close

लोक सेवाको परीक्षामा इयरफोन प्रयोग गरी चिट चोरेपछि...

टेकपाना टेकपाना

पुस ४, २०८० १२:११

सांकेतिक तस्वीर सांकेतिक तस्वीर

काठमाडौं । लोक सेवा आयोगले परीक्षामा इयरफोन प्रयोग गरेर चिट चोरेको फेला पारेपछि एक परीक्षार्थीको सबै परीक्षा रद्द गरेको छ । मंसिर १० गते नेपाल इन्जिनियरिङ सेवा, सर्भे समूह रा.प. अनंकित द्वितीय श्रेणी अमिनको जाँच दिन गएका रुकुम पश्चिमका दीपक नेपालीको सबै परीक्षा रद्द भएकाे हो । 

“निजले परीक्षाको मर्यादा विपरीत दाहिने कानमा इयरफोन लगाई मोबाइलबाट सम्पर्क गरी उत्तर लेखेको स्वीकार गरेको,” आयोगले जारी गरेको सूचनामा लेखिएको छ । 

उनले चिट चोरेको स्वीकार गरेपछि आयोगले लोक सेवा आयोग ऐन, २०७९ को दफा ४१(१) खण्ड (क) बमोजिमको कसूर अन्तर्गत कारबाही गरेको छ ।

सो ऐनमा कसुर गर्ने व्यक्तिको उक्त विज्ञापनको सबै परीक्षा रद्द गर्ने उल्लेख छ । त्यस्तै उनलाई आयोगले सोही ऐनको दफा ४१(२) को खण्ड (क) बमोजिम आयोगबाट लिइने परीक्षामा आगामी दुई वर्षको अवधिसम्म उम्मेदवार हुन नपाउने गरी रोक लगाएको छ ।

पछिल्लो अध्यावधिक: पुस ४, २०८० १२:५८