close

यस्तो छ १ करोड ८७ लाख मूल्य पर्ने ‘निसान एक्स-ट्रेल ईपावर’ गाडी

टेकपाना टेकपाना

पुस ६, २०८० १४:४

यस्तो छ १ करोड ८७ लाख मूल्य पर्ने ‘निसान एक्स-ट्रेल ईपावर’ गाडी

काठमाडौं । नेपाली बजारमा निसान ब्रान्डको एक्स-ट्रेल ईपावर (Nissan X-Trail e-Power) हाइब्रिड गाडी सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रम गर्दै नेपालका लागि निसान ब्रान्डको आधिकारिक वितरक पायोनियर मोटो कर्पले यो गाडी सार्वजनिक गरेको हो ।

यो हाइब्रिड गाडी निसानको चौंथो जेनेरेसनको एक्स-ट्रेल मोडेल हो । सन् २००१ मा एक्स-ट्रेलको उदयपछि विश्वभर ७० लाखभन्दा बढी एक्स-ट्रेल गाडी बिक्री भइसकेको कम्पनीको दाबी छ ।

नेपालमा एक करोड ८७ लाख रुपैयाँ पर्ने निसान एक्स-ट्रेलमा आकर्षक एक्सटेरियर र इन्टेरियर डिजाइन, एड्भान्स सेक्युरिटी फिचर रहेका छन् ।

"नेपालमा नयाँ एक्स-ट्रेल ईपावर, पेट्रोल इन्जिन ब्याकअप भएको इलेक्ट्रिक ड्राइभिङ हुने गाडी सार्वजनिक गर्न पाउँदा हामी खुसी छौं," नेपालमा निसानको आधिकारिक वितरक, पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीप सारडाले भने, "एक्स-ट्रेल ईपावर ठूलो, आरामदायी र बहुउपयोगी एसयूभी चाहने ग्राहकका लागि उत्कृष्ट छनोट हुनुका साथै वातावरणमैत्री, प्रभावकारी र चलाउन रमाइलो सवारी साधन पनि हो ।"

यस नयाँ संस्करणका लागि, निसानले एक्स-ट्रेलको अघिल्ला तीन जेनेरेसनहरूमा जस्तै बलियो संरचना, सहज प्रविधिसहितको एसयूभी डिजाइन, अल-ह्विल ड्राइभ क्षमतासहितको पावर ट्रेन लगायत सुविधा रहेको छ ।

यो गाडीले शून्यदेखि १०० किलोमिटरको गति ७.२ सेकेन्डमा पकड्ने कम्पनीको दाबी छ । गाडीमा सात जनाको सिट क्षमता रहेको छ । ८ इन्च टचस्क्रिन डिस्प्ले भएको एप्पल कारप्ले र एन्ड्रोइड अटोले प्रयोगकर्तालाई प्रिमियम अनुभव दिने कम्पनीले जनाएको छ ।

२७०५ एमएम ह्विलबेस भएको गाडीको लम्बाइ ४६८० एमएम, चौडाइ १८४० एमएम र उचाइ १७२५ एमएम छ । कम्पनीका अनुसार यसमा २२० एमएमको ग्राउन्ड क्लियरन्स छ ।

कम्पनीका अनुसार यसमा ३ किलोवाट आवरको ब्याट्री रहेको छ ।

पछिल्लो अध्यावधिक: पुस ७, २०८० ९:५४