close

१७ वर्षअघि आजकै दिन सार्वजनिक भएको थियो पहिलो आईफोन

टेकपाना टेकपाना

पुस २४, २०८० १३:३

१७ वर्षअघि आजकै दिन सार्वजनिक भएको थियो पहिलो आईफोन

काठमाडौं । आजभन्दा ठीक १७ वर्षअघि ९ जनवरी २००७ मा एप्पलले आफ्नो पहिलो आईफोन सार्वजनिक गरेको थियो । त्यसबेला स्मार्टफोनको बजारमा ब्ल्याकबेरीकाे वर्चस्व थियो ।

ब्ल्याकबेरीलाई प्रतिस्पर्धा गर्ने अर्को कुनै कम्पनी जन्मिएला भन्ने मानि‍सहरूले कल्पना पनि गरेका थिएनन् । साढे आठ करोडभन्दा बढी ग्राहक भएको उक्त कम्पनीको फोन बोक्ने सोख त्यसबेला प्रायः सबैको थियो । ब्ल्याकबेरीको फोन बोक्नुलाई सान अथवा उच्च दर्जाको व्यक्तिका रूपमा हेरिन्थ्यो । सरकारी अधिकारी, धनाढ्य, व्यापारी, ठूला कम्पनी यी सबैले त्यसबेला ब्याकबेरीकै स्मार्टफोन प्रयोग गर्थे ।

९ जनवरी २००७ मा स्टिभ जब्सले जब स्टेजमा चढेर आईफोन सार्वजनिक गरे, तब स्मार्टफोनको परिभाषा नै फरक भइदियो । त्यसअघि सन् २००१ मा एप्पलले बजारमा आईपड (गीत सङ्गीत सुन्न मिल्ने डिभाइस) ल्याएको थियो । त्यस डिभाइसले बजारमा राम्रो प्रभाव पारेपछि सन् २००३ मा कम्पनीले आफ्नै आईट्युन म्युजिक स्टोर प्लेटफर्म सुरु गर्‍यो । त्यसले पनि आईपडलाई क्रान्तिकारी प्रडक्टका रूपमा स्थापित गर्न सहयोग गर्‍यो ।

९ जनवरी २००७ मा स्टिभ जब्स नयाँ प्रडक्ट सार्वजनिक गर्न स्टेजमा चढे । र, सन् १९८४ मा सार्वजनिक भएको म्याकले कम्प्युटर उद्योग र २००१ मा सार्वजनिक भएको आईपडले सङ्गीत उद्योगमा क्रान्तिकारी परिवर्तन ल्याएको कुरा उल्लेख गरे । र, अब सार्वजनिक हुने डिभाइसले स्मार्टफोनको संसार परिवर्तन गर्ने सङ्केत दिए । 

“आज हामी तीन ओटा क्रान्तिकारी प्रडक्ट सार्वजनिक गर्दैछौं,” स्टिभ जब्सले १७ वर्षअगाडि आजकै दिन भनेका थिए, “पहिलो प्रडक्ट हो, चौडा स्क्रिन र टच कन्ट्रोल भएको आईपड । दोस्रो हो, क्रान्तिकारी मोबाइल फोन र तेस्रो प्रडक्ट हो, ब्रेकथु इन्टरनेट कम्युनिकेसन डिभाइस ।” उनको यो स्पिचपछि केहीबेर लगातार ताली बजिरह्यो । 

सबैले यी तीनै ओटा डिभाइसले बजार कब्जा गर्ने अनुमान लगाइसकेका थिए । “यी तीन ओटा कुरा आईपड, फोन र इन्टरनेट कम्युनिकेटर,” उनले लगातार यही वाक्य तीन पटक दोहोर्‍याए र भने, “यी तीन ओटा छुट्टाछेुटै डिभाइस होइनन्, यी विशेषता भएको अब एउटै डिभाइस हुनेछ । र, त्यसलाई हामी आईफोन भन्दै छौं ।” 

उक्त फोन सार्वजनिक भएको छ महिनापछि अर्थात् २९ जुनबाट बजारमा बिक्री सुरु भएको थियो । 

यस्तो थियो पहिलो आईफोन

३.५ इन्च डिस्प्ले भएको एप्पलको पहिलो आईफोनमा सामसङको एआरएम प्रोसेसर थियो । २ मेगापिक्सेलको मुख्य क्यामेरा भएको उक्त फोनमा सेल्फी क्यामेरा भने थिएन । यसमा एम्बियन्ट लाइट सेन्सर, मल्टिटच फिचर, एक्सेलेरोमिटर र प्रोक्सिमिटी सेन्सर समावेश थियो ।

१२८ एमबी र्‍याम भएको सो डिभाइस ४, ८ र १६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध थियो । त्यस्तै यसमा १४०० एमएएच क्षमताको ब्याट्री राखिएको थियो, जसको मूल्य कम्पनीले ४९९ अमेरिकी डलर कायम गरिएको थियो ।

 

पछिल्लो अध्यावधिक: पुस २४, २०८० १३:३