close

आपत्-विपद्‌का लागि अब नयाँ टोल फ्रि नम्बर १२३४, कल गर्दा सम्बन्धित जिल्लामै राउटिङ हुने

टेकपाना टेकपाना

असार २८, २०८३ ८:२६

आपत्-विपद्‌का लागि अब नयाँ टोल फ्रि नम्बर १२३४, कल गर्दा सम्बन्धित जिल्लामै राउटिङ हुने

काठमाडौं । सरकारले विपद् व्यवस्थापन, सूचना आदानप्रदान र नागरिकका गुनासो सुनुवाइलाई थप प्रभावकारी बनाउन नयाँ टोल फ्रि नम्बर सार्वजनिक गरेको छ । गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्लाका लागि नयाँ टोल फ्रि नम्बर १२३४ सञ्चालनमा ल्याएको हो ।

यसअघि प्रयोगमा रहेको टोल फ्री नम्बर ११४९ लाई प्रतिस्थापन गर्दै मन्त्रालयले सम्झन सजिलो हुने गरी यो नम्बर कार्यान्वयनमा ल्याइएको जनाएको छ । यसअघि टोल फ्रि नम्बर ११४९ मा फोन गर्दा केन्द्रीय स्तर (काठमाडौं) बाट मात्र सम्बोधन हुने व्यवस्था थियो । यसले गर्दा आपत्कालीन अवस्थामा सम्बन्धित जिल्ला वा स्थानीय स्तरमा तत्काल समन्वय गर्न कठिनाइ हुने गरेको थियो ।

विपद् जस्तो अत्यन्त संवेदनशील र आपत्कालीन अवस्थामा नागरिकले सजिलै सम्झिन सक्ने र सोझै स्थानीय स्तरमै सम्पर्क स्थापित हुने प्रणालीको आवश्यकता महसुस गर्दै गृह मन्त्रालयले साविकको नम्बरलाई परिवर्तन गरी १२३४ बनाएको हो ।

अब यो नम्बरमा फोन गर्दा कल गर्ने व्यक्ति जुन जिल्लामा छ, त्यही जिल्लाको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (DEOC) मा फोन राउटिङ (Routing) हुनेछ । यससँगै अब नागरिकले आफ्नो क्षेत्रमा विपद् सम्बन्धी कुनै पनि घटना भएमा वा जानकारी दिनुपरेमा सोझै सम्बन्धित जिल्लाकै निकायमा सम्पर्क गर्न सक्नेछन् ।

गृह मन्त्रालयका अनुसार कल राउटिङका लागि काठमाडौं उपत्यकाका तीन जिल्लाहरू काठमाडौं, ललितपुर र भक्तपुरबाट टोल फ्रि नम्बर १२३४ मा फोन गर्दा सिंहदरबारस्थित राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र (NEOC) मा फोन जोडिनेछ ।

उपत्यका बाहेकका बाँकी ७४ जिल्लाका हकमा भने सम्बन्धित जिल्लाकै जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (DEOC) मा फोन ट्रान्सफर हुनेछ र सोही केन्द्रबाटै नागरिकका समस्याको सम्बोधन गरिनेछ ।

यो सेवा पूर्ण रूपमा निःशुल्क छ । अर्थात् नागरिकले १२३४ मा फोन गर्दा कुनै पनि शुल्क लाग्ने छैन । सरकारको शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीको बुँदा नम्बर २ मा उल्लिखित 'डेलिभरी-बेस्ड गभर्नेन्स' (नतिजामा आधारित शासकीय प्रबन्ध) लागु गर्ने निर्णय बमोजिम यो सेवा सुरु गरिएको हो । यसका लागि ७७ वटै जिल्लाका आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूमा २४ सै घण्टा विपद् कल सेन्टर सञ्चालन रहने गृह मन्त्रालयका प्रवक्ता एवं सह-सचिव आनन्द काफ्लेले जनाएका छन् ।

नागरिकले विपद् सम्बन्धी विभिन्न सूचना दिन, समस्या वा गुनासो राख्न तथा सुझाव दिनका लागि यो नम्बरमा तुरुन्त सम्पर्क गर्न सक्नेछन् । विशेष गरी बाढी, पहिरो, भूकम्प, हावाहुरी, डढेलो, चट्याङ, अविरल वर्षा, हिमपहिरो तथा हिमताल विस्फोट, खडेरी र शीतलहर जस्ता अवस्था एवं विपद्‌मा यो नम्बर उपयोगी हुनेछ ।

गृह मन्त्रालयले विपद्‌सम्बन्धी नेपाल सरकारबाट जारी हुने एड्भाइजरी (सचेतना सन्देश) को अनिवार्य पालना गर्न, सतर्क रहन र सुरक्षित रहन समेत सबैमा आग्रह गरेको छ । साथै, यो जीवनरक्षाका लागि उपयोगी टोल फ्री नम्बर १२३४ का बारेमा आफ्नो समुदायमा समेत व्यापक जानकारी साझा गर्न पनि मन्त्रालयले अपिल गरेको छ ।

पछिल्लो अध्यावधिक: असार २८, २०८३ ८:२६