काठमाडौं । टिकटकजस्तै फेसबुकमा देखिने छोटा भिडिओ तपाईंलाई मन परेनन् ? त्यसोभए यो समस्या तपाईंको मात्र होइन । केही क्रियटरले रिल्सबाट पेज वा अकाउन्टमा राम्रै इंगेजमेन्ट पाइरहेको भए पनि अधिकांश प्रयोगकर्ता यो फिचरबाट दिक्क भएको गुनासो गरिरहेका हुन्छन् ।
विशेषगरी फिडमा केही सेकेन्डका लागि देखिने असान्दर्भिक रिल्सको छोटो क्लिपले हामीलाई लाजमर्दो स्थितिमा समेत पुर्याउँछ । यदि तपाईं यी र यस्तै समस्याबाट गुज्रिरहनु भएको छ र आफ्नो फिडमा सकेसम्म रिल्स नै नआओस् वा कम आओस् भन्ने चाहनु हुन्छ भने हामीले यस विषयमा चर्चा गरेका छौं:
फेसबुकमा रिल्स कसरी लुकाउने वा कम गर्ने ?
यसो त फेसबुकमा रिल्सको अप्सन डिसेबल गर्ने तरिका छैन । यसरी डिसेबल गर्न नमिल्ने यो फिचरबाट प्रयोगकर्ता दिक्क नहुन् भनेर फेसबुकले रिल्स कम देख्न सकिने सुविधा भने दिएको हुन्छ। यदि तपाईं रिल्स हेर्न चाहनुहुन्न भने हामीले त्यसका केही विकल्पबारे तल उल्लेख गरेका छौं:
१) फेसबुकको वेब भर्सन प्रयोग गर्नुहोस्
यदि तपाईं रिल्स रुचाउनु हुन्न र रिल्स आफ्नो फिडमा नदेखियोस् भन्ने चाहनु हुन्छ भने सबैभन्दा उपयुक्त तरिका भनेको फेसबुकको वेब भर्सन प्रयोग गर्नुहोस् । मोबाइल वा कम्प्युटरमा फेसबुकको वेब भर्सन प्रयोग गर्दा रिल्स अरू भन्दा कम देखिन्छन् ।
फेसबुकले एपमा प्रयोगकर्ताको सक्रियता बढाउन यो फिचर ल्याएकाले एपमा रिल्स बढी देखिन्छ । तर, वेब भर्सनमा तुलनात्मक रूपमा कम देखिन्छ ।
२) नेभिगेसन बारबाट भिडिओको आइकन हटाउनुहोस्
फेसबुकमा भएको रिल्सबाट उम्किने अर्को तरिका भनेको एपबाट भिडिओको आइकन नै हटाउनु हो । यसले गर्दा तपाईंले झुक्किएर भिडिओको आइकनमा क्लिक गर्नुहुन्न । जसले गर्दा तपाईंको डिभाइसमा अञ्जानमा रिल्स देखिंदैनन् ।
नेभिगेसनबाटबाट भिडिओको आइकन हटाउनका लागि भिडिओको आइकनमा केहीबेर ट्याप गरेर होल्ड गर्नुहोस् । अनि हाइड आइकनको अप्सनमा गएर उक्त आइकन हाइड गर्नुहोस् । अथवा सेटिङ एन्ड प्राइभेसीको अप्सनमा रहेको नेभिगेसन बारबाट पनि भिडिओको आइकन हटाउन सक्नुहुन्छ ।
४) पुरानो भर्सनको फेसबुक प्रयोग गर्नुहोस्
यदि तपाईं एन्ड्रोइडमा फेसबुक एप प्रयोग गर्नुहुन्छ भने तपाईंले फेसबुकको पुरानो भर्सन प्रयोग गर्न सक्नुहुन्छ । यो तरिकाले आईओएसमा भने काम गर्दैन किनभने एप्पलले अपडेट भइसकेको एपलाई डाउनग्रेड हुन दिंदैन ।
तपाईंले विभिन्न भरपर्दो एपीके साइट जस्तै एपीके मिररबाट फेसबुकको पुरानो भर्सन फेला पारी डाउनलोड गरेर इन्स्टल गर्न सक्नुहुन्छ । तर, त्यसभन्दा अगाडि तपाईंले फेसबुकको अहिलेको भर्सन अनइन्स्टल गर्नुपर्ने हुन्छ । तपाईंले फेसबुकको पुरानो भर्सन प्रयोग गर्नुभयो भने त्यसमा रिल्स देखिंदैन ।
४) आफूलाई मन नपरेको कन्टेन्ट हटाउनुहोस्
फेसबुक लगायत अन्य सामाजिक सञ्जालका प्लेटफर्मले तपाईं कस्तो कन्टेन्ट रुचाउनु हुन्छ भन्ने विश्लेषण गरी त्यही अनुसारका कन्टेन्ट उपलब्ध गराउँछन् । तर, सबै अवस्थामा तपाईंले चाहेकै कन्टेन्ट देखिन्छन् भन्ने हुँदैन् । यसले गर्दा कहिलेकाहीं फिडमा अनावश्यक कन्टेन्ट देखिन सक्छन् ।
यदि तपाईंलाई कुनै रिल्स असान्दर्भिक लाग्यो भने त्यस्ता कन्टेन्ट सुझाव नदिन अनुरोध गर्न सकिन्छ । त्यसका लागि फेसबुक एप खोल्नुहोस् । अनि रिल्स भिडिओमा जानुहोस् ।
रिल्स भिडिओको अन्तिमतिर दायाँपट्टि तीन ओटा डट देखिन्छन् । त्यसमा ट्याप गर्नुहोस् अनि माथि रहेको ‘शो लेस’ (Show Less) को अप्सन ट्याप गर्नुहोस् । यसरी तपाईं आफूलाई मन नपरेका रिल्स सुझावबाट हटाउन सक्नुहुन्छ ।
५) फेसबुकमा रिल्स अटोप्ले हुनबाट बन्द गर्नुहोस्
कहिलेकाहीं रिल्स अटोप्ले भइदिंदा पनि तपाईंलाई तपाईंलाई रिल्स मन परेको हुँदैन । अटोप्ले हुने रिल्स छोटो समयका लागि प्ले हुने भएकाले असान्दर्भिक नभए पनि असान्दर्भिक जस्तो देखिन्छ । त्यसैले मुख्य कुरा अटो प्ले डिसेबल गर्नुपर्ने हुन्छ । अटोप्ले डिसेबल गर्नका लागि तलको प्रक्रिया अपनाउनुहोस्:
सबैभन्दा पहिले फेसबुक एप खोलेर सेटिङमा जानुहोस् ।
अनि स्क्रोल गर्दै तल गएर ‘मिडिया’को अप्सनमा जानुहोस् ।
यति गरेपछि ‘नेभर अटोप्ले भिडिओज’ (Never Autoplay Videos) को अप्सन अन गर्नुहोस् ।
यसरी तपाईंले रिल्सलाई स्वतः प्ले हुनबाट रोक्न सक्नुहुन्छ ।
माथि उल्लेख गरिएका तरिका रिल्स कम गर्ने सबैभन्दा उपयुक्त तरिकाहरू हुन् । यदि तपाईं रिल्स कहिल्यै नदेखियोस् भन्ने चाहनुहुन्छ भने आफ्नै जोखिममा स्लिमसोसल र फ्रोस्ट जस्ता थर्ड पार्टी एप प्रयोग गर्न सक्नुहुन्छ । तर, यी एप फेसबुकको आधिकारिक एप नभएकाले जोखिम भने हुन्छ ।