close

गुगल क्रोमको पासवर्ड सेफ्टी टुल अब ब्याकग्राउन्डमा स्वतः चल्ने

टेकपाना टेकपाना

पुस ९, २०८० १४:१६

गुगल क्रोमको पासवर्ड सेफ्टी टुल अब ब्याकग्राउन्डमा स्वतः चल्ने

काठमाडौं । क्रोममा रहेको गुगलको सेफ्टी चेक फिचरले तपाईंका सेभ गरिएका पासवर्ड कतै लिक भएका त छैनन भन्ने लगायतका जानकारी जुटाउन चेकजाँच गर्छ । अब डेस्कटपमा रहेको क्रोमको ब्याकग्राउन्डमा उक्त फिचर स्वतः सञ्चालन हुने कम्पनीले एक ब्लगपोस्ट मार्फत जानकारी दिएको छ ।

यसरी नियमित रूपमा चेकजाँच हुँदा तपाईंले पासवर्ड सम्बन्धी चेतावनी यसअघिको भन्दा छिटो पाउनु हुनेछ तत्काल परिवर्तन गर्न सक्नु हुनेछ । सेफ्टी चेकले खराब किसिमका एक्सटेन्सन र विचार गर्नुपर्ने किसिमका साइट पर्मिसन (वेबसाइटले डिभाइसमा पहुँचका लागि लिने अनुमति) समेत हेर्नेछ र तपाईंले क्रोमको तीन थोप्ला भएको मेनुबाट सेफ्टी चेक अलर्टमा काम गर्न सक्नु हुनेछ ।

यस बाहेक सेफ्टी चेकले तपाईंले निश्चित समय भिजिट नगरेको वेबसाइटले लिएको पर्मिसन फिर्ता लिने काम समेत गर्ने गुगलले जनाएको छ । गुगलले क्रोमको ट्याब ग्रुपका लागि आगामी दिनमा आउने फिचरको समेत घोषणा गरेको छ ।

डेस्कटपमा समेत हुने यो फिचरको सहयोगमा क्रोमले तपाईंलाई ट्याब ग्रुप सेभ गर्ने सुविधा दिनेछ, जुन तपाईंले अन्य डिभाइसबाट समेत प्रयोग गर्न सक्नु हुनेछ । यसबाट तपाईंको घरमा रहेको कम्प्युटर र सँगै लिएर हिँडेको ल्यापटपबीच काम गर्न सहज हुनेछ ।

गुगलका अनुसार यो फिचर अबका केही साताभित्र जारी हुनेछ । नयाँ एआई मोडल जेम्नाईमा आधारित फिचर समेत नयाँ वर्षको सुरुतिर क्रोममा उपलब्ध गराउने जनाउ कम्पनीले दिएको छ ।

त्यसो त कम्पनीका सीईओ सुन्दर पिचाईले यस अघि नै जेम्नाई क्रोममा आउने, तर व्यवहारमा कस्तो हुनेछ भन्ने कुराका लागि आफू समेत जिज्ञासु रहेको बताएका थिए । 

 

पछिल्लो अध्यावधिक: पुस ९, २०८० १४:१६