close

अब हाम्रो पात्रो एपबाटै सवारी साधनको जीपीएस ट्रयाकिङ गर्न सकिने

टेकपाना टेकपाना

पुस २९, २०८० १६:२५

अब हाम्रो पात्रो एपबाटै सवारी साधनको जीपीएस ट्रयाकिङ गर्न सकिने

काठमाडौं । अब नेपालकै सर्वाधिक लोकप्रिय मोबाइल एप हाम्रो पात्रो एपबाट नै सवारी साधनको जीपीएस ट्रयाकिङ गर्न सकिने भएको छ । हाम्रो पात्रोले भेहिकल ट्रयाकिङ सफ्टवेयर तयार पारी यस्तो सुविधा ल्याएको हो ।

सार्वजनिक कार्यक्रम मार्फत यो सेवाको औपचारिक सुरुवात भने गरिएको छैन । यद्यपि हाम्रो पात्रोले डियरवाक स्कुल तथा क्याम्पसबाट यसको सुरुवात भइसकेको कम्पनीले जनाएको छ । "हामीले पहिलो चरणमा डियरवाकका १५ ओटा बसमा जीपीएस ट्रयाकिङ सिस्टम जडान गरिसकेका छौं," हाम्रो पात्रो इंककी निर्देशक सुदिना गौतमले भनिन् ।

"यसपछि अब प्रभु बैंकका सवारी साधनमा यो सिस्टम राख्दैछौं ।​ खासगरी अहिले यो सुविधामा स्कुल, कलेज, विभिन्न सङ्घ संस्थाका सवारी साधनलाई लक्षित गरिरहेका छौं ।"

यसको सहयोगमा स्कुल कलेजका अभिभावक तथा विद्यार्थीले बस कहाँ आइपुग्यो भन्ने कुरा हाम्रो पात्रोको एपमै हेर्न सक्नेछन् । कम्पनीका अनुसार हाम्रो पात्रो एपबाट नै प्रयोगकर्ताले जीपीएस ट्रयाकिङ सुविधा प्रयोग गर्न सक्छन् । यो सुविधा व्यक्तिगत ग्राहकले उपयोग गर्न पाउँछन् कि पाउँदैनन् भन्ने विषय भने कम्पनीले खुलाएको छैन ।  

कम्पनीले जीपीएस ट्रयाकिङ प्रणाली जडान गर्न लाग्ने शुल्कको विषयमा भने कुनै जानकारी दिएको छैन । यद्यपि इच्छुक स्कुल-कलेज, सङ्घ संस्थाले यसका लागि हाम्रो पात्रोको कार्यालयमा सम्पर्क राख्न सक्ने गौतमको भनाई छ ।

केही दिन अघि मात्र हाम्रो पात्रोका अध्यक्ष रुद्र पाण्डेले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै त्रिभुवन भन्सार कार्यालयमा हाम्रो पात्रोका जीपीएस ट्रयाकिङ डिभाइस रोकिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

"हाम्रो पात्रोको भेहिकल ट्रयाकिङ सफ्टवेयर छ । उक्त सफ्टवेयर सिस्टमको लागि गाडीमा जीपीएस ट्रयाकिङ डिभाइस राख्नु पर्छ," उनले भनेका छन्, "हामीले चीनबाट आयात गरेको जीपीएस ट्रयाकिङ डिभाइस एयरपोर्ट भन्सारले रोकेर राखेको तीन हप्ता भयो ।"

आफूहरूलाई यी डिभाइसका लागि नेपाल दूरसञ्चार प्राधिकरणको पत्र आवश्यक पर्ने भनिएको तर प्राधिकरणले भने अनावश्यक रूपमा झुलाइरहेको पाण्डेको भनाई छ ।

"सेवाको भावना नेपालका कुनै कर्मचारीसँग छैन । जाबो जीपीएसको चिप त धनी मुलुकमा लुगा र जुत्तामा समेत राख्न थालिसके," उनले अगाडि लेखेका छन्, "हामी कहाँ छौं ? नियम पालना गरेर जीपीएस ट्रयाकिङ डिभाइस ल्याउँदा पनि देश नै बेचेर खान लागे जस्तो गर्छन् हाकिम साबहरू ।"

भन्सारका कर्मचारीसँग जीपीएस ट्रयाकिङ डिभाइस आयात सम्बन्धी निर्णय गर्न सक्ने अधिकार समेत नभएको उल्लेख गर्दै पाण्डेले यस्तो तालले देश नै नबन्ने ठोकुवा समेत गरेका छन् ।

उनी भन्छन्, "केही बनाउन विदेशबाट आधारभूत पार्टपुर्ज मगाउनु पर्ने हुन्छ । तर नेपालमा यस्तो झन्झट छ । हरेक सामान ल्याउन रुवाबासी गर्नुपर्छ । अनि हरेस खाएर हरेक वर्ष १० लाख युवा विदेशिन्छन् ।"

पछिल्लो अध्यावधिक: पुस २९, २०८० १८:१३