close

मुगुको सोरु र बाजुराको विकट हिमाली गाउँपालिकामा टेलिकमको फोरजी सेवा सुरु

टेकपाना टेकपाना

साउन १, २०८३ १२:४२

मुगुको सोरु र बाजुराको विकट हिमाली गाउँपालिकामा टेलिकमको फोरजी सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले मुगु र बाजुरा जिल्लाका विगट गाउँहरूमा फोरजी सेवा विस्तार गरेको छ । मुगु जिल्लाको सोरु गाउँपालिका वडा नम्बर ६ सोरुकोट र बाजुरा जिल्लाको सर्वाधिक विकट हिमाली गाउँपालिका वडा नम्बर १ बिच्छ्याको नेटा र वडा नम्बर ५ कुवाडी क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो । 

बिच्छ्याको नेटामा जडान गरिएको फोरजी टावरबाट कोट, नेटा, बाम, बौडी, यौना र नातीखोला लगायतका गुम्बासम्म अर्थात बाजुराबाट रानिसैन जाने पदमार्गमा पनि कभरेज पुगेको छ । त्यसैगरी कुवाडी खोलाको संगममा रहेका गाउँहरु तथा हुम्ला ताँजाकोट २ जाने मार्गमा समेत यसको कभरेज पुगेको छ । 

फोरजी सेवा सञ्चालनमा आएसँगै स्थानीय बासिन्दाले उच्च गतिको मोबाइल इन्टरनेट, गुणस्तरीय भ्वाइस सेवा तथा एसएमएस सेवाको सहज लाभ लिन सक्ने टेलिकमले जनाएको छ । यसबाट स्थानीय आर्थिक तथा सामाजिक विकासमा सकारात्मक योगदान पुग्नुका साथै सो क्षेत्रका बासिन्दाका लागि सूचना, शिक्षा, स्वास्थ्य र सरकारी सेवामा पहुँच थप सहज हुने अपेक्षा गरिएको छ । 

फोरजी सेवा सुरु भएको अवसरमा आयोजित कार्यक्रममा सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही र उपाध्यक्ष केशरबहादुर शाहीले दुर्गम क्षेत्रमा आधुनिक दूरसञ्चार सेवा विस्तार हुनु स्थानीय नागरिकका लागि ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे । साथै, सेवाको दिगो सञ्चालन, संरक्षण तथा आवश्यकता अनुसार क्षमता विस्तारका लागि गाउँपालिकाले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका थिए ।

पछिल्लो अध्यावधिक: साउन १, २०८३ १२:४८