close

पाकिस्तानमा अचानक बन्द भयो इन्टरनेट सेवा

टेकपाना टेकपाना

पुस २, २०८० १५:१४

पाकिस्तानमा अचानक बन्द भयो इन्टरनेट सेवा

काठमाडौं । पाकिस्तानमा अचानक इन्टरनेट सेवा बन्द गरिएको छ । यसरी इन्टरनेट बन्द हुँदा अनेकौं अड्कलबाजी समेत लगाउन थालिएको छ ।  

मुम्बई बम हमलाका मास्टर माइन्ड अन्डरवर्ल्ड डन दाउद इब्राहिमलाई पाकिस्तानमा जहर खुवाएको आशङ्का गरिएको छ । दाउदलाई कराचीको एक अस्पतालमा भर्ती गराइएको छ ।

दाउदको अवस्था गम्भीर रहेको बताइएको छ । उनलाई अस्पताल भर्ती गराइएपछि अस्पताल नै किल्लामा परिणत भएको उल्लेख छ । यसैबीच पाकिस्तानमा रातको समयमा इन्टरनेट बन्द गरिएको थियो ।

साथै सामाजिक सञ्जाल वेबसाइटमाथि समेत प्रतिबन्ध लगाइएको थियो । अचानक इन्टरनेट बन्द भएपछि पाकिस्तानका कयौं पत्रकारहरूले दाबी गरेका छन् कि दाउद इब्राहिमलाई जहर दिएको खबरलाई देखाउँदै इन्टरनेट बन्द गराइएको हो ।

यद्यपि दाउदलाई विष खुवाइएको हो वा होइन भन्ने कुराको अहिलेसम्म स्वतन्त्र पुष्टि भने भएको छैन । तर पाकिस्तानमा भने यसको निकै चर्चा भइरहेको छ । दाउद इब्राहिमलाई दुई दिन अघि अस्पतालमा भर्ना गराइएको रिपोर्टहरूमा दाबी गरिएको छ ।

उनलाई निकै कडा सुरक्षाबीच अस्पतालमा राखिएको छ । दाउद इब्राहिमलाई जुन तल्लामा राखिएको छ, त्यहाँ उनी एक्लै छन् । इन्डिया टुडेको रिपोर्ट अनुसार केवल अस्पतालका शीर्ष अधिकारी र निकटस्थ परिवारजनलाई मात्र भित्र जान दिइएको छ ।

दाउद इब्राहिमलाई जहर खुवाइएको अड्कल बीच मुम्बई प्रहरी त्यसको स्वतन्त्र पुष्टि गराउन लागिरहेको उल्लेख छ । यस अघि जनवरीमा दाउद इब्राहिमकी बहिनी हसिना पार्करका छोराले दाउद दोस्रो बिहे गरेपछि कराचीमा बसिरहेको कुरा एनआईएलाई बताएका थिए ।

दाउद इब्राहिमको विषय मात्र नभएर इन्टरनेट बन्द हुनुको पछाडि पूर्व प्रधानमन्त्री इमरान खानको भर्चुअल र्‍यालीलाई लक्षित गरिएको हुन सक्ने आँकलन समेत गरिएको छ ।  

पछिल्लो अध्यावधिक: पुस २, २०८० १५:१४