्बीमा डल (गुडिया)ले लगाएको शर्टको फोटो राखेर लेन्समार्फत सर्च गरिएको छ ।

शर्ट रिजल्टलाई पछ्याउँदै दोस्रो स्थानमा आउटरवेयर, तेस्रो स्थानमा फुटवेयर, चौंथोमा ड्रेस र पाँचौंमा प्यान्ट्स रहेको छ । त्यसैगरी स्कर्ट, शर्ट्स, रोम्पर, जम्पस्विट र स्विटर उत्कृष्ट १० मा अटाएका छन् ।

पछिल्लो समय सामाजिक सञ्जालका माध्यमको प्रयोग बढ्दो छ । त्यसैले यी माध्यमबाट फैलिने मिथ्या तथा भ्रामक सूचना पनि बढेका छन् ।

कुनै पनि सूचना भ्रामक वा वास्तविक हो भन्ने पहिचान गर्न गुगल लेन्सको व्यापक प्रयोग भइरहेको छ । त्यसबाहेक पनि फोटो मात्रै भएको अवस्थामा त्यसबारे थप जानकारी पाउन पनि गुगल लेन्सको प्रयोग बढिरहेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २७, २०८० ११:२४