close

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा

टेकपाना टेकपाना

पुस २४, २०८० १२:३२

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको दबाब खेप्न नसकेपछि उनले मङ्गलवार राजीनामा दिएका हुन् । 

मङ्गलवार सञ्चारमन्त्री रेखा शर्मा समक्ष उनले राजीनामा बुझाएको प्राधिकरण श्रोतले जानकारी दिएको छ । खनालले भोलि बुधवारदेखि लागु हुने गरी पदबाट राजीनामा दिएको बताइएको छ । 

तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारको ६ साउन २०७६ को मन्त्रिपरिषद् बैठकले उनलाई पाँच वर्षका लागि प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । आगामी ६ साउनसम्मको कार्यकाल बाँकी रहेको भए पनि टेरामोक्स, एमडीएमएस, जस्ता परियोजनामा विवादित भएको कारण देखाउँदै सरकारले उनलाई राजीनामा दिन बाध्य पारेको बताइएको छ ।

स्रोतका अनुसार मङ्गलवार बिहानै प्राधिकरणको कार्यालय पुगेका उनले केही कर्मचारीहरूलाई आफूले राजीनामा दिएको जानकारी गराएर बाहिरिएका थिए । स्मरणीय कुरा के छ भने यतिखेर प्राधिकरण अन्तर्गतको दूरसञ्चार ट्राफिक अनुगमन तथा ठगी नियन्त्रण प्रणाली (टेरामोक्स), मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) जस्ता परियोजना अख्तियारबाट छानबिनका क्रममा छन् । 

अर्कोतर्फ एनसेलको विवादित शेयर खरिद बिक्रीको विषयलाई लिएर संसदीय समितिका साथै सरकारले गठन गरेको छानबिन समितिले गम्भीरताका साथ नियालिरहेका छन् । यति मात्र नभएर सीजी टेलिकमको लाइसेन्स खारेजी हुनुका साथै स्मार्ट टेलिकमको व्यवस्थापन अल्झिरहेको छ । 

​यसैबीच प्राधिकरण अध्यक्षले राजीनामा दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । अमुक कम्पनीलाई पूर्वाधार सेवा प्रदायकको लाइसेन्स दिनुपर्ने प्रधानमन्त्री कार्यालयको दबाब समेत खनालमाथि थियो । 

राजीनामा नदिए बर्खास्त गर्ने चेतावनी खेपिरहेका उनले मन्त्री तथा प्रधानमन्त्री अनुकूल व्यक्तिलाई प्राधिकरणको नेतृत्वमा ल्याउने बाटो सहज बनाइदिएका हुन् । पछिल्ला केही दिन यता राजीनामा वा बर्खास्तिको विषयले सञ्चार मन्त्रालय र प्राधिकरण गर्माएको थियो । 

अध्यक्ष हुनु अघि खनाल प्राधिकरणकै वरिष्ठ निर्देशकको रूपमा कार्यरत रहेका थिए । तत्कालीन अध्यक्ष दिगम्बर झाले १५ पुस २०७५ राजीनामा दिएपछि २४ माघ २०७५ देखि खनाललाई सरकारले प्राधिकरणमा कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको थियो । 

पछिल्लो अध्यावधिक: पुस २४, २०८० १३:३