close

अनलाइन बुकिङ वेबसाइट ट्रिप एड्भाइजरको उत्कृष्ट प्राकृतिक गन्तव्यमा काठमाडौं पहिलो स्थानमा

टेकपाना टेकपाना

पुस २८, २०८० ९:११

अनलाइन बुकिङ वेबसाइट ट्रिप एड्भाइजरको उत्कृष्ट प्राकृतिक गन्तव्यमा काठमाडौं पहिलो स्थानमा

काठमाडौं । अनलाइन बुकिङ वेबसाइट ट्रिप एड्भाइजरले सार्वजनिक गरेको ‘बेस्ट अफ दि बेस्ट नेचर डेस्टिनेसन’मा काठमाडौं पहिलो स्थानमा परेको छ । एक वर्षको अवधिमा उक्त प्लेटफर्ममार्फत यात्रुले दिएको रिभ्युका आधारमा ट्रिप एड्भाइजरले काठमाडौंलाई उत्कृष्ट ‘प्रकृति गन्तव्य’ घोषणा गरेको हो । 

ट्रिप एड्भाइजरले ८० लाख सूचीमध्ये एक प्रतिशतभन्दा कम ठाउँलाई उत्कृष्ट गन्तव्य घोषणा गर्ने उल्लेख गरेको छ । 

ट्रिप एड्भाइजरले काठमाडौंलाई ऐतिहासिक स्थल, पुरातन मन्दिर, तीर्थस्थल र मनमोहक गाउँले भरिएको उपत्यकाका रूपमा परिभाषित गरेको छ । पोस्टमा ट्रिप एड्भाइजरले नेपालको राजधानी काठमाडौंलाई दरबार स्क्वायरका स्मारकहरूबीच स्थानीयहरू र त्यहाँ पाइने जनावरसँग घुलमिल हुन सकिने ठाउँका रूपमा चर्चा गरेको छ । त्यस्तै काठमाडौंले भीडभाड ठमेलमा यात्रा गर्नेदेखि हिमाली पदयात्रीको अवसर जुटाउने ट्रिप एड्भाइजरको भनाइ छ । 

त्यस्तै स्थानीय कालिगढद्वारा तयार पारिएका उत्कृष्ट कामका पसलहरू अन्वेषण गर्न सकिने ठाउँका रूपमा ट्रिप एड्भाइजरले काठमाडौंलाई चिनाएको छ । 

प्रकृति गन्तव्यका रूपमा ट्रिप एड्भाइजरकाे सूचीमा दोस्रोमा भियतनामको ‘हा लोङ बे’ र तेस्रोमा इजिप्टको सहर हर्गाडा छनौट भएका छन् । त्यस्तै चौंथो स्थानमा अफ्रिकाको सहर मौरिसस र पाँचौंमा इन्डोनेसियाको टापु लमबोक परेका छन् । 

ट्रिप एड्भाइजर घुम्न सकिने ठाउँहरूको जानकारी दिने र होटेल तथा रिसोर्टको अनलाइन बुकिङ लिने प्लेटफर्म हो । प्रयोगकर्ताले विभिन्न ठाउँहरू बुकिङ गर्नका लागि प्रयोग गर्ने प्लेटफर्ममध्ये ट्रिप एड्भाइजर पनि एक हो ।

पछिल्लो अध्यावधिक: माघ २, २०८० १३:२८